Tuesday, June 26, 2018

अँध्यारो विरुद्ध उज्यालो : सुनेजानेका कुरा - विश्वराज ढुङ्गाना

संक्षिप्त ऐतिहासिक आलेख


हरेक मानिसले आफ्नै हृदयलाई स्वच्छ भावले नियाल्ने प्रयास ग¥यो भने उसले आफूबाट भएगरेका अपराध प्रस्ट थाहा पाउँछ । समाजमा धेरजति अपराध धन र यौनसँग गाँसिएर नै हुने गर्छन् । हामीले पुरानो समाजको कथा खोतल्यौं भने यी दुई कुराले समाजमा व्यापक द्वन्द्व पैदा गरिरहेको हुन्छ । हाम्रा पुर्खाको कथा थाहा पाउन खोजियो भने अनेक लोमहर्षक कहानीहरू जानकारी पाइन्छ । सुन्दा पनि बिरक्त लाग्ने ती घटनाहरू भोग्नेले भोगेका हुन्छन् । यही सन्दर्भमा अहिलेको प्रचलित भाषामा शोषकसामन्त र शोषितपीडितका कथा, पुरानो शब्द सापटी लिँदा ठालु र गरीबहरूका कथा, पहिलेको समाजका यथार्थ हुन् । ती कुरूप गाथा यतिसम्म पीडादायी छन् कि अनेक मानिसहरू भएको जेथा गाउँसमाजका ठालु वा सामन्तलाई बाटाखर्चमा बुझाएर थोरै झिटी र मालजाल अनि आफ्ना लालाबाला लिएर अनिश्चित गन्तव्यतिर लाग्न बाध्य हुन्थे । अहिले सिक्किम, दार्जलिङ्ग, भुटान, आसाम, मेघालय, नागालैन्ड, मणिपुर आदि पूर्वी भारतीय भूमिमा छरिएका नेपाली तिनै पीडित पुस्ताका सन्तति हुन् । हाम्रो समाजको पहिलेको कथाको सार यस्तो नै थियो । 

यसको मतलब त्यो समाजमा असल मान्छे थिएनन् भन्ने हैन । कोही विवेकशील र न्यायी पनि थिए । कोही असाध्य धर्मभीरु थिए । सदाचारमा रहन्थे । रुद्री, पुराण लगाउँथे । राजस्व, देवस्व र ब्राह्मणस्व खानु हुँदैन र खायो भने दोष लाग्छ भन्थे । बाटाघाटामा वरपीपल रोप्थे । पाटी, पौवा र धर्मशाला बनाउँथे । मन्दिर बनाएर पूजा चलाउनका लागि गुठी जग्गा दिन्थे । पशुपतिको दर्शन गर्न जान पाउँदा ठूलै काम पार लगाएको ठान्थे । काशी, गया, वृन्दावन, हरिद्वार, ऋषिकेस, बद्रीनाथ, केदारनाथ, गङ्गोत्तरी, यमुनोत्तरी आदि तीर्थ जान्थे । 

जनताको आयस्रोत सीमित थियो । धनीहरू अन्न बेचेर पैसा हात पार्थे । सबै खालका घरेलु पशुहरू एकसाथ पालिन्थ्यो । उत्तरी भेगमा व्यावशायिक रूपले भेडा र चौंरी भने ठूलो संख्यामा पाल्ने गरिन्थ्यो । राडी, पाखीको बजार मनग्गे थियो । मासु खाइने पशुहरू र गाईभैंसीको घिउ पनि बिक्री हुने उत्पादनमा गन्ती हुन्थ्यो । 

कहिलेकाहीँ भीषण अनिकाल पथ्र्यो । अन्न बेसाउन टाढाटाढा पनि जानु पर्ने हुन्थ्यो । बजार थोरै थिए । ती पनि खुँज र मधेशमा मात्र थिए । सामान्य लुगा, मसला, नून र मट्टीतेल ती बजारबाट किनेर मानिसहरू काम चलाउँथे । घरेलु खाँडी (खादी ?) कपडाका लुगा नै मानिसहरू लगाउँथे । महिलाहरू खास जातका बोटबिरुवाका पात माडेर रस निकाली खाँडीलाई अलि ध्वाँसे बनाएर त्यसैको सारी चोलो लगाउँथे । रिट्ठाका बोक्रा माडेर लुगा धुने चलन थियो । अलि सेतो खरानी पानी भएको भाँडामा लुगा हाली उमालेर धुँदा लुगा सफा पनि हुन्थे र नदेखिने कीरा पनि मर्थे । तरीका वैज्ञानिक नै थियो ।

सरकारका प्रशासनिक र सैनिक सेवामा खास जातिका मानिसको बाहुल्य हुन्थ्यो । जङ्गबहाहुरको उदयपूर्व भाइभारदारहरूमा थापा, पाँडे, बस्नेत, ठकुरी, कार्की, मगर र गुरुङ नै बढी हुन्थे । जङ्गबहादुरको शासन शुरू भएपछि सैनिक तहका जर्नेल पद राणाका लागि मात्र सुरक्षित भयो । अरू श्री ३ का विश्वासी मान्छेहरूले ठूलोमा कर्णेलसम्मको पद पाउँथे । उच्च प्रशासनिक तहमा पनि सैनिकलाई नै खटाइन्थ्यो । जिल्लामा सबैभन्दा ठूलो पद बडाहाकिम हुन्थ्यो । त्यो पद कतैकतै मात्र सामान्य नागरिकले पाउँथे । सुब्बा, खर्दार, मुखिया, बहिदार पदमा साक्षर भई स्वाध्यायन गरेका ब्राह्मणले बढी पाउँथे भने क्षत्री पनि ती पदका हकदार हुन्थे । बिनापहँुच र बिनाचाकडी कोही जागिरे हुँदैनथ्यो । हरेक वर्ष सैनिक र कर्मचारीको मूल्याङ्कन गरेर राख्ने वा हटाउने गरिन्थ्यो । त्यसलाई पँजनी भनिन्थ्यो । साना पदमा पँजनी कम हुन्थ्यो । पँजनी गर्ने आधार कर्मचारीको कामको मूल्याङ्कन नै हुन्थ्यो । चाकडी (बफादारी) पनि प्रमुख आधार मानिन्थ्यो । कसैलाई खास अवधिपछि खोसुवा नगरिएको अवस्थामा थमौतीको सूचना दिइन्थ्यो र त्यस्तो सूचना नपाउनेले आफू खोसिएको जान्नुपथ्र्यो । अलिपछि खोसिएकालाई घरमा खोसुवा पुर्जी पठाउन थालियोे । 

राणाकालमा श्री ३ लगायत राणापरिवारका उच्च पदासीन व्यक्तिहरूसँग पहुँच कायम राख्न चाकडी नै एकमात्र उपाय थियो । अलिकति पढेका मानिसहरू जागिरे हुन र जागिर भएपछि पनि जागिर जोगाउन चाकडीमा खुब धाउने गर्थे । राणाहरूलाई खुशी पार्न नसक्ने मानिसको समाजमा प्रतिष्ठा बढ्दैनथ्यो । त्यसैले चाकडी गर्ने मानिसलाई पनि हेय दृष्टिले हेरिँदैनथ्यो, बरु प्रतिष्ठाकै रूपमा लिइन्थ्यो । 

जनजातिहरूले पढ्ने–लेख्ने अवसर ज्यादै कम पाउँथे । त्यसैले निजामती जागिरमा उनीहरूको पहुँच नगण्य हुन्थ्यो । सीपाहीमा भने उनीहरूले नै प्राथमिकता पाउँथे । नेवार र तामाङलाई भने सेनाका सीपाहीमा पनि भर्ना लिइँदैनथ्यो । ब्राह्मणलाई पनि सेनामा स्वीकारिँदैनथ्यो । शूद्रहरूको त कुनै सम्भावना नै थिएन । 

नेपाल संसारमै पिछडिएको देश भने अवश्य थिएन । नेपालीहरूको व्यापार भोटसँग हुन्थ्यो । यताबाट खाद्यान्न र लुगा उता लगिन्थ्यो । उताबाट सुन, नुन, जडीबुटी, चौंरी, घोडा, कुकुर आदि ल्याइन्थ्यो । नेपाली सिक्का ल्हासामा पनि चल्थ्यो । काजी भीम मल्लले भोटसँग युद्ध गरी सम्बन्ध व्यवस्थित गरे । नेपाली व्यापारीहरूको सुरक्षा भयो । पछि बहादुर शाहको नायबीमा शासन चलेको समयमा नेपालसँग निहुँ खोज्न भोटेहरूले चीनको पनि सहयोग लिएर आक्रमण ग¥यो । रसुवाको वेत्रावती नदीको किनारसम्म आएको संयुक्त सेनालाई नेपाली फौजले बहादुरी र चतु¥याइँ दुवै प्रयोग गरेर सन्धि गर्न विवश तुल्यायो । पछि जङ्गबहादुरका पालामा पनि भोटसँग विवाद बढेर ठूलै युद्ध भयो । भोट फेरि पनि सन्धि गर्न बाध्य भयो । पछि चन्द्रशमशेरको मृत्यु निकट भएको अवस्थामा भोटेहरूले पुनः निहुँ खोजे । मुलुकको रक्षाका लागि ढुकुटीबाट तीन करोड रुपियाँ झिकेर खर्च युद्धका लागि खर्च गर्न तयारी थालेपछि भोटेहरू सन्धि गर्न तत्पर भए । 

भोटमा गएर उहीँ बस्ने नेवार वा अरू जो भए पनि श्रीमती लिएर जान पाउँदैनथे । त्यहाँ विवाह गर्न केटी पाउन गाह्रो थियो । साथी, मीत वा साझेदार बनेर उसैकी श्रीमतीसँग बस्न भने पाउँथे । त्यस्तो सम्बन्धबाट जन्मेका सन्तान ’खचडा’ कहिन्थे । छोरी भए भोटकै हुन्थी, छोरो भयो भने नेपाली प्रजामा खचडामा दरिन्थ्यो । नेपालीले भोटमा बेपार गर्दा भन्सार महसुल तिर्नु पर्दैनथ्यो । मुद्दामामिला केही परे ल्हासामा नेपाल सरकारबाट नियुक्त नेपाली वकिलले हेर्थे, दण्ड जरिवाना उनैले लिन्थे । भोटले प्रत्येक व्यक्तिबाट ग्यानपन्जी रकम लिन्थ्यो । नेपाली व्यापारी र खचडाहरूले त्यस्तो रकम पनि तिर्नु पर्दैनथ्यो ।

नेपालमा दुइटा अमानवीय सामाजिक विकृति सतीप्रथा र दासप्रथा प्रचलनमा थिए । सतीप्रथा सुन्दैमा पनि विष्मयकारी छ । ब्राह्मण र क्षेत्री जातको पुरुष मर्दा उसका श्रीमतीहरू करकापमा परेर नै लोग्नेको चितामा ज्यूँदै जलाइन्थे । पछि जङ्गबहादुर राणाले सरकारको अनुमति नलिई सती जान नपाइने व्यवस्था गरे । सरकारको अनुमति पर्खनु सहज हुँदैनथ्यो । फेरि, उनको छिटै निधन भइहालेकाले त्यो कानून प्रभावकारी रूपले लागू हुन सकेन । 

सती प्रथासँग मिल्दोजुल्दो अर्को प्रथा पनि भारतका राजपूत नारीहरूमा प्रचलित थियो । त्यसलाई जौहर भनिन्थ्यो । पुरानो समयमा भारतमा राजपूत स्त्रीहरूले शत्रु पक्षद्वारा युद्धमा आफ्नो संरक्षक राजाको हार हुने अवस्थामा शत्रुद्वारा हरण भई अस्मिता गुमाउनुुपूर्व नै देह विसर्जन गर्थे ।

पत्नी बनेर कसैको घर आउने तेह्रचौध वर्षकी ब्राह्मण वा क्षत्रिय नारीको कष्टकर जीवनको कथा भनिनसक्नुको हुन्थ्यो । राति अबेरसम्म चुलोचौकोमा अल्मलिनु, जाँतो वा ढिकीको काममा संलग्न हुनु, सुुतेका सासू आदिको गोडामा चिल्लो लगाउनु अनिवार्य काम मानिन्थे । अन्तमा पतिका साथ सुत्न ओछ्यानमा जाँदा पुनः गोडामा चिल्लो लगाउँदासम्म थाकेर लत्र्यान्न परेको ज्यानले यौवनको माग पूरा गर्ने पतिको दुर्दान्त चाहनालाई साथ दिन होस् वा आफ्नो यौनतुष्टिका खातिर होस्, सहभागिता जनाउनु अपरिहार्य क्रियामा दरिन्थ्यो । अझ सन्तानकी आमाले बच्चाबच्चीको रुडोपिडो खप्नु पथ्र्यो । कल्पना गरौं, रात कति बाँकी रहन्थ्यो होला निद्रादेवीको शरणमा पुग्दा ? बिहानीपख कुखुरा बास्न नपाई सासूको कौलासो शुरू हुन्थ्यो । हिजो आफू बुहारी हुँदा आफूले भोगेको बुहार्तनको अनुभूति सँगालेकी सासू बुहारीप्रति अपवाद ठानिएका बाहेक सबै लगभग शून्य सद्भाव राख्थे । कठै, नेपालका पुरानो समयका ब्राह्मण–क्षत्री समाजका छोरीहरू ! 

नेपाली समाजमा चलेको अर्को कुप्रथा हो, दासप्रथा । यो प्रथा अनुसार समाजमा हुनेखाने मानिसहरू काममा दल्न दासहरू पाल्थे । ती लोग्नेमान्छे दासहरूलाई पारे वा कमारो भनिन्थ्यो भने स्त्रीहरूलाई कमारी भनिन्थ्यो । तिनीहरू स्वतन्त्र जीवन बाँच्न पाउँदैनथे । घरमालिकले मोलमोलाइ गरेर तिनीहरूलाई खसीबाख्रा झैं किन्न र बेच्न पनि पाउँथे हुन्थ्यो । कमारी स्त्री वा तिनका छोरीहरूको घरमालिक वा उसका सन्तानबाट यौन शोषण हुनु त सामान्य कुरा नै मानिन्थ्यो । चन्द्रशमशेरले १९८१ वैशाख २४ गते सार्वजनिक घोषणा गरेर यो प्रथालाई बन्द गरे । 
यी नेपाली समाजमा प्रचलित दुवै कुप्रथाहरूलाई सार्वजनिक घोषणा गरी बन्द गर्ने काम श्री ३ चन्द्र शमशेरले गरेका हुनाले उनी अनुदारवादी शासक हुँदाहुँदै पनि नेपालका महान प्रधानमन्त्रीको कोटीमा पर्छन् । 

१९२० सालमा भोजपुरको नेपालेडाँडामा जन्मेकी योगमाया बालविधवा थिइन् । पछि तिनी आफन्तसँग आसाम गएर सचेत मानिसहरूसँगको सम्पर्कमा बस्न पाइन् । त्यहाँ तिनले योगको अभ्यास गर्न पनि सिकिन् । त्यसपछि तिनले घर फर्केर आई नेपाली समाजका अभिशप्त नारीहरूमा चेतना भर्न थालिन् । सतीप्रथा, दासप्रथा, बालविवाह, अनमेल विवाह बन्द गर्न र विधवाले पनि पुनर्विवाह गर्न पाउनु पर्छ भनी माग पनि राखिन् । पटकपटक नेपालका तत्कालीन श्री ३ हरूलाई बिन्तीपत्र मार्फत सामाजिक अवस्थामा सुधार ल्याउन गुहार मागिन् । सरकारबाट झन् निरुत्साहित हुनुपरेकाले तिनले अन्यायीको राजमा बाँच्नु ठीक छैन भनी ६७ जना अनुयायीसहित १९९८ साल असार २२ गते अरूण नदीको मजुवाबेंसीमा किनारबाट नदीमा हामफालेर जलसमाधि लिइन् । यसरी तिनले नारी मुक्ति अभियानको लागि प्रतीकात्मक विद्रोह गरिन् । 


१८७१÷७२ सालमा अंग्रेजसँग नेपालीले बहादुरीसाथ युद्ध लडेका थिए । अंग्रेज नेपालीको वीरताबाट प्रभावित भएर भारतमा आफ्नो शासन टिकाउन नेपाली युवालाई सेनामा भर्ना गर्न चाहन्थ्यो । आफ्ना अनुकूलका ठानेर प्रधानमन्त्री जङ्गबहादुर राणासँग नेपालीलाई सेनामा भर्ना अनुमति माग्यो । तर उनी सहमति दिन तयार भएनन् । उनले भने— “हाम्रा मान्छे तपाईंहरूसँग युद्धमा हार्नु परेकाले खुशी छैनन् । तपाईंहरूलाई वापवैरी ठान्छन्, केही जानी तपाईंका अफिसरलाई हाम्रा सीपाहीले मारिदिए भने त्यसको जवाफदेही मेरो हुन्छ । त्यसकारण गोर्खा रेजिमेन्टमा नेपाली रिक्रुट भर्ना हुन दिन मिल्दैन ।” जङ्गबहादुरसँग अंग्रेज नाजबाफ हुन्थे, तर सन्तुष्ट हुँदैनथे । जङ्गबहादुरले अनुमति नदिए पनि नेपाली युवाहरू भागेर गई ब्रिटिश सेनामा भर्ना हुन थालिसकेका थिए । जङ्गबहादुरपछि रणोद्वीपले पनि अंग्रेजको चाहना पूरा गरेनन् । काका मार्ने वीरशमशेर र दाजु लखेट्ने चन्द्रशमशेरले ब्रिटिशको सेवा गर्न कुनै कसर बाँकी राखेनन् । अनि कानूनी रूपले नै ब्रिटिशले गोर्खा भर्ती केन्द्र खोलेर खासगरी नेपालका जनजाति समुदायका युवाहरूलाई कजाउन थाल्यो । नेपालको युवाशक्ति ब्रिटिशको सेवामा अर्पित भयो । ती युवाहरूको इमानदारी र बहादुरीले ब्रिटिशले संसारमा अझ धाक जमायो । अहिले पाकिस्तानमा पर्ने लाहोरमा त्यसबेला भरखर सेनामा भर्ती भएका रिक्रुटहरूको तालिम हुन्थ्यो । त्यसैले लाहोरमा तालिम पाएका युवाहरूलाई लाहुरे भन्ने गरिएको हो । दोस्रो विश्वयुद्धमा तलब पनि नपाईकन ज्यानको बाजी लगाएर युद्ध गरी फर्केका थोरै लाहुरेहरूको यथार्थ आँसु आउने खालको थियो ।

अंग्रेजले जङ्गबहादुर राणालाई सार्वभौमसत्ता सम्पन्न मुलुकका राजाको दूतको रूपमा प्रधानमन्त्री मानेर नै बेलायतमा ३१ तोपको सलामी दिई स्वागत र सम्मान गरेको थियो । तर उनको देहावसान भएपछि अंग्रेज आफ्नो बाचामा अडिग रहेन । ऊ नेपाललाई जुनसुकै बेला हडप्ने दाउमा थियो । नेपालका राजालाई भारतीय रजौटालाई झैं ज्ष्क ज्नजलभकक भनिन्थ्यो । चन्द्रशमशेरले १९८० सालमा ंअंग्रेजसँगको शान्ति र मैत्री सन्धि गरे । यो नै उनको सर्वश्रेष्ठ राष्ट्रवादी काम हो । यही सन्धिले नै नेपाललाई भारतभन्दा जेठो स्वतन्त्र मुलुक स्वीकार गर्न बाध्य पारेको हो । ब्रिटिशले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रता स्वीकारेर काठमाडौंमा रेजिडेन्टको साटो राजदूत राख्ने काम भने ग¥यो । नेपालका श्री ५ लाई ‘हिज म्याजेष्टी’ द्वारा सम्बोधन पनि गर्न थाल्यो । त्यसपछिदेखि नै नेपाललाई अन्य मुलुकसँग पनि दौत्य सम्बन्ध राख्न बाटो खुलेको हो । 

जङ्गबहादुरले बेलायत र फ्रान्सको भ्रमणमा जाँदा त्यहाँ कानूनको शासन देखे । अनि नेपाल फर्केर उनले धर्मशास्त्र र नीतिशास्त्रलाई मूल आधार मानेर अलि आधुनिक, व्यवस्थित र लिखित कानून बनाए । त्यसलाई मुलुकी ऐन भनियो । उनले हरेक अदालतलाई कानूनको पुस्तकको प्रतिलिपि पनि उपलब्ध गराएका थिए । उनले बनाएको कानूनमा जात हेरी सजायचाहिँ घटबढ थियो । 

राणाकालमा श्री ५ को लालमोहर छाप लागेर बनेको ऐनलाई खड्गनिशाना छाप लागेर बनेको सवालले, त्यो सवाललाई खड्गनिशाना सनदले, त्यो सनदलाई पनि खड्गनिशाना फैसलाले वा तोक आदेशले काट्न सक्थ्यो । एकपछि अर्को गरी कानून काट्ने शक्ति खड्गनिशाना छापमा निहित थियो । खड्गनिशानाको चलन चन्द्रशमशेरले १९६४ सालमा खड्गनिशाना छाप बनाई प्रचलनमा ल्याएका हुन् ।
राणाकालमा प्रचलित केही शब्दहरूको अर्थ र तिनीहरूको प्रयोगबारे संक्षिप्त जानकारी दिनु मनासिब नै ठहर्ला ।

सवाल :

मोफसलमा बस्ने अधिकृतहरूले आफ्नो क्षेत्राधिकार वा सो अधिकार क्षेत्रको प्रयोग र कार्यपद्धति सम्बन्धमा सवालको रूपमा पहिलो सवाल, दोस्रो सवाल भनेर सदर काठमाडौंमा सोधेर पठाएकोमा सदरबाट अधिकारवालाले पहिलो सवालको हकमा यसो गर्नू, दोस्रो सवालको हकमा यसो गर्नू भन्ने जुन निर्देशनात्मक जवाफी आदेश पठाउँदा पहिलो सवाल, दोस्रो सवाल जवाफ लेखिँदोरहेछ । यसो गर्दागर्दै केही समयपछि सवाल शब्दले नियमको अर्थ बोक्यो । अनि अधिकृतहरू फलानो सवाल बमोजिम गर्नू, भन्न थाले । यो सवालले पूर्ण कानूनी शक्ति मात्र हैन, बढी शक्ति प्राप्त ग¥यो । पछिपछि यो सवालमा लेखिएजति यसै सवालबमोजिम र अरूमा ऐनबमोजिम गर्नू भन्ने लेखिन थाल्यो । यसरी यो सवाल शब्दले ऐनको काम ग¥यो । राणाकालभन्दा पहिलेदेखि नै सवाल प्रचलनमा रहेको थियो ।

सनद :
सवालमा नखुलेका विषयमा स्पष्ट खुलाई व्यवस्था गर्ने वा नयाँ गर्ने कामकाज अख्तियारी विषयमा कुनैं अड्डाअदालत वा व्यक्तिका नाउँमा जारी भएको नियमलाई सनद भनिन्थ्यो । राणाकालमा सनदलाई दुईछापे सनदपुर्जी (प्राइमिनिस्टर एन्ड कमान्डर इन् चिफको छाप लागेको) पनि भनिन्थ्यो । सनद जारी गर्नुभन्दा पहिले त्यस विषयमा खड्गनिशाना हुन्थ्यो । त्यही खड्गनिशानाको ब्यहोरालाई उदाहरण दिएर सनद जारी गरिन्थ्यो ।

खड्गनिशाना :

राणाकालमा खड्गको चिह्नसहितको श्री ३ महाराजको छाप र त्यसमा उनको हस्ताक्षरको सहीछाप वा हस्ताक्षरको छाप लागेको कागजलाई खड्गनिशाना भनिन्थ्यो ।

इश्तिहार :
सार्वजनिक जानकारी गराउनु पर्ने कानूनी वा अन्य परिवर्तन र निर्णय वा कार्य भएकामा सबै रैती दुनियाँलाई त्यस विषयमा जानकारी, थाहाबोध गराउन निमित्त इश्तिहार भन्ने शिरमा लेखी प्रधानमन्त्रीको ठूलो छाप लगाई सार्वजनिक महत्त्वमा ठाउँ ठाउँमा टाँस्ने सरकारी सूचना, विज्ञापन वा नोटिस आदिलाई इश्तिहार भनिन्थ्यो ।

जङ्गबहादुर राणा नेपालका सर्वाधिकार सम्पन्न शासक बनेपछि उनलाई अंग्रेजको बढ्दो महत्त्वाकाङ्क्षाबाट नेपालको सिमानाको सुरक्षा गर्ने चिन्ताले पिरोल्यो । उनले अंग्रेजसँग घनिष्ट व्यवहार दर्शाउँदै भविष्यमा सीमाका कारणले दुई देशका बीचमा किचलो नहोस् भनेर सिमाना छुट्ट्याउन जनिमा पिल्लर ठड्याउन प्रस्ताव गरे । अंग्रेज पनि सहमत भयो । उनले नेपालका तीनपट्टिका सिमानामा पिल्लर ठड्याएर नक्सा तयारी गराए, अनि ती नक्सा अंग्रेजद्वारा प्रमाणित गराएर आदानप्रदान पनि गरे । सिमानाको त्यो प्रमाणित नक्सा लन्डनको पुस्तकालयमा सुरक्षित छ । 

मधेसी जनतालाई राज्यको मूलधारबाट अलि बेग्लै पारिएको थियो । उनीहरूलाई सरकारी पदमा ज्यादै कम मौका दिइन्थ्यो । स्थानीय मधेस समाजमा मालपोत उठाउन चौधरी र पटवारी नियुक्त गरिन्थे । दक्षिणतिरका सीमाको सुरक्षाको दायित्व भने स्थानीय प्रशासन र मधेसी समाजका सचेत मानिसहरूलाई सुम्पिएको थियो । 
नेपालका शासक वर्ग मधेसका जङ्गल काटेर भारततिर काठ बेच्ने गर्थे । त्यसरी फँडानी हुने जग्गा आफन्त र चाकरीबाजले मालपोत लिने गरी बस्ती राखी उपयोग गर्न पाउने अधिकारसहितको बिर्ता पाउँथे । यस्ता बिर्ता भनेर वितरण गरिएका जमिनहरू तराईमा धेरै थिए । बिर्ता विभिन्न खालका हुन्थे । कुनै बिर्ताको पोत बुझाउनु पर्दैनथ्यो । धैजसोको पोत बुझाउनु पर्ने हुन्थे । बिर्ताप्रथा २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वको सरकारले कानून बनाएर बन्द ग¥यो ।

पुरानो नेपालमा आम्दानीको एकमात्र स्रोत भूमिकर वा मालपोत नै थियो । जमिनबाट मालपोत उठाउने ठेक्का जिम्मावाल, मुखिया र चौधरीहरूलाई दिइन्थ्यो । कुनै खेतहरू बढी भएको खास क्षेत्रको तिरो उठाउने अधिकार प्राप्त व्यक्तिलाई जिम्मावाल भनिन्थ्यो भने पाखे जग्गा बढी भएको खास ठाउँको तिरो उठाउने जिम्मेवार मान्छे मुखिया भनिन्थे । हरेक जिल्ला विभिन्न थुममा बाँडिएका हुन्थे । सरकारबाट थुमभरिको मालपोत असुल गरी अड्डामा दाखिल गर्ने जिम्मेवारी पाएको व्यक्तिलाई चौधरी भनिन्थ्यो । ठेक्का पाउने व्यक्तिले तोकिएको जमिनको उब्जा खान पाउँथ्यो । बेलामा ठेक्का नबुझाउनेको जिम्मेवारी खोसिन्थ्यो । कुनै क्षेत्रका जग्गाको मालपोत उठाउने काम ठेक्का लाग्न नसकेको अवस्थामा मालपोत कार्यालयले नै कर्मचारी खटाएर उठाउँथ्यो । त्यस्ता जग्गालाई अमानती मौजा भनिन्थ्यो । सामान्यतया मधेसका लेखापढी र हरहिसाब गर्न व्यक्तिहरू पटवारीको रूपमा मालको हाकिमद्वारा नियुक्त हुन्थे । तिनीहरूको काम जिम्वाल वा जिम्दारहरूलाई तिरो उठाउन सघाउनु हुन्थ्यो । तिनीहरू नै सरकारी तिरो बुझेर रसिद काट्थे । पटवारीले एउटा रसिदबापत तोकिएको पैसा लिन पाउँथे । 

समाज अशिक्षाको अन्धकारमा रुमलिएको थियो । कोही बिरामी प¥यो भने औषधी केबल खास बोटबिरुवाका जराबुटा घोटेर खुवाउने चलन थियो । धेरजति धामी र झाँक्रीको भर पर्ने अवस्था थियो । वैद्यहरू थोरै हुन्थे । तिनीहरूले पनि आफ्ना बाबुबाजेबाट नै सिकेका हुन्थे । दादुरा, ठेउला, झाडाबान्ता, हैजा र बिफर जस्ता सरुवा रोगले गाउँ नै मानिसविहीन बन्थे । झाडाबान्ता र हैजा रोग लाग्दा बिरामीलाई पानी खान दिइँदैनथ्यो । बिरामी भने शरीरमा पानी कम भएर मर्थे । धन्य हो, अन्धविश्वासी र अशिक्षित समाज ! बिफरको लागि शीतला माईको पूजा गर्थे । जङ्गबहादुरले भारतमा प्रचलनमा रहेको खोप पद्धतिको थालनी गरे । तर पनि मृत्यु हुनेको संख्या बढी नै हुन्थ्यो । खुँज मधेसतिर औलो रोगको पनि जगजगी थियो । २०२० सालपछि मात्र औलो रोग नियन्त्रण गर्ने अभियान चलेको हो । 

प्रजातन्त्र आउनुपूर्वको समाजमा शैक्षिक चेतना पटक्कै थिएन । कुनै कुनै ब्राह्मणहरू काशी तथा वृन्दावनमा छोराहरू पढ्न पठाउँथे । पछि काठमाडौं र पूृर्वमा दिङ्लामा पनि संस्कृत पढाइ शुरू भयो । त्यसरी थोरैतिनु संस्कृत पढ्नेहरूले पण्डित बनेर पुराण बाचन गर्थे । पण्डितको कारण नै समाजमा रुद्री लगाउने, चण्डीे तथा वेद पढ्ने–पढाउने अनि पितृहरूको श्राद्ध गर्ने चलनले पनि निरन्तरता पाइरह्यो । यस्ता धार्मिक विधि कायम राख्न घरैमा पनि ब्राह्मणहरूले आफ्ना सन्ततिको सामान्य लेखपढ गर्ने क्षमता विकास गर्ने कामलाई प्राथमिकता दिइरहे । त्यही कारणले समाजमा पात्रो हेर्ने र चिना बनाउने काम पनि ब्राह्मणहरूले सिक्ने सिकाउने काम गरिरहे । साक्षर भएपछि भर्पाई, तमसुक, राजीनामा आदि लेख्ने काम चल्दै रह्यो । भानुभक्तको रामायण र अरू नेपालीमा अनुवादित महाभारत र देवी भागवतले धेरजसो ब्राह्मण समाजमा कथा पढ्ने र सिलोक गाउने परम्परा विकसित भयो । ठूलो वर्णमालाका विषयवस्तु पढ्थे, पढाउँथे । समयक्रममा रामायण, महाभारत र देवी पुराण पनि अनुवाद भए नेपाली सिलोकमा । अक्षर चल्नेले किनेर घरमा राखे । फुर्सदमा पढे । घरघरमा पुराण कथामा आधारित सिलोक पढ्ने संस्कार बढ्दै गयो । तोतामैनाका कथा, भोटका सबाई, अर्जुन गीता पनि पढिन्थे । तर यो चलन ब्राह्मण र क्षत्रीबाहेक अन्य जातिमा ज्यादै कम थियो ।

अ्रग्रेजी पढाउने शुरुवात जङ्गबहादुरले गरेतापनि त्यो उच्च परिवारका लागि मात्र थियो । पछि देवशमशेरले दरबार हाई–स्कूलमा जनताका छोरालाई पनि पढ्न सुविधा दिए । रणोद्वीपसिंहले काठमाडौंमा संस्कृत पाठशाला स्थापना गरे । देवशमशेरले छोटै अवधिमा पनि निकै संख्यामा प्राइमरी स्कूल खोले । भाषा पाठशाला खालेर सामान्य जतनालाई साक्षर बनाउने अभियान अलि फराकिलो बन्यो । लेखापढी गर्ने मानिसको अभाव हुन गएकाले ती भाषा पाठशालाहरू खोलिएका हुन् । 

नेपाली समाजको अँध्यारो युगमा दरबार हाई–स्कूल, काठमाडौंमा संस्कृत पाठशाला, भाषा पाठशाला, प्राइमरी स्कूल, त्रिचन्द्र कलेजको स्थापना जस्ता कार्य ऐतिहासिक नै मानिए । २००७ साल अघि वीरगञ्ज र सिरहामा हाई–स्कूल, काठमाडौंमा कन्या स्कूल र कलेज खुल्दा चेतनाको प्रकाश मधुरो बत्ती टिलपिल गरेर भए पनि बल्न थालेको थियो । सतीप्रथा र दासप्रथा बन्द गरिनु अँध्यारो समाजको पर्दा उघारिएको नै मान्न सकिन्छ । 

000

उदयपुर जिल्लाको दक्षिण–पश्चिममा पर्ने तावा खोलामा माछा मारेर तरकारी खान पाइने, वरिपरि प्रशस्त जग्गा खेती गर्न पाइने र घना जङ्गल भएकाले जङ्गली जनावर पनि मारेर खान पाइने सुविधाबाट नै दनुवार र माझी जातिहरू आकर्षित भएका हुन् । कछाडे दनुवारका पूर्वज रौतहटको गौरबाट सिन्धुली जिल्लाको भलुवाइ हुँदै देवीधापमा आई स्थायी बसोबास गरेका हुन् । काभ्रे र मकवानपुर जिल्लाबाट आएका राई दनुवार कटारीको जहडी, सिम्ले र तित्रीबोट र रिस्कुमा छन् । रामेछापको मन्थलीबाट माझीहरू कटारीको गँबुवामा आएका हुन् । यी तीनै समुदाय अदिवासी मानिन्छन् । यिनीहरूमा चेतनाको विकास भरखर हुनथालेको छ । कछाडे दनुवार जातिका वृक्षलाल धामी एसएलसी उत्तीर्ण हुने पहिलो आदिवासी हुन् । तिनैकी छोरी ममता सबैभन्दा शिक्षित मानिएकी छिन् । यही जातिबाट बलाहाका हरिलाल अधिकारीले बी.एस्सी उत्तीर्ण गरेका छन् । राई दनुवार भने तुलनात्मक रूपमा अगाडि छन् । पुरुषमा सिम्लेका भक्तबहादुर दनुवार र महिलामा त्यहीँकै मङ्गला दनुवार पहिलो स्नातक हुन् । माझी जातिमा पुरुषमा रिस्कुका हेमन्त माझी र महिलामा सिम्लेकी ज्योति माझी प्रथम स्नातक हुन् ।

 २००० साल अगाडि अम्टाई गाउँमा हाट लगाउन थालियो । केही वर्षपछि त्यो हाट तावा खोलाको किनारमा सारियो । खोलाको बगरमा लाग्ने गरेको त्यो हाट २०११÷१२ सालतिर अहिले त्रिवेणी हाई–स्कूलको स्मारक भएको ठाउँमा लाग्न थाल्यो । त्यहाँ आँप बगैंचा थियो । त्यही बगैंचाको फेदमा ससाना झुप्रा बनाएर व्यापारीहरू बस्थे । हाट शुक्रवार लाग्ने गथ्र्यो । धेरैजसो व्यापारीहरू दिनभरि सरसामान बेचेर बेलुका वा भोलिपल्ट घर फर्किन्थे । बजारको स्थायित्व थिएन । २०२१ सालमा त्यहाँ आगलागी भयो । अनि जिल्ला पञ्चायतले तत्कालीन प्रधानपञ्च रुद्रबहादुर थापाको सक्रियता र पहलमा ३÷४ बिघाजति जग्गा व्यक्तिसँग किनेर र बाँकी कसैलाई जग्गा त्यतिकै छोड्न लगाएर तथा बाँझो रहेको जग्गालाई समेटेर टाउन प्लानिङ गरी बजारलाई व्यवस्थित गरिएको हो । 

तावा खोला र कमला नदीको सङ्गमस्थलको पश्चिमपट्टि मैनी भन्ने गाउँ छ । त्यही गाउँका नजिकै पहिलेदेखि नै माघ महिनामा १५ दिन जति एउटा मेला लाग्ने गथ्र्यो । त्यसलाई ‘मैनी मेला’ वा ‘मैनी धाम’ भनिन्थ्यो । पछि त्यही सङ्गमस्थल नजिकै तावा खोलाको दक्षिण किनारामा लाग्ने गरेको त्यही मेलालाई ‘त्रिवेणी मेला’ भन्न थालियो । धेरै पहिले तावा र दुदौली संयुक्त भै कमलामा मिसिने स्थानमा नै मेला लाग्ने गथ्र्यो । त्यसैले त्यस मेलाको नाउँ ‘त्रिवेणी’ भएको हुनु पर्छ । त्रिवेणी मेला हरेक वर्ष माघ १ गतेदेखि १५ गतेसम्म लाग्ने गर्छ । माघ १ गते पर्ने मकर–स्नानका लागि नदीमा नुहाउन जाने श्रद्धालुहरू अचेल पनि प्रशस्त हुन्छन् । कमला नदीमा पाठी परेबा हाँसका बलि दिने चलन छ । पहाडका बासिन्दाहरू वर्ष दिन पुग्ने घरेलु उपभोगका सामग्रीहरू पनि त्यहीँ नै किनेर लैजान्थे । त्यो मेलामा घोडा, राडी र भोटे कुकुरको पनि किनबेच चल्दथ्यो । त्यो मेलामा रोटे पिङ खेलाइन्थ्यो, सर्कसहरू पनि देखाइन्थ्यो । अचेल सबै दृष्टिले त्यो मेलाको महŒव घट्दै गएको छ ।

कटारी बजारमा आलु र सुन्तलाको व्यापार चल्ने कात्तिक, मंसिर र पुस महिनामा हरेक शुक्रवार लाग्ने हाटको दिन ढाक्रेहरूको घुइँचो छिचोलिसक्नु हुँदैनथ्यो । आलु बोकेर ल्याउने ढाक्रेहरू बिहीबार बेलुकैदेखि जम्मा हुन थाल्थे । हजारौंको संख्यामा ढाक्रेहरू पूरै बजार र छेउछाउका जमिनमा पनि छापछाप्ती हुन्थे । बिस्तारै व्यापारीहरू पहाडतिरै गएर आलु खरिद गर्न थाले । अनि बेहाटमा पनि आलु ल्याइन थालियो । अचेल कटारीले बजार हैन, शहरको स्वरूप पाउन थालेको छ ।

उदयपुरगढीमा १८८८ सालदेखि सदरमुकाम रहेको प्रमाण छ । सप्तरीको सुरक्षाका लागि निगरानी गर्न चौदण्डीमा गढी कायम गरियो । पछि सिरहा र सप्तरीको सुरक्षाको निगरानी गर्न उदयपुरमा गढी कायम गरिएको विश्वास गरिन्छ । उदयपुर डाँडामा पानीको निकै अभाव हुनाको कारणले २०२८ सालमा जिल्ला सदरमुकाम गाईघाटमा सारियो । 

उदयपुरगढीमा १९७२ सालतिर भाषा पाठशाला खोलिएको थियो । त्यसैताक रसुवाको भुट्टारमा पनि भाषा पाठशाला स्थापना भएको थियो । ती दुवै भाषा पाठशालाका पण्डितहरू क्रमशः नरनाथ सिग्देल र देवीप्रसाद खतिवडा थिए । पछि सिग्देलले राजीनामा दिएपछि खतिवडा पण्डित उदयपुरगढीमा सरुवा भए । दुवै पण्डितहरूले उदयपुरगढीमा नै स्थायी बसोवास गरे । 

२००७ सालपछि समाज खुला भयो । अनि मुलुकमा जताततै स्कूलहरू सञ्चालन भए । २००९ सालमा उदयपुरगढीमा पनि मिडिल स्कूल खुल्यो । त्यही मिडिल स्कूललाई २०१८ सालमा जिल्लाको पहिलो हाई–स्कूलको रूपमा सञ्चालन भई २०२० सालमा त्यस स्कूलले एसएलसी परीक्षामा पाँच जना विद्यार्थीलाई सामेल गरायो । त्यसको नाउँ पञ्चावती हाई–स्कूल हो । त्यस स्कूललाई हाई–स्कूल बनाउँदा ताकका सेक्रेटरी स्व. नरबम कार्की हुन् । ती शिक्षाप्रेमी स्व. नरबम कार्कीलाई हार्दिक श्रद्धाञ्जली ! सदरमुकाम गाईघाट सरेपछि त्यो पञ्चावती मावि घिटघिटीको अवस्थामा चल्दै छ । २०६४ सालमा त्यस स्कूलमा उमावि सञ्चालन गर्न दीपक रोकाया र बोधकुमार धिमिरेको योगदान बढी छ । त्यसले २०६८ साल वैशाखमा पञ्चावती सद्भाव समाजको अगुवाइ र सक्रियतामा आफ्नो हीरक महोत्सव पनि मनायो ।

कटारीमा भने २०१७ सालमा कटारी प्राइमरी स्कूल स्वीकृत भई सञ्चालनमा आएको थियो । त्यस स्कूलका पुराना शिक्षक केशवलाल कर्ण र श्रीनारायण कर्ण थिए । कटारीमा खुलेको हाई–स्कूल पुरानो प्राइमरी स्कूलसँग असम्बन्धित रहेर कक्षा ६ देखि १० सम्म पाँचवटा कक्षा मात्र सञ्चालनमा ल्याइएको हो । पछि २०३१ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि मात्र त्यो प्राइमरी स्कूल हाई–स्कूलमा गाभियो । त्रिवेणी हाई–स्कूलको इतिहास केलाउँदा त्यो हाई–स्कूलमा पछि मिसिएको प्राइमरी स्कूलको स्थापनाको इतिहास गन्तीमा आएन । त्यसैले त्यसलाई महत्त्व पनि नदिइएको हो । 

स्वरुङ घर भई कटारीतिर खेती गर्दै आएका बलबहादुर राउत २०२४ सालको शुरूतिर उदयपुरगढी गएका बेलामा तत्कालीन जिल्ला पञ्चायत सभापति चक्रबहादुर बस्नेतसँग भेट भएछ । ती सभापति जिल्लासभा सकिएपछि बलबहादुर राउतसँग नै कटारी आए । उनले कटारीको कुनै दोकानमा बसेर रुद्रबहादुर थापा, श्रीमती तिलोत्तमा थापा, बलबहादुर राउत, उजिरबहादुर थापा, गङ्गाबहादुर कार्की, गोपालदास श्रेष्ठ, सुब्बालाल श्रेष्ठ, सुन्दरलाल अधिकारी, सुन्दरलाल माझी, अबधलाल धामी, मैतबहादुर दनुवार, भैरवबहादुर गुरुङ आदि शिक्षाप्रेमीहरूलाई बोलाएर कटारीमा हाई–स्कूल खोल्न उत्साहित गरे र ‘कटारीमा हाई–स्कूल सञ्चालन गर्ने’ ब्यहोरा मान्युटिङ गराए । भेलाको अनुरोधमा बस्नेत स्वयं अध्यक्ष बने । उनकै सीफारिसमा बलबहादुर राउत सेक्रेटरीमा स्थापित भए । ती स्थापनाकालीन शिक्षाप्रेमीहरूमा बलबहादुर राउत मात्र हाल जीवित हुनुहुन्छ । 

धनुषा बसाइँ गइसकेका स्वरुङनिवासी गुमानसिंह राउतले सभापति चक्रबहादुर बस्नेतसँग काठमाडौं गएर स्कूल स्वीकृतिको प्रक्रिया अघि बढाए । त्रिवेणी हाई–स्कूलको लागि पक्की भवन बनाउन उनले निकै सक्रियता देखाए । उनी भवन निर्माण समितिका अध्यक्ष नै बनेका थिए । कटारीका केही मौजाका रैतीहरूबाट मालपोतबाहेक त्यति नै थप रकम दानसहयोग लिएर स्कूलको भवन निर्माणको लागि रकमको जोहो गरेर भवनको जग हाले । ती दुवै शिक्षाप्रेमी स्वर्गीय व्यक्तित्वहरूलाई हार्दिक श्रद्धाञ्जली ! 

बलबहादुर राउतले त्रिवेणी हाई–स्कूल स्थापनामा मनग्गे चासो लिई सहयोग गरेका हुन् । उनी नै स्कूलको सञ्चालक समितिका प्रथम सेक्रेटरी हुन् । स्थानीय जनता उनलाई निकै पछिसम्म पनि ‘सेक्रेटरी’ नामले चिन्दथे । त्यही सेवाको फस्वरूप नै भन्नुपर्छ, त्रिवेणी माविको स्वर्ण महोत्सव मूल समारोह समितिको अध्यक्ष उनीलाई नै राखिएको हो । उनले त्रिवेणी हाई–स्कूलमा प्रधानाध्यापक कसलाई राख्ने विषमा विवाद हुँदा आफूले समर्थन गरेको व्यक्तिलाई सो पदमा कायम गराउन नसकेपछि राजिनामा दिएका हुन् । उनी पछि सेक्रेटरी हुने एकमात्र व्यक्ति स्व. चन्द्रप्रसाद ढुङ्गाना हुन् । शिक्षाप्रेमी स्वर्गीय ढुङ्गानालाई हार्दिक श्रद्धाञ्जली ! 

त्यसबेला स्कूल चलाउनका लागि कटारीमा कुनै भौतिक आधार थिएन । प्रा.वि.बाट अलग रहेर नै हाई–स्कूल चलाउनु झन् विकट कार्य थियो । त्यसबेला स्कूलका लागि न जग्गा थियो, न भवन नै, न विद्यार्थी थिए, न शिक्षक । हुटपट्याँसमा स्कूल चलाउने अभियानको थालनी भयो । अहिले त्रिवेणी उच्च मा.वि. रहेको स्थानमा ६ जनाको जग्गा थियो रे । तत्कालीन प्रधानपञ्च रुद्रबहादुर थापाले त्यहाँको जग्गा स्कूललाई दान दिएपछि गुमानसिंह राउत, उजिरबहादुर थापा, तिलोत्तमा थापा, सुन्दरलाल अधिकारी र एक जना दनुवारले पनि दिएछन् । ती उदारमना दनुवारका नाउँ थाहा हुन सकेन । स्कूलमा जग्गा दाताको औपचारिक अभिलेख भने रहेन । आफूले भोगी आएका ती सबै जग्गा २०२८ सालको सर्भे नापीमा स्कूलले आफ्नो नाउँमा नापी ग¥यो । 

पञ्चावती हाई–स्कूल उदयपुरगढीमा शिक्षण गरिरहेका सिरहावासी मोहनप्रसाद श्रेष्ठलाई कटारीमा हेडमास्टर हुन आमन्त्रण गरियो । उनी पनि दशैंपछि लगत्तै आए । उनले स्थानीय शिक्षाप्रेमीहरूलाई भेला गराएर तत्कालै टहरो बनाउन र आम्दानी जुटाउन उपाय गर्न सक्रिय तुल्याए । स्कूलको नाउँ त्रिवेणी भनेर उनले नै जुराएका हुन् । त्यसपछि उनी पढाउने कामको व्यवस्थापन गर्न थाले । उनी आएपछि केही विद्यार्थीहरू पढ्नका लागि भेला भए । शुरूमा नाउँ लेखाउने विद्यार्थीहरू कृष्णकुमार श्रेष्ठ, ज्ञानेन्द्रमानसिंह राउत, कमलबहादुर (शिव) थापा, कुलवीर दनुवार, कृष्णबहादुर (अमृतबहादुर) थापा र पूर्णबहादुर दनुवार । थिए । उनले तत्कालै सिरहाको मुक्सार घर भएका लक्ष्मण शाही, सप्तरीको मानराजा घर भएका सकलदेव प्रसाद यादव र उदयपुरको लेखानी घर भएका रामकुमार दाहाल शास्त्रीलाई शिक्षकमा नियुक्त गरे । हाई–स्कूल स्वीकृत भएको पत्र आएपछि कक्षा ६ देखि ९ सम्म गाउँघर डुलीडुली विद्यार्थी भेला गर्ने कामले तीव्रता पायो । पियन पदमा बिल्टु ऋषि (मुसहर) नियुक्त भए । ती संस्थापक शिक्षासेवीहरूलाई हार्दिक नमन !

करिब अढाई वर्ष विद्यालयमा सेवा गरी २०२६ सालमा एस्.एल्.सी. परीक्षा दिने पहिलो समूहका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेर २०२७ सालको जेठतिर हेडमास्टर मोहनप्रसाद श्रेष्ठले स्कूल छाडे । २०६६ साल असार १७ गते यी पंक्तिका लेखक र नरेश श्रेष्ठको आह्वानमा काठमाडौंको वानेश्वरको एउटा हलमा कटारी विद्यार्थी समाज गठन भएका दिन त्रिवेणी उच्च मा.वि.का विद्यार्थीहरूको भेलाले तिनै हेडमास्टर मोहनप्रसाद श्रेष्ठलाई अभिनन्दन ग¥यो । ती उदारमना हेडमास्टर अब यो संसारमा छैनन् । ती लोकप्रिय र हिम्मतिला शिक्षासेवीलाई हार्दिक श्रद्धाञ्जली !

विद्यार्थी संख्या ज्यादै कम हुनाले सबैखाले कक्षा ६ देखि ९ सम्म पढ्न योग्य विद्यार्थीहरू भर्ना गरेर कक्षाको तह निर्धारण गरियो । हेडमास्टरले अन्तैको स्कूलमा पढ्न गएकालाई पनि आफ्नै पहलमा बोलाएर कटारीमा पढ्न प्रोत्साहित गरे । पटेरको लामो टहराको बीचबीचमा पटेरले नै कोठा विभाजन गरिएको स्थितिमा पढाइ चालू भयो । विद्यालयको आयस्रोत केही थिएन । तत्कालीन स्थानीय प्रधानपञ्च रुद्रबहादुर थापा, गुमानसिंह राउत, बलबहादुर राउत आदिको पहलमा ठेक्कामा लगाइएको कटारी बजारको एउटा हाटमा ठेकेदारले उठाउन नपाउने शर्तमा हाई–स्कूलले नै बजारबाट सरसामान निकासी गर्नेबाट वस्तुको परिमाणको आधारमा दानसहयोग भनेर जोरजबर्जस्ती समेत गरेर रकम उठाउने प्रचलन बसाइयो । त्यो आम्दानीले स्कूल चलाउन प्रशस्त मद्दत पुगेको थियो । २०३१ सालभन्दा पहिले सरकारबाट वार्षिक रूपमा केही रकम अनुदान पनि प्राप्त हुन्थ्यो ।

कटारीबाट बसाइँ गइसकेका गुमानसिंह राउतको उत्साह र सद्भावबाट विद्यालय भवनको जग हालिएको थियो । २०३४ सालमा नै विद्यालयको आफ्नै पहलमा त्यस भवनले पूर्णता पाएको हो । २०२६ सालमा गुमानसिंह राउतले गिलेबाले जोडेको ६ कोठे सानो पक्की छात्रावास भवन बनाएका थिए । त्यसको लागि जुटाइएको आर्थिक स्रोतको कुनै अभिलेख छैन । त्यसमा विद्यार्थी र शिक्षकहरू पनि बस्थे । त्यो भवन अत्यन्तै छिटो चुहुने भयो र ढल्यो । त्यसपछि नयाँ नयाँ भवनहरू थपिँदै गए । 

मोहनप्रसाद श्रेष्ठले स्कूल छाडेपछि सप्तरीका सकलदेवप्रसाद यादव स्कूलका कायममुकायम हेडमास्टर भए । स्थानीय महेन्द्रभूषण थापालाई हेडमास्टर बनाउन चाहेर पनि नसकेको कारणले बलबहादुर राउतले हाई–स्कूलको सञ्चालक समितिको सेक्रेटरी पदबाट २०२९ सालमा राजिनामा दिए । २०३४ सालमा सकलदेवप्रसाद यादवलाई विस्थापन गरेर प्रधानाध्यापक बनेका चन्द्रकान्त उपाध्याय २०४२ सालमा पुनः यादवलाई नै त्यो पद हस्तान्तरण गरी जनप्रेमी मावि रिस्कुमा सरुवा भए । २०४६ सालमा सकलदेवप्रसाद यादवको पुनः सरुवा भएपछि राजेन्द्रप्रसाद निरौला विद्यालयको प्रधानाध्यापक भएर आए । त्यसपछि उनलाई हल्लाउने प्रयत्नहरू भने उपलब्धिविहीन नै सिद्ध भए । उनको प्रधानाध्यापकीय कार्यकालमा विद्यालयमा निकै भौतिक संरचनाहरू थपिए । उनले अवकाश लिएपछि अहिले त्रिवेणी माविमा नै पढेका बालकृष्ण कार्की त्रिवेणी मा.वि. (१ंं१२) को प्राचार्य पदमा कार्यरत छन् । विद्यालयको स्वर्ण महोत्सवको कार्यक्रम सफल पार्ने दायित्व उनीमाथि आइपरेको छ । उनी त्यस स्वर्ण महात्सव समारोह समितिको सचिव बनेर कार्यक्रम सफल पार्न लागिपरेका छन् । उनी तथा उनका सहयोगी सबैलाई कार्यक्रम सफलताको लागि अग्रिम शुभकामना !

स्व. डम्बरबहादुर थापा, स्व. रुद्रबहादुर थापा, स्व. अवधलाल धामी, डाकबहादुर थापा, ज्ञानेन्द्र राउत, संजीव थापा, वृक्षलाल धामी र पिताम्बर कार्की त्रिवेणी माविको व्यवस्थापन समितिका पूर्वअध्यक्ष हुन् । पुराना शिक्षाप्रेमीहरूमा स्व. वीरध्वज तामाङ, उद्दवप्रसाद श्रेष्ठ, तीर्थकुमार श्रेष्ठ, कुवेरनाथ जयसवाल, स्व. कुलवीर दनुवार आदि नामहरू पनि स्मरणीय छन् ।

सोरुङमा २०३१ सालमा कालिका निमावि स्थापना गरी सञ्चालन गर्न स्व. यम्बरबहादुर राउत, स्व. अम्बरबहादुर थापा र स्व. उजिरबहादुर थापाले बढी योगदान गरेका हुन् । त्यसमा २०५२ सालमा मावि सञ्चालन गर्नमा स्व. यम्बरबहादुर राउत स्व. अम्बरबहादुर र स्व. हेमन्त थापाको भूमिका बढी छ । ती चारैजना शिक्षासेवीलाई हार्दिक श्रद्धाञ्जली ! लेखानीमा २०१८ सालतिर बद्रीनाथ दाहालको अगुवाइमा चम्पावती प्राइमरी स्कूल स्वीकृत भएको हो । ती शिक्षाप्रेमी व्यक्तित्वलाई हार्दिक श्रद्धाञ्जली ! अहिले त्यस स्कूलका प्रधानाध्यापक एवं स्थानीय बासिन्दा विष्णुप्रसाद दाहालले स्थानीय युवा विष्णु मुरी लगायतको सहयोग लिएर सप्ताह पुराण समेत लगाएर आएको रकमले त्यो प्राविलाई २०५८ सालमा मावि र २०६७ सालमा उमाविमा रूपान्तरण गर्न सफल भएका हुन् ।हर्देनी गा.वि.स. मा राम्रो प्रभाव कायम गरेका क्षेत्रबहादुर (कृष्णगोपाल) खड्काले बसेरीमा हाई–स्कूल स्थापना गर्न विशिष्ट योगदान गरेका थिए । उनले हाई–स्कूलको भवन बनाउनका लागि जग्गा पनि दान गरेका थिए । केही वर्षअघि स्वर्गीय भएका शिक्षाप्रेमी खड्काजीलाई हार्दिक श्रद्धाञ्जली ! मयाङ्खुमा प्रावि स्थापना गरी सञ्चालन गर्न स्व. भीमबहादुर श्रेष्ठको भूमिका विशेष योगदान छ । मावि बनाउने काममा हंसबहादुर बुढाथोकी, स्व. अमृतबहादुर राउत आदिको विशेष योगदान छ । ती दुवै जना शिक्षाप्रेमी स्वर्गीय व्यक्तित्वहरूलाई हार्दिक श्रद्धाञ्जली ! लिम्पाटार प्राविलाई माविको रूपमा सञ्चालन गर्ने क्रममा गङ्गाप्रसाद पोखरेल र गुमानसिंह थापा मगर सक्रिय बनेका हुन् । सिरिसेको पटना भन्ज्याङमा प्रावि स्थापना गर्न यत्नबहादुर खत्रीले निकै मिहेनत गरेका हुन् । त्यसलाई मावि बनाउने क्रममा जग्गाको अभाव हुन जाँदा पदमबहादुर थापा क्षत्रीले आवश्यक जग्गा उपलब्ध गराएका हुन् । स्थानीय समाजले उनीलाई शिक्षासेवी भनी सम्मान पनि गरेको हो । तिनै पदमबहादुर थापाले कटारी नगरपालिका वडा नं. ५ भोर्लेमा सरस्वती मावि सञ्चालन गर्न सबैभन्दा बढी आर्थिक सहयोग गरेका थिए । यसरी स्थानीय समाजको सचेत पहलमा मावि पटना भञ्ज्याङ अस्तित्वमा आयो ।

कटारी नगरपालिका वा.नं. ४ अन्तर्गत मरुवामा २०४५ सालमा स्थापना गरिएको प्रावि २०६५ सालदेखि स्थानीय जनताको सामूहिक प्रयासमा मावि मरुवामा रूपान्तरण भएको छ । कटारी नगरपालिका वानं. ३ हडियामा जनताको सामूहिक प्रयासमा २०६ सालदेखि सरस्वती मावि सञ्चालित छ । कटारी नगरपालिका वा.नं. २ कल्याणपुरमा जनताको सामूहिक प्रयासमा २०३६ सालमा स्थापित प्राविमा २०६४ सालदेखि माध्यमिक तह सञ्चालन भएको हो । कटारी नगरपालिका वानं २ गुराँसेमा २०२८ सालमा स्थापित प्रावि स्थानीय निवासी पूर्व सैनिक बृखबहादुर गुरुङले त्यहाँ २०६ सालमा मा.वि. स्थापना गर्न योगदान पुृ¥याएका हुन् । शिक्षाप्रेमी स्व. गुरुङलाई हार्दिक श्रद्धाञ्जली ! पछि त्यो विद्यालय जनताको प्रयासमा उमावि पनि बन्यो । कटारी नगरपालिका वानं. १ कालीखोलामा जनताको सामूहिक प्रयासमा २०३४ सालमा स्थापित प्राविमा २०६४ सालदेखि माध्यमिक तह सञ्चालन भएको हो । खसीबासमा पनि २०६६ सालदेखि पञ्चावती मावि सञ्चालित छ ।

कटारी नगरपालिका वानं. ५ मा सरस्वती स्थापित प्रावि भोर्ले स्वीकृत गराउने दायित्व स्व. चन्द्रप्रसाद ढुङ्गानाले वहन गरेका थिए भने सञ्चालनमा चित्रकुमार बराललाई ज्ञानबहादुर बानियाँ, पृथीनारायण श्रेष्ठ आदिको साथ सहयोग मिलेको थियो । त्यसलाई २०६७ सालमा मावि बनाउने अभियानको नेतृत्व गर्दै सप्ताह पुराण पनि लगाएर रकम जोहो गर्ने काम स्थानीय शिक्षाप्रेमी धर्मराज भट्टराईले गरेका हुन् । डिल्लीसेर राईले भुल्केमा २०२५ सालमा देवी प्रावि स्थापना गर्न पहल गरेका हुन् । त्यही प्राविमा जनताको सामूहिक प्रयासमा २०६४ सालदेखि मावि सञ्चालित छ । कटारी नगरपालिका वानं. ६ जोगीडाँडामा जनताको सामूहिक प्रयासमा २०७१ सालदेखि दीपेन्द्र मावि सञ्चालित छ । कटारी नगरपालिका वानं. ७ रतनपुरमा २०३१ सालमा नरबम कार्की र हर्कवीर माझीको प्रयासमा सञ्चालित कालिका प्रावि मीनबहादुर दर्लामी मगरको अगुवाइमा २०६९ सालदेखि माविको रूपमा सञ्चालित छ ।

इनामे गाउँ पञ्चायतबाट बसाइँ सरी रिस्कुमा आएका ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको जिल्ला तहमा राजनीतिक कद उठेको थियो । रिस्कुमा २०४० सालमा जनप्रेमी हाई–स्कूल स्थापना गर्नमा उनको नेतृत्व नै निर्णायक बनेको हो । पूर्व प्रधानपञ्च हर्कवीर माझी तथा चन्द्रबहादुर दनुवार लगायत धेरै शिक्षाप्रेमीहरूले ढुंगानालाई होस्टेमा हैंसे गरेका थिए । ती तीनै जना स्वर्गीय व्यक्तित्वहरूलाई हार्दिक श्रद्धाञ्जली ! त्यही माविलाई उमावि बनाउन रकम संकलन गर्न समाज परिचालन गरी सप्ताह पुराण पनि लगाउन खटेका स्थानीय धनकुमार दनुवार र कासबहादुर दनुवार हुन् ।

भैरवीप्रसाद पोखरेलको सशक्त अगुवाइमा २०१७ साल कात्तिक १ गत महेन्द्ररत्न मिडिल स्कूल रूपाटारले स्वीकृति पाएको हो । उनले बेलाबेलामा टाढाबाट आएका शिक्षकहरूलाई आफ्नै घरमा निःशुल्क खाना खुवाएर स्कूल सञ्चालन गरेका थिए । ती उदारमना शिक्षासेवी स्व. पोखरेलजीलाई हार्दिक श्रद्धाञ्जली ! त्यो समयमा विद्यार्थीहरूलाई योग्यता हेरी कक्षा विभाजन गने काममा भाषाशास्त्री बालकृष्ण पोखरेलको सहयोग लिइएको थियो । त्यस स्कूललाई २०४० सालमा मावि र २०६५ सालमा उमाविमा रूपान्तरण गर्ने कामको अगुवाइ भने युवराज राउतले गरेका हुन् । २०१९ सालमा स्थापित ठानागाउँको सरस्वती प्रावि २०५३ सालमा भक्तबहादुर ठकुरी कृष्णबहादुर ठकुरी, नन्दलाल पोखरेल र ईश्वरबहादुर ठकुरीको विशेष सक्रियतामा नाम पनि फेरी ककनीश्वर माविको रूपमा सञ्चालन भइरहेको छ ।

उदयपुरगढीमा सदरमुकाम रहेकै अवस्थामा २०१८ सालमा अम्बोटे प्रावि स्थापना गर्न लक्ष्मीप्रसाद ढुङ्गाना र फणिन्द्रप्रसाद ढुङ्गानाको सक्रियता थियो । पछि त्यो प्रावि नेपालटारको जग्रेटारमा सारियो । त्यो प्राविलाई २०६० सालमा मावि र २०६७ सालमा उमाविमा रूपान्तरण गर्ने काममा गोपाल खत्रीको योगदान उल्लेखनीय छ । त्यस उमाविले स्थापनाकालको स्वर्ण महोत्सव पनि मनाइसकेको छ । भलायाडाँडामा रहेको प्रावि २०१२ सालमा तुलबहादुर खपाङ्गीको अगुवाइमा स्वीकृत भएको हो । त्यसमा पहिला शिक्षक थिए, षडानन्द कोइराला । निमावि बनेपछि बस्ती घट्तै गएकाले २०३२ सालमा त्यस स्कूललाई नेपालटारको खाटडाँडामा सारियो । २०५० सालमा पदमबहादुर खपाङ्गीको नेतृत्वमा मावि र २०६४ सालमा बोधकुमार घिमिरेको सक्रियतामा उमावि सञ्चालन गरिएको हो । नरबहादुर कार्कीको नेतृत्वमा भुमरेमा २०४८ सालमा प्राविको रूपमा सञ्चालनमा आएको विद्यालय वीरबहादुर खड्काको नेतृत्वमा मावि भुमरे बन्न सफल भयो । २०४४ सालमा रुम्जाटारमा प्रावि सञ्चालन गर्न जयबहादुर मगरले पहल गरी सफलता पाएका थिए भने २०६५७ सालमा पहलबहादुर थापाले रुम्जाटार मावि सञ्चालन गर्न निर्णायक भूमिका खेले ।

२०१२ सालमा स्व. विष्णुप्रसाद खतिवडाको अगुवाइमा प्रावि डुम्रे सञ्चालनमा आएको हो । त्यस स्कूलका पहिला शिक्षक स्व. कृष्णप्रसाद खतिवडा हुन् । त्यो विद्यालय २०६८ सालमा विष्णुप्रसाद ढकालको सक्रियतामा मावि डुम्रे बन्न सफल भयो । शिक्षाप्रेमी दुवै स्वर्गीय खतिवडा व्यक्तित्वहरूलाई हार्दिक श्रद्धाञ्जली ! २०१२ सालमा स्व. विष्णुप्रसाद खतिवडाको सक्रियतामा प्रावि छिद्रिङखोलाको रूपमा सञ्चालनमा आएको विद्यालयले मावि र उमाविको रूपमा चोला फेर्ने काम यमबहादुर पाण्डे र बुद्ध पाचे मगरको अगुवाइमा क्रमशः २०५३ र २०६६ सालमा नै सम्पन्न भएको हो । २०३१ सालमा चक्रबहादुर इस्मालीको अगुवाइमा सञ्चालनमा आएको प्रावि रातमाटे, बर्रे २०६५ सालमा पूर्णबहादुर कट्वालको सक्रियतामा मावि रातमाटेमा रूपान्तरण भयो । २०४७ सालमा प्रावि बोहोरीबोट नारद चापागाइँको सक्रियतामा सञ्चालन गरिएको हो । २०६७ सालमा त्यसमा मावि सञ्चालन गराउन पुण्यकुमार मगरको भूमिका बढी छ । जगतबहादुर खपाङ्गीले २०३२ मा प्रावि हाडेबास सञ्चालन गर्न अगुवाइ गरेका हुन् । त्यसमा २०६३ र २०६७ सालमा मावि र उमावि सञ्चालन गर्नमा क्रमशः युद्धराज काफ्ले र तुलबहादुर मगरको योगदान प्रशंसनीय छ । २०३५ सालमा प्रावि जल्केनीको रूपमा तिलकबहादुर मगरको प्रयासमा अस्तित्वमा आएको त्यो स्कूलमा २०६४ सालमा गुरु केसीको अगुवाइमा मावि सञ्चालन गरियो ।

अहिलेको पञ्चावती गाउँपालिका अन्तर्गत थाक्लेमा २०१५ सालमा खोटाङ निवासी लक्ष्मीप्रसाद रेग्मीले आमचुनावमा जनसमर्थन पाउनका लागि प्राइमरी स्कूलको दरबन्दी र काठमाडौंकै लहरमान भुजु नाउँका शिक्षक केन्द्रबाट नै ल्याएका हुन् । शिक्षाप्रेमी स्व. रेग्मीलाई हार्दिक श्रद्धाञ्जली ! २०२९ सालमा पहिले रसुवामा चलेको संस्कृत धुवा पाठशालामा पढाइ नभएर पाठशालाको दरबन्दी बेवारिसे भएको अवस्थामा तत्कालीन जि.शि.का.ले तावाश्री अन्तर्गत बाहुनीटारमा प्राविको रूपमा दरबन्दी दिएकाले त्यही धुवा नाउँबाट विद्यालय सञ्चालन गरिएको थियो । निस्किृय रहेको पाठशालालाई जीवन्त बनाउन पुराना कागजात समेत तयार गरी जि.शि.का. प्राविको दरबन्दी स्वीकृति गराउने काममा स्थानीय नुरदेव पोखरेल र स्व. गिरिराज पोखरेलले विशेष प्रयास गरेका हुन् भने स्थानीय होमबहादुर रानाले समाजको अगुवाइ गरेर विद्यालयलाई व्यवस्थित पार्न सहयोग गरेका हुन् । पछि निमावि बनाउने क्रममा धुवा नाउँमा जन पनि थपेर धुवाजन निमावि सञ्चालन गर्न स्व. वीरबहादुर केप्छाकी मगरले सक्रिय भूमिका निर्वाह गरेका हुन् । ती दुवै शिक्षाप्रेमी व्यक्तित्वहरूलाई हार्दिक श्रद्धाञ्जली ! मानबहादुर (मोहन) केप्छाकी मगरले तावाश्री गा.वि.स. अध्यक्ष हुँदा धुवाजन मा.वि. र पछि उमावि बनाउन सप्ताह पुराण पनि लगाएर रकम जोहो गरी योगदान गरेका हुन् । उनी अहिले पञ्चावती गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका छन् । शिक्षाप्रेमी मगरलाई बधाई तथा अझ राम्रा काम गर्नं शुभकामना !

२०१८ सालमा पुष्पलाल गिरिको अगुवाइमा ताप्लीपोखरीमा सञ्चालित प्रावि उनको अनुपस्थितिमा चिसापानी र त्यहाँबाट पनि लेकगाउँमा सारियो । दोस्रो पटक पुष्पलालकै प्रयासमा ताप्लीमा स्थापना भएको प्रावि आगलागीले भवन ध्वस्त बनेपछि पुनः जयप्रसाद ढुङ्गानाको विशेष पहलमा त्यसलाई २०२२ सालमा नै चिसापानीमा सञ्चालन गरियो । हाल समाजको सामूहिक सक्रियतामा त्यो विद्यालय माविमा रूपान्तरण भएको छ । ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले २०१८ सालमा इनामे गाउँमा प्रावि स्थापनामा मुख्य भूमिका खेलेका हुन् । जनताकै सत्प्रयासमा अहिले त्यो विद्यालय उमावि बनेको छ । 

कटारीमा २०५८ सालदेखि नै उदयश्री क्याम्पस सञ्चालित भइरहेको छ । त्यसमा मानविकी र शिक्षा संकायको पढाइ चल्दै छ । मुख्य रूपमा पढाइने विषयहरू अंग्रेजी, नेपाली, जनसंख्या शिक्षा र अर्थशास्त्र हुन् । क्याम्पस प्रमुखको पदमा पहिले स्थानीय सूर्यबहादुर कार्की थिए भने अहिले मुकेश थापा छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष पदमा शम्भु थापा छन् । क्याम्पस अहिले आफ्नै भवनमा चलेको छ । 

कटारीमा वनविज्ञान तथा कृषि क्याम्पसले स्वीकृतिसम्म पाएको छ । व्यवस्थित हुन बाँकी छ । वास्तवमा त्यो क्याम्पस कटारीका लागि गहना हुने छ । त्यो क्याम्पसका लागि चाहिने आठ बिघा जग्गा स्थानीय तवरबाट नै जुटाउनु पर्ने रहेछ । त्यो जग्गा किन्न स्थानीय जनताले सहयोग गर्नुपर्ने अवस्था छ । क्याम्पसले स्वीकृत गराउन कटारी, मरुवावासी माधवप्रसाद कोइरालाले गरेको प्रयास प्रशंसनीय छ । 

त्रिवेणी हाई–स्कूलबाट एस्.एल्.सी. उत्तीर्ण हुने विद्यार्थीहरूमध्ये विद्यावारिधि (पिएच्.डी.) गर्ने पहिलो व्यक्ति प्रा. रामकुमार दाहाल (राजनीतिशास्त्र) हुन् । पछिल्लो समयका प्रताप कार्की र होमनाथ लुइँटेलले पनि विद्यावारिधि गरेका छन् । ‘कटारी विद्यार्थी समाज’ का अध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष हुन् । ज्ञानेन्द्रमान सिंह राउत नैतिकतामा आधारित राजनीति गर्न चाहने एक बौद्धिक व्यक्तित्व हुन् । संजीव थापा नेपाल रेडक्रस सोसाइटीका वर्तमान केन्द्रीय अध्यक्ष हुन् । प्रकाशमानसिंह राउत सर्वोच्च अदालतका माननीय न्यायाधीश हुन् । धनुषावासी पूर्वमन्त्री मातृकाप्रसाद यादव हाल सांसद छन् । वेदप्रसाद पोखरेल जि.वि.स. उदयपुरका पूर्वसभापति हुन् । उनी उदयश्री क्याम्पसका संस्थापक अध्यक्ष पनि हुन् । लक्ष्मणकुमार थापा र गोविन्दबहादुर बानियाँले नेपाल सरकारका प्रथम श्रेणीका कर्मचारी भएर अवकाश पाइसकेका छन् । डिल्लीरमण दाहाल विद्युत प्राधिकरणमा उच्च पदमा कार्यरत छन् । संवैधानिक कानुनका विज्ञ काशीराज दाहाल प्रशासकीय अदालतका अध्यक्ष पदमा कार्यरत छन् । प्राध्यापन क्षेत्रमा अग्रणी रहेका रामप्रसाद दाहाल मोडर्न कन्या मल्टिपल क्याम्पस, वानेश्वरका प्रचार्य हुन् । तीर्थप्रसाद पोखरेल क्यास्पियन भ्याली कलेजका प्रिन्सिपल हुन् । खेमराज दाहाल कृषि विशेषज्ञ हुन् । अध्ययनमुखी चरित्र भएका रविन्द्रराजा शाही त्रियुगा बहुमुखी क्याम्पसका सहायक क्याम्पस चीफ हुन् । प्रज्ञा प्रतिष्ठानमा हाल प्राज्ञ रहेका मातृकाप्रसाद पोखरेल साहित्यिक फाँटमा कथा र कविताको सिर्जनामा अगाडि छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ कृष्ण शाह ‘यात्री’ नाटक लेखन तथा रङ्गमञ्चमा निर्देशन र अभिनयमा बेजोड छन् । उनी बाल–साहित्य सिर्जनामा पनि सक्रिय छन् । गणेश राई ‘कान्तिपुर’ दैनिकका वरिष्ठ उपसम्पादक हुन् । ‘साधना’ मासिकका सम्पादक लक्ष्मण अधिकारी हुन् । इच्छाराज तामाङ सिभिल होम्सका निर्देशक बनेर व्यवशायी जगतमा परिचित भएका हुन् । उनले विभिन्न ठाउँमा कोलोनी बनाएर भवन निर्माणमा आधुनिकतालाई प्रोत्साहन गरेका छन् । उनी सिभिल बैंकका वर्तमान अध्यक्ष छन् । उनी पूर्व सभासद पनि हुन् । ‘कटारी विद्यार्थी समाज’का सचिव बज्रमानसिंह थापा पेसाले इन्जिनियर हुन् र ‘कटारी विद्यार्थी समाज’ स्थापना गर्न उनको महत्त्वपूर्ण भूमिका रहेको छ । केशवप्रसाद कोइराला, मदन निरौला (सिए), भेषराज ढुङ्गाना, कमल थापा आदि लेखा व्यवशायी हुन् । जगतबहादुर कार्की, कृष्ण थापा आदि अधिवक्ता हुन् । सहकारी सञ्चालकमा सूर्यध्वज न्यौपाने स्थापित नाम हो भने नवराज कार्की, विश्वराज सापकोटा, अम्बिका थापा त्यस क्षेत्रका उदियमान व्यक्तित्व हुन् । राजेश श्रेष्ठ उदयपुर उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष हुन् ।

नयाँ संविधानका आधारमा २०७३ सालमा भएको स्थानीय तहको पुनर्गठनमा कटारी नगरपालिका १४ वटा वार्डहरू छन् । पुनर्गठनपूर्व पनि कटारी र त्रिवेणी गाविसलाई समेटेर कटारी नगरपालिका बनाइएको थियो । पछिल्लो पटक २०७४ सालमा भएको कटारी नगरपालिकाको निर्वाचनमा मेयर पदमा यसै माविका पूर्वविद्यार्थी ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । कटारी नगरपालिकाको वार्ड १, ३, ४, ५ का अध्यक्षहरू त्रिमाविका पूर्वविद्यार्थीहरू क्रमशः नवराज पोखरेल, रामबहादुर पोखरेल, कृष्णराज दनुवार र शंकरकुमार राई छन् । 

निजामति सेवामा अधिकृत तहमा कार्यरत हुनेहरू यमबहादुर खड्का, ध्रुवकुमार पोखरेल, विष्णुहरि उपाध्याय दाहाल, ईश्वरमणि पोखरेल, चुडामणि ढुङ्गाना नारायणप्रसाद कोइराला, टीकाराम धमला, निर्माणकुमार पोखरेल, ढुण्डीराज दाहाल आदि हुन् । प्रहरी संगठनतिर अधिकृत तहमा सेवारत रहनेहरू नवराज कार्की, शिवकुमार राउत, रिबाज दाहाल, सीताराम पौडेल आदि हुन् । चन्द्रमणि ढुङ्गाना इन्जियिरिङ शाखामा सेनामा मेजर छन् । उत्तम कटुवाल पनि सेनामा कार्यरत छन् । संस्थानमा उच्च तहमा रहेकामा हरिगोपाल अधिकारी, माधवप्रसाद बराल आदि हुन् । 

त्रिवेणी माविको सञ्चालक समितिको अध्यक्ष पदमा यसै विद्यालयका पूर्वविद्यार्थी हृदयबहादुर तामाङ छन् । 
त्रिमाविका पूर्वविद्यार्थीहरू जबुनलाल चौधरी र चक्रबहादुर राई ने.क.पा. (माओवादी) ले सञ्चालन गरेको जनयुद्ध कालमा सरकारी निकायबाट मृत्यु वरण गरी शहीद बनेका हुन् । ती शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली !
२०४० सालमा जनतालाई पत्रपत्रिका पढ्ने अवसर दिलाउने सोच राखेर स्थापना गरेका ‘न्यूज सेन्टर’ नाउँको संस्थाले पाठकहरूको संख्या न्यून भएका कारणले आफ्नो अस्तित्व जोगाउन सकेन । 
कटारी बजारमा च्भ्ब्म् नाउँको संस्था र स्थानीय जनताको सहयोगमा बनेको तीनतले भवनमा पुस्तकालय सञ्चालित छ । त्रिवेणी उ.मा.वि. कटारीमा पनि कलेज र माविका लागि एउटा पुस्तकालय छ । 

000

यो लेखको पहिलो खण्डमा समग्रमा अन्धकारपूर्ण नेपाली समाजको चित्रण गरिएको छ । दोस्रो खण्डमा उदयपुर जिल्लाको पश्चिमी क्षेत्रको पिछडिएको समाजले क्रमशः रूपान्तरण हुँदै चेतनाको फड्को मार्न थालेका गतिविधिहरू उल्लेख छन् । समाजमा चेतनाविहीन अवस्था अब धेरै समय टिक्न सक्तैन । कम्प्युटर र सञ्चार प्रविधिको अत्यधिक विकास भइसकेको अवस्था छ । तुलनात्मक रूपमा हामी पछि परेका भए पनि सभ्यता र सुशिक्षाले समाजमा उज्यालो छाउँदै गएको छ । शिक्षामा व्यावसायिक चेतना धेरै उठिसकेको छ । 

उदयपुर जिल्लाको पश्चिमोत्तर भेगमा चेतनाको बीजारोपण गर्न २०२४ सालमा शिक्षाको मशाल बालिएको थियो । त्यो मशाल ज्ञानको ज्योति बनेर समाजमा उज्यालो छर्दैछ । ज्ञानको मन्दिर त्रिवेणी हाई–स्कूल नै त्यो उज्ज्वल मशाल हो । आज त्रिवेणी हाई–स्कूलले आफ्नो स्थापनाको पचासौं वसन्त पार गरिसकेको छ । पचास वर्षको अवधि एउटा संस्थाको इतिहासका लागि लामो नभए पनि उल्लेखनीय भने अवश्य हो । त्यसमा काम गर्ने र त्यसबाट फाइदा पाउनेहरूका लागि पचास वर्षपछि संस्थाको गौरवपूर्ण उपलब्धि सम्झना आउनु स्वाभाविकै हो । यो पंक्तिका लेखकले आफू पढेको पञ्चावती हाई–स्कूल उदयपुरगढीले स्वर्ण र हिरक महोत्सव एकसाथ मनाउने काम २०६८ सालमा नै सम्पन्न गरेको हो । भन्नैपर्छ, त्यो स्कूल उदयपुर जिल्लाकै जेठो स्कूल हो । त्यसले आफ्नो गर्विलो उत्सव मनाएपछि नै जिल्लाभरिका अन्य स्कूलहरूमा पनि उत्सव मनाउने लहर नै चलेको छ । त्रिवेणी हाई–स्कूल पनि अपवाद हुने कुरा भएन । यसको स्वर्ण महोत्सव मनाउने योजनाको थालनी २०७४ साल असारदेखि नै विद्यालय व्यवस्थापन समितिले गरेको हो । यी पंक्तिका लेखकले पनि व्यवस्थापन समितिको त्यस बैठकमा उपस्थित भई यथोचित सुझाव दिने अवसर पाएको हो । त्यही बैठकमा अनौपचारिक रूपमा यी पंक्तिका लेखकसँग स्मारिका सम्पादन गरिदिन अनुरोध गरिएको हो । औपचारिक पत्र पाएपछि गरिएको बाँकी काम स्मारिकाले नै बोल्छ र पाठकहरूले नै मूल्याङ्कन गर्ने छन् । अस्तु । 

सन्दर्भ पुस्तक र पत्रिकाहरू

. कटारी स्मारिका, २०६९ कटारी विद्यार्थी समाज, काठमाडौं
२. पञ्चावती स्मारिका, २०६५ प्रकाशकः पञ्चावती सद्भाव समाज, काठमाडौं
३. मेरो जीवनयात्रा : अनुभव र अनुभूति, लेखक : नयनबहादुर खत्री
४. त्रिमाविको तथ्याङ्क र उपलब्धि पुस्तिका 

सुझाव दिने व्यक्तिहरू

१.स्व. रुद्रबहादुर थापा कटारी 
२.स्व. मोहनप्रसाद श्रेष्ठ 
३. बलबहादुर राउत
४. लक्ष्मण शाही 
५. ज्ञानेन्द्रमानसिंह राउत
६. मातृका पोखरेल
७. बोधकुमार घिमिरे
८. मोहनप्रसाद दाहाल
९. अर्जुन कार्की
१०. अम्बरबहादुर राउत
११. शिवकुमार राउत
१२. भरतकुमार थापा 
१३. धनकुमार दनुवार


Wednesday, December 27, 2017

उदयपुरगढी, पञ्चावती मा.वि. र म - विश्वराज ढुङ्गाना


उदयपुर जिल्लाको भौगोलिक अवस्थिति २६० ३९’ ‘देखि २७० १’ १०” उत्तर अक्षांश र ८६० ०’ ९” देखि ८७० १’ पूर्व देशान्तर हो । यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग कि.मी. छ । यहाँ सरदर २१५२ मी.मी. वर्षा हुन्छ । यस जिल्लाको ६० प्रतिशत भूभाग पहाडले ओगटेको छ । यहाँको हालको जनसङ्ख्या लगभग ३,५०,००० र वार्षिक जनसङ्ख्या बृद्धिदर २.६३ छ । 

यस जिल्लाभित्रका मनोरम प्राकृतिक दृश्यहरूमा मानेडाँडा झर्ना (१५६ मी) उपल्लो श्रेणीमा पर्दछ भने  खुवाके, छाताङ र बतासे छाँगाहरू पनि कम आकर्षक छैनन् । चर्चित पर्यटकीय स्थलमा रौता पोखरी (१८०० मी) मानिन्छ । त्यहाँबाट उत्तर र दक्षिणका अनुपम दृश्यहरू अवलोकन गर्न सकिन्छ । त्यहाँ रौतामाईको सानो मन्दिर र एउटा थोत्रे धर्मशाला छ । अन्य केही सुबिधा छैन । त्यहाँको पोखरीमा पातपतिङ्गर परे चराले नै टिपेर फाल्छन् भनिन्छ । पानीमा फोहोर पटक्कै हुँदैन । ताप्ली पोखरी पनि दृश्यावलोकनका लागि उपयुक्त नै छ । चौदण्डीगढी, उदयपुरगढी बेलका तरी, मैनारानी (पार्वती) को मन्दिर र सिद्धगुफा  ऐतिहासिक एवम् पुरातात्विक दृष्टिले महत्वपूर्ण छन् । बेलकातरी (बेलको जङ्गल) प्राचीन थुलुङवंशी किराँत राजाहरूको शासकीय केन्द्र भएको अनुमान गरिन्छ । जमिन तथा चिहान खन्ने खोतल्ने गरेर त्यहाँबाट अनेकौँ जीमाला, सिमाला र बहुमूल्य पत्थरहरू बेपत्ता पार्ने कामा तीव्र रूपमा भइआएको छ । मैनामैनी पनि प्राचीन किराँत सभ्यता औ संस्कृतिको आधारक्षेत्र मानिन्छ । ‘सुम्निमा’को कथाको परिवेश पनि त्यही हो । सुदूर पूर्वी क्षेत्रको रामपुर बजारबाट चारपाँच घण्टाको उकालो यात्रापछि पुगिने टंकेला अचम्म औ अनुसन्धानयोग्य भौगर्भिक बनोटले युक्त छ । स्थानीय भाषामा टंकेलाको अर्थ ताराको गुहु लाग्छ, तर स्थानीय जनता भने विशाल ढुङ्गाहरूलाई कलात्मक ढङ्गले चिल्लो पारेर भित्रभित्रै गुप्ती बाटा र कोठाहरूभएको संरचनालाई उल्का हिँड्ने बाटो भन्छन् । टंकेला के प्रयोजनका लागि कसले, कहिले तयार ग¥यो खोजी हुनु आवश्यक छ । गाउँलेहरू ५० मी. भित्रसम्म पसेको बताउँछन्, तर त्यो सुरुङ पूरै छिचोल्न अझै सकिएको छैन । १९९० र २०४५ सालका भुइँचालाले टंकेलालाई निकै क्षतिग्रस्त पारेका छन् ।   

किम्वदन्तीअनुसार प्राचीन राजा उदयसिंहको थातथलो मानिन्छ उदयपुर । यो जानकारी कर्ण परम्परामा आधारित छ । तिनै उदयसिंहको नाउँबाट उदयपुर नामकरण भएको हो भन्ने जनश्रुति छ । माटेखोलापारि घ्याम्पाथुम्काभन्दा तल खानीडाँडा पाखामा चारपाटे पहरो देखिने गरी बाहिर निस्केको छ । त्यस पहराको सिरान मान्छे बस्न मिल्ने खालको छ । श्रद्धालुहरू जलाहारसमेत नगरी मौन रहेर आफ्ना मनोकामना पूरा हुने विश्वासमा २१ वटा प्रदोषव्रत लिई पहराको वरिपरि घुम्ने गर्दछन् । त्यो पहरालाई लोककथाका राजा उदयसिंहको दरबारको प्रतीक मानेर नै श्रद्धा गरिएको हो । 

भीमसेन थापाका पालामा नेपाललाई ३५ गौंडा, ५ छोटी गौडा र ३ गढीमा विभाजन गरियो । त्यसबेला उदयपुर पनि एउटा गढी दर्जाको प्रशासकीय एकाइ बनेको हो । अन्य दुई गढीहरू चिसापानीगढी र मकवानपुरगढी हुन् । ‘गढ’ शब्द संस्कृत भाषाको ‘गड’ शब्दबाट अपभ्रंश भई प्रचलनमा अएको हो । ‘गढ’ शब्दको अर्थ हो— प्राचीन राज्य व्यवस्थाको सुरक्षाको बन्दोबस्त मिलाउने ठाउँ वा गौँडो । यस्ता गढहरूमा सेना वा हातहतियार तैनाथ गरिन्थे । ‘गढ’ शब्दमा ‘ई’ प्रत्यय थपिएर नै ‘गढी’ बनेको हो र ‘गढी’ शब्दको अर्थको सामन्जस्यता ‘गढ’सँग नै मिल्दछ, यद्यपि ‘गढ’भन्दा ‘गढी’ले शाब्दिक रूपमा अलि सानो स्वरूपको चिनारी दिन्छ । वरिपरि होचो भूभाग भएको थुम्कोजस्तो हुनाले नै उदयपुरगढीलाई तत्कालीन प्रशासकहरूले गढी बनाउन उपयुक्त ठानेका हुनुपर्छ । अर्को कुरा, औलो लाग्ने जमानामा उदयपुर औलोमुक्त क्षेत्र पनि हो । त्यसैले उदयपुरले गढीको मान्यता पाएको कुरा सहजै अनुमान गर्न सकिन्छ । पछिल्लो समयमा चर्चित उदयपुरगढीभन्दा १ कि. मि. उत्तरपट्टि पुरानोगढी भन्ने ठाउँ छ । त्यहाँ इँटका पुराना अवशेष पनि पाइन्छन् । स्पष्ट छ, त्यहाँ पनि कुनै समय गढीको संरचना अवश्य थियो । यो पनि खोजीको विषय बनेको छ । रिस्कूको हाल मा. वि. चलिरहेको ठाउँभन्दा उत्तरपट्टि माकुरे गाउँभन्दा माथि डाँडामा अलि टार परेको भित्तेचुली भन्ने ठाउँ छ । त्यहाँ पनि कुनै समयमा बस्ती थियो भन्ने कुरा त्यहाँ पाइने घरेलु प्रयोगका सामग्रीको पहिचानबाट अनुमान गर्न सकिन्छ । तीनतलेदेखि उत्तरपश्चिमको औलोमुक्त डाँडो मरजेदपुरमा पूर्वकालमा राजा मरजेदसिंहको राज्य थियो भन्ने पछिल्ला अनुसन्धाताहरूको निक्र्यौल छ । मरजेदसिंह राजाको मुकामचाहिँ रिस्कूमाडी थियो भनिन्छ । यसबारेमा खोजी कार्य अघि बढोस् भन्ने अभिप्रायले यी पङ्क्ति कोरिएका हुन् ।    

पाल्पाका शक्तिशाली राजा मुकुन्दसेन (सं १५१८—१५५३) ले आफ्नो जीवनकालमा नै आपूmले विस्तार गरेको विशाल एवम् समृद्धशाली राज्य चार भाइ छोराहरूलाई वितरण गरिदिए । फलस्वरूप मकवानपुरका राजा लोहाङसेन बने । सन् १७३५ ताका तिनै राजा लोहाङसेनका सन्तान मानिकसेनले मकवानपुरलाई आफ्ना दुई छोराहरू हेमकर्णसेन र जगतसेनले शासन गर्न पाउने गरी बाँडिदिए । यसरी हेमकर्णसेन मकवानपुरको पश्चिमी प्रदेशका शासक बने भने पूर्वी प्रदेश चौदण्डीको शासनाधिकार जगतसेनले पाए । यसरी चौदण्डीका प्रथम राजा जगतसेन बने । त्यसबेला चौदण्डी राज्यभित्र कोशी र कमलाबीचको तराई प्रदेश र सुनकोशीदेखि दक्षिण, महाभारतदेखि उत्तरपट्टिको सम्पूर्ण किँरात एवम् मगरातक्षेत्र सम्मिलित थियो । सिन्धुलीको पौवागढीदेखि पूर्व, अरूण कोशीसम्मको भूमि चौदण्डी राज्यको अङ्ग बनेको थियो । राजा जगतसेनले आफ्नो शासन संचालनमा किँरातीहरूलाई सम्मानजनक भूमिका दिएका थिए । चौदण्डी राज्यको उत्तरी क्षेत्रमा किँरातहरूको बस्ती बढी थियो । जगतसेन महाभारतदक्षिणको भागको शासनमा बढीँ चासो लिन्थे भने महाभारतउत्तरको क्षेत्रमा किराँती मन्त्रीहरूले प्रशासनिक नियन्त्रण कायम राखेका थिए । सौहाद्र्रपूर्ण द्वैध शासनको नमुना बनेको थियो चौदण्डी । कोशीउत्तरको प्रदेशलाई माझकिराँत भनिन्थ्यो । चौदण्डी र माझकिराँत राज्यको बारेमा इतिहासकारहरू एकमत छैनन् । कोही त्यसबेला माझकिराँत स्वतन्त्र राज्य थियो भन्दछन् भने कोही चौदण्डी राज्यअन्तर्गतको प्रशासनिक अङ्ग ठान्दछन् । कोशीपूर्वको राज्य विजयनगरमा भने राजा सेनवंशी र मन्त्री किराँती नै थिए । तर त्यहाँ राजा र मन्त्रीमा बेलाबेलामा द्वन्द्व भइरहन्थ्यो । त्यसैले विजयनगरमा अस्थिरता छाइरहन्थ्यो ।

जगतसेनपछि उनका उत्तराधिकारीहरू क्रमशः मुकुन्दसेन (तेस्रो), विक्रमसेन र कर्णसेन चौदण्डीका राजा भए । यसरी चौदण्डीको राज्यको रूपमा उदय भएपछि जम्मा चारवटा सेनवंशी राजाहरूले शासन गरे । अन्तिम राजा कर्णसेनको पालामा उनका प्रमुख कर्मचारी स्वरूपसिंह कार्की कलिलै उमेरमा अत्यन्त तीक्ष्ण दिमागका देखिए । उनी निकै महत्वाकाङ्क्षी पनि थिए । उनको मन्त्री (चौतारा) अजित राईसँग मनमुटाव भयो । त्यसपछि उनी चौदण्डी छोडेर पृथ्वीनाराण शाहसँग मिल्न पुगे । पृथ्वीनाराण शाहले पनि उनको क्षमता पहिचान गरी आफ्नो सेनामा उच्च दर्जा प्रदान गरे । स्वरूपसिंह कार्कीको पलायनले चौदण्डीको पतन सन्निकट बन्यो भने खार्पाली धनाढ्य त्रिलोचन उपाध्याय र हरिनन्दन उपाध्यायको असन्तुष्टिले चौदण्डीको अखण्डता सुरक्षित रहन असंम्भवप्रायः बनिसकेको थियो । एकातिर पृथ्वीनाराण शाहको अदम्य सैनिक अभियान आफ्नो शिखरमा थियो भने चौदण्डीका शासक कर्णसेन आफ्ना भारदारहरूका बीचमा मेल गराउन असफल भएर आफ्नो दुर्दिन निम्त्याउन थालिसकेका थिए ।
उपत्यकामा आफ्नो नियन्त्रण कायम गरिसकेपछि पृथ्वीनाराण शाहको ध्यान पूर्वतर्फ केन्द्रित भयो । उनले सरदार रामकृष्ण कुँवर र सरदार अमरसिंह थापालाई माझकिराँत कब्जा गर्न पठाए । अरूले गोर्खाली सेनाको अधीनता सजिलै स्वीकार गरे, तर खुम्बुलेहरू आफ्नो बुताले भ्याएसम्म लडे । अन्त्यमा उनीहरू पनि गोर्खाली सेनाद्वारा परास्त भए । यसरी सं. १७७३ को जनवरीमा माझकिराँत गोर्खालीहरूको अधीनमा आयो । गोर्खाली सेनाले चौदण्डी राज्यको किराँतक्षेत्रमाथि पनि एक महिनाभित्रमा नै नियन्त्रण कायम ग¥यो । 

पृथ्वीनाराण शाहले माझकिराँत कब्जा नहुन्जेल भरखरै अधीनस्थ गरेको मकवानपुरमा नै रहने गरी चौदण्डी राज्यको तराई क्षेत्रलाई विशाल नेपालको अङ्ग बनाउने जिम्मेवारी काजी अभिमानसिंह बस्नेत र सरदार पारथ भण्डारीलाई सुम्पेका थिए । माझकिराँतको पतनपछि नै चौदण्डीको पालो आउने कुरामा कुनै शङ्का थिएन ।
उता विजयनगर राज्यमा दिवान (मन्त्री) बुद्धिकर्ण राईले भोटेहरूद्वारा आफ्ना राजा कामदत्तसेनको हत्या गराए । त्यसपछि तिनै राईको आग्रहमा चौदण्डीका राजा कर्णसेन विजयपुरका पनि राजा बने, तर शासनको मूल बागडोर बुद्धिकर्ण राईकै हातमा थियो । कामदत्तसेन पृथ्वीनारायण शाहका ससुरालीतर्फका नाता पर्थे । त्यसैले पृथ्वीनारायण शाह बुद्धिकर्ण राईसँग क्रुद्ध थिए र उनीसँग कामदत्तसेनको हत्याको प्रतिशोध लिन चाहन्थे । उता कर्णसेन पनि आफ्नो पुख्र्यौली राज्य मकवानपुरलाई पृथ्वीनारायण शाहले कब्जा गरेकाले रिसले मुर्मुरिएका थिए । उनले उपत्यकामा रहेका पृथ्वीनारायण शाहलाई हत्या गर्ने असफल प्रयत्न पनि गरे । फलस्वरूप पृथ्वीनारायण शाह कर्णसेनसँग पनि बदला लिन आतुर थिए । यसरी पृथ्वीनारायण शाह र कर्णसेनको बीचमा युद्ध हुनु अनिवार्य भैसकेको थियो । सरदार अभिमानसिंह वस्नेत र पारथ भण्डारीको नेतृत्वको सेनाले १६ जुलाई सं.१७७३ मा सामान्य युद्धबाट चौदण्डी कब्जा ग¥यो । कर्णसेन गोर्खाली सेनाको डरले पहिले नै भागेर विजयपुर गए । 

लगभग एक वर्षसम्म स्थिति अध्ययन गरेपछि पृथ्वीनारायण शाहले आफ्नो सेनालाई विजयपुर कब्जा गर्न निर्देशन दिए । कर्णसेन त्यहाँबाट पनि भागेर पूर्णिया पुगिसकेका थिए भने मन्त्री बुद्धिकर्ण राई पनि  गोर्खाली सेनासँग परास्त हुने निश्चित देखेर भारततिर नै लागे । कसैकसैले कर्णसेन र बुद्धिकर्ण राई सुमी (सिक्किम)का राजाका शरणमा पुगे भनेका छन् । यसरी विजयपुर १७ जुलाई सं. १७७४ मा गोर्खालीको मातहतमा आयो । पृथ्वीनारायण शाहबाट किपट–प्रथा कायम राखिदिने आश्वासन पाएपछि लिम्बुवान राज्यले पनि स्वेछाले नेपाल राज्यको अधीनता स्वीकार ग¥यो ।

पृथ्वीनारायण शाहले बृहत् नेपाललाई काठमाडौं उपत्यकाबाहेक जम्मा १२ विस्तृत क्षेत्र (जिल्ला) मा बाँडेका थिए । चौदण्डीगढी ती क्षेत्रहरूमध्ये एक थियो । त्यो जिल्लाको प्रशासनिक केन्द्र पनि थियो । पछि उदयपुरलाई नै जिल्लाको मान्यता दिइयो र सुदूर पूर्वमा पर्ने चौदण्डीगढी स्थित प्रशासनिक केन्द्र वि.सं. १८७२ को मंसिर महिनामा उदयपुरगढीमा सारियो । त्यसबेला  अड्डा माईथानभन्दा केही उत्तरपट्टि भवनहरू बनाएर कायम गरिएको थियो । पछि के कारणले हो लगभग १ कि.मी. दक्षिणमा पर्ने उटाकिलो ठाउँमा स्थापित गरियो । त्यहाँबाट दक्षिणपट्टि टाढाटाढासम्म देखिने हुनाले त्यो ठाउँ छनौटमा परेको हुनुपर्छ । अहिले पनि पहिले अड्डा कायम गरिएको ठाउँलाई ‘पुरानो गढी’ भनिन्छ । त्यहाँ भवनका पुराना अवशेषहरू अझै पनि पाइन्छन् । सुरक्षाका दृष्टिले त्यो निर्णय स्वाभाविक नै थियो । चौदण्डीगढी हालको उदयपुर जिल्लाको सदरमुकाम गाईघाटबाट २७ कि.मी. पूर्व महाभारत शृङ्खलामा पर्दछ । त्यहाँ पुराना भग्नावशेषहरू अझै छन् । तर दरबारको भने चिनो पनि छैन । ४ रोपनी जग्गा ओगटेको दुर्ग पहाडको टुप्पामा छ । त्यहाँबाट उत्तर–दक्षिणको दृश्यावलोकन गर्न सकिन्छ । प्रचारप्रसार र संरक्षणको कमीले त्यो ठाउँ पर्यटकीय क्षेत्र बन्न सकेको छैन । 
जिल्लाको प्रशासन सञ्चालन गर्ने प्रमुख दायित्व ‘बडाहाकिम’लाई सुम्पिएको हुन्थ्यो । अड्डा चौदण्डीगढीबाट उदयपुरगढीमा सरेपछि जिल्लाका पहिला बडाहाकिम सरदार बलभद्र ज्यू ठकुरी थिए । बडाहाकिम केन्द्रका विश्वासपात्र र नजिकका नातेदार नै हुन्थे । सरदार बलभद्रजीले ३ वर्ष बडाहाकिमी चलाएपछि कप्तान हरिभक्त खवास, कप्तान टीकावीर खत्री र कप्तान बजिबरण थापा क्षेत्रीले १४ वर्ष आफ्नो प्रशासकीय दायित्व निर्वाह गरे । सरदार बलभद्र ज्यू ठकुरीको घर गोर्खा थियो । उनलाई अघिल्लोपल्ट बडाहाकिम भएबापतको जागिरस्वरूप उदयपुर जिल्लाको थुम रामपुरका जग्गा दिइएको थियो । उनी पुनः वि.सं. १८८७ मा बडाहाकिम पद सम्हाल्न आए । ‘लोकमञ्जरी’ भन्ने काव्यात्मक ग्रन्थका रचयिता लोकनाथ पोखरेलजीले आफ्ना हजुरबाबाट प्राप्त जानकारीलाई आधार मानेर सरदार बलभद्र ज्यू ठकुरीको पहिलो कार्यकाल नै उदयपुरगढीमा नै बितेको भनी ठोकुवा गर्नुभएको छ । यस विषयमा अन्वेषक बालकृष्ण पोखरेलजी पनि आफ्ना हजुरबाको भनाइ भनी अड्डा उदयपुर सरेको मिति वि.स. १८७२ लाई नै सदर गर्नुहुन्छ । पूर्वी राज्यहरू विजय गर्ने अभियानमा नेपालीहरूको गोर्खेलौरी र गोर्खेठ्याकको मारमा परेका थुप्रै टाठाबाठा उदयपुरवासीहरू शरणार्थी बनेर कोही अरूणपा¥या (लखेटिएर अरूण कोसीपारि पु¥याइएकाहरू), कोही सुखिमवासी (धपिएर हालको सिक्किममा पुगेकाहरू) भए । बडाहाकिम सरदार बलभद्र ज्यूले जिल्लामा बुद्धि भएका मानिसहरूको ज्यादै अभाव देखेर भगोडा रैतीहरूलाई फर्काउन सरकारसँग अनुमति प्राप्त गरे, अनि रामु पाध्यायका नाति जयपति र उनका आफन्तहरूलाई ससम्मान पुनस्र्थापना गर्ने आश्वासन दिएर बोलाउन आफ्ना दूतहरू पठाए । जयपति पनि बडाहाकिममाथि विश्वास गरेर फर्के । बडाहाकिमले फर्केका जयपति आदि रैतीहरूलाई रामपुर थुममा पुनर्वासको व्यवस्था गरिदिनुका साथै हालको सुनसरीमा प्रशस्त जग्गा भोग गर्न पाउने अनुकूल परिस्थिति पनि मिलाइदिए । उनले जयपतिको हैसियत राम्ररी बुझेर नै उनीसँग मीत पनि लगाए । अहिलेसम्म पनि जयपतिका सन्तान सम्पन्न नै छन् । पछि आउनेहरू हुस्सू बनेछन् । 

वि.सं. १८९९ मा बडाहाकिम हुने लिम्पाटार निवासी कप्तान जयकृष्ण मगर थिए । मगर समुदायको व्यक्ति बडाहाकिम हुनु चानचुने उपलब्धि हैन । उनले तत्कालीन राजालाई राम्ररी नै रिझाएका रहेछन् । उनी निःसन्तानी भएकाले उनका उत्तराधिकारीहरूको कथा टुङ्गियो । वि.सं. १९१० मा बडाहाकिम भै आएका तिल्पुङ निवासी कप्तान भीममल्ल आले मगरले नै उदयपुरगढीमा पञ्चावती माईको थान निर्माण गरे । उनको कीर्ति अझसम्म जीवित छ । उदयपुरगढीदेखि उत्तर–पश्चिम दिशामा पर्ने बढरेखोलाको किनारको पाखो नै पञ्चावती माईको उद्गमस्थल हो भनिन्छ । त्यहाँ खन्दा भेटिएको मूर्तिको आकारको ढुङ्गोको माथिल्लो भाग काटेर उदयपुरगढीमा ल्याई मन्दिर बनाएर स्थापना गरिएको हो भन्ने स्थानीय बूढापाकाहरूको ठहर छ । अहिले पनि त्यो पुरानो ठाउँमा रहेको पञ्चावतीको अवशेषलाई श्रद्धापूर्वक देवीथान भनेर पूजा गरिँदै छ । त्यो ठाउँभन्दा अलि तल हाडेटार भन्ने ठाउँमा शिवलिङ्गसहितको एक गुफा छ । श्रद्धालुहरू परम्परागत रूपमा नै त्यहाँ विभिन्न पर्वहरूमा भेला हुने गर्छन् । भनौँ, त्यहाँ ससानो मेला नै लाग्छ । 

गोरखा घर हुने कप्तान सम्शेरजंगले आफ्नो १० बर्षे कार्यकालमा टुँडिखेलमा सरस्वती र गणेशको मूर्ति स्थापना गरे । उनले खाने पानीका धाराहरू पनि निर्माण गरे । माईथानको वरिपरि इँटको पर्खाल लगाउने कार्य उनैबाट सम्पन्न भएको हो । उनले पञ्चावती माईको मन्दिरमा एउटा राम्रो घण्टा पनि चढाएका थिए ।

त्यसपछि बडाहाकिम हुने कप्तान भीमविक्रमले पनि पञ्चावतीमा एउटा घण्टा चढाए । भीमविक्रमका उत्तराधिकारी बनेर आएका हरिलाल ब्राह्मणले ७ वर्ष उदयपुर जिल्लाका बडाहाकिम भएर काम गरे । उनले चियाबारीमा चियाको कमान चलाएर ठूलो कीर्ति राखे । अहिले त्यहाँ चियाखेती त छैन, तर चियाबारी भन्ने ठाउँ छँदैछ । त्यो चिया खेतीलाई प्रोत्साहन दिएर खेती गर्ने काममा स्थानीय आम्बोटे गाउँ निवासी नीलकण्ठ ढुङ्गानाको पनि ठूलो भूमिका थियो । अन्वेषक बालकृष्ण पोखरेलज्यू भने चियाबारीको चियाकमान सुरुवात गर्ने सम्पूर्ण जस नीलकण्ठ ढुङ्गानालाई दिन चाहनुहुन्छ । नीलकण्ठ अत्यन्त प्रभावशाली जमिन्दार थिए । उनका छोरा सुबेदार जयकृष्णको एउटा मौजा जयनगर सुगौली सन्धिपछि भारतमा पर्न गएको थियो भनिन्छ । तिनले भागेर पूर्व भासिएका सुखिमबास्याहरू फर्केर आएपछि तिनीहरूको सीपलाई उपयोग गरेर चियाखेती गरेको हुनसक्छ । उनले बडाहाकिमको सद्भावना पाएको कुरामा शङ्का गर्ने ठाउँ रहेन । 

उदयपुरमा बडाहाकिम भै आउनेहरूमा कर्नेल जितबहादुर खत्रीको नाउँ निकै चर्चित छ । उनको कार्यकाल वि.सं. १९७२ भन्दा पछि रहेको देखिन्छ । उनी अनुशासनप्रेमी थिए । उनले खानेपानीका धारा, बाटोघाटो पनि बनाए । उनको नाउँ कुँदिएका घण्टहरू माईथान र सरस्वतिथानमा झुन्ड्याएका थिए । काम गर्ने हाकिम भनिन्थ्यो । उनको क्षमतालाई कदर गरेर तत्कालीन श्री ३ चन्द्रशमशेरले उदयपुर र मोरङ दुवै जिल्लाका बडाहाकिम नियुक्त गरेका थिए । त्यसैले उनी बराबर दुवै जिल्ला दौडाहा गरिरहन्थे । सप्तरीमा सिँचाइ गर्न बनाइएको चन्द्रनहरको निर्माणको रेखदेख गर्ने जिम्मेवारी पनि चन्द्रशमशेरले उनैलाई सुुुुम्पेका थिए । बडाहाकिम जितबहादुरले मोरङको घोघा नदीमा बाँध कसेर तीनपैनी बनाए । उनलाई त्यस निर्माण कार्यमा सघाउने उनका प्राइभेट सेक्रेटरी रामपुरवासी नैनध्वज ज्यू ठकुरी थिए । कर्नेलकै कृपाबाट उनले डिट्ठाको अनौपचारिक पदवी पनि पाएका हुन् । आपूmले आर्जन गरेको अकूत सम्पत्तिको सरकारी तवरबाट खोजी हुने बुझेपछि कर्नेलले आत्महत्या गरे । उनकै कृपाबाट नैनध्वज ठकुरी थुम रामपुरभरि गतिलो सामन्तले भोग्ने शान र ऐश्वर्ययुक्त जीवन बाँचे ।

त्यस्ता शक्तिशाली बडाहाकिम जितबहादुर खत्रीसँग उदयपुरको लिम्पाटार घर भएका खुँखार सामन्त सुब्बा दलबहादुर थापाको टक्कर परेछ । उनले कटारीमा मरेको दनुवारको लास राति नै लगेर बडाहाकिम जितबहादुरको निवास छेउको ठूलो रूखमा झुन्ड्याइदिए र बडाहाकमलाई नै ज्यान मारेको आरोप लगाए । अर्कोतिर बडाहाकिमकहाँ भान्से बसेकी बाहुनी मरेकीमा पनि बडाहाकिमले नै बिष हालेर मारेको भनी सुब्बा दलबहादुरले दोष लाएर उजुर गरे, अनि आपूmचाहिँ सिराहा जिल्लाको बन्दीपुरमा लुकेर बसे । सुराकीबाट उनी लुकेको ठाउँको सुइँको पाएर बडाहाकिमले उनलाई पक्राउ गरी उदयपुरगढी ल्याए । अड्डामा बयान गर्न दलबहादुरले इन्कार गरे । अनि उनी काठमाडौँ चलान भए । काठमाडौँमा उनलाई ५ बर्ष जेल हाल्ने फैसला भयो । जेल बसी त्यो अवधि भुक्तानी गरेर दलबहादुर पुनः घर फर्के । कसैलाई नटेर्ने, साहसी, घमण्डी, धूर्त र राम्रो कानुनी दखल भएका सुब्बा दलबहादुर अरू ठिनेमिने सामन्त र हुनेखाने व्यक्तिहरूको धनसम्पत्ति लुटेर खाइदिन्थे । उनीमाथि लुटपिटका अनेकौंँ उजुर परे । त्यसबेला खोटाङबाट उदयपुर झरेका सामन्त लप्टन कुल्लिब गिरी पनि दलबहादुर थापाबाट आतंकित थिए । उनी प्रशस्त धनीमानीमा गन्ती हुन्थे । उनले दलबहादुर थापालाई तह लगाउन निकै ठूलो धनराशि छुट्ट्याएका थिए रे । अन्तमा दलबहादुर थापा पक्राउ परे । उनीमाथि श्री ३ ले मात्र लेख्न पाउने ब्यहोराको पतिया आदेश लेखी दिएर प्रशस्त धन हात पारेको आरोप थियो । उनको मुद्दाको फैसला गर्ने बेलामा भने बडाहाकिम एकनाथ अर्याल थिए । दलबहादुर थापा वि.सं. १९८० मा काठमाडौँ चलान भए र उहीँ जेलमै मरे । दलबहादुर थापाको आतंकलाई नजिकबाट देखीजान्ने वा सुनीजान्नेहरूमध्ये अज्ञात व्यक्तिको टिप्पणी यस्तो थियो –

उदयपुरका    मुसा,    राजदहको    खर ।
कुल्लिव गिरीको सम्पत्ति, दलबहादुरको डर ।। 

पाठकहरू आफैँ अनुमान गर्नोस् — ज्यानभने लुरे परेका ती थापाकाजीको चर्तिकला ! तिनले आफ्नो क्षमता मानवहितमा प्रयोग गरेका भए निकै गर्नसक्थे होलान् । तर विधिलाई त्यो कुरा मञ्जुर थिएन ! 
 वीरशमशेरले नेपाललाई ३५ जिल्लामा बाँडेका थिए । उदयपुर पनि एउटा जिल्ला नै थियो । जुद्धशमशेरले आम्दानी र जनसङ्ख्याका आधारमा पुनः जिल्लाहरूको वर्गीकरण गरे । उनले नेपालमा ३२ जिल्ला कायम गरे र ती जिल्लाहरू ‘क’, ‘ख’ र ‘ग’ श्रेणीमा विभाजित गरिए । उदयपुर ‘ग’ श्रेणीमा प¥यो । २०१८ सालमा विभाजित गरिएका ७५ विकास–जिल्लाहरूमा पनि उदयपुरले सगरमाथा अञ्चलअन्तर्गतको एक जिल्लाको रूपमा मान्यता पायो । 

उदयपुरगढी करिब १५५ वर्षसम्म उदयपुर जिल्ल।को सदरमुकाम रह्यो । जिल्लाका मुख्य प्रशासक बडाहाकिम हुन्थे । यो पद २०२४ सालसम्म कायम थियो । त्यसपछि प्रमुख प्रशासकलाई कतै विशेष अधिकृत, कतै सहायक–अञ्चलाधीश भनियो । अन्तमा प्र. जि. अ. पदचाहिँ स्थायी रह्यो । त्यो आज पनि यथावत छ । 
भित्री मधेशमा औलो रोग नियन्त्रण हुनथालेपछि जिल्लाका केन्द्रसम्म पहुँच भएका धनाढ्य व्यक्तिहरूको प्रयासले २०२८ साल जेठ ९ गते सरकारले उदयपुर जिल्लाको सदरमुकाम त्रियुगा उपत्यकाको गाईघाट बोक्सेमा स्थानान्तरण ग¥यो । त्यो कारुणिक दृश्य हेर्ने हतभागीहरूमध्ये म पनि एक हुँ । त्यसपछि उदयपुरगढीको आत्मा नै चुँडिएजस्तो भएको छ । जिल्लाको सदरमुकाम त्यहीँ नै रहेको भए उदयपुर जिल्लाको विकट उत्तर–पश्चिमी क्षेत्रको विकास पक्कै पनि हुने थियो । केले हो दिएन । आशादीप बलेन । पछौटे क्षेत्रले केही पाउने अवसर गुमायो । अब दुखेसो पोख्नुको पनि कुनै अर्थ छैन । 

प्रजातान्त्रिक आन्दोलनमा उदयपुरको चेतना निधार खुम्च्याउनुपर्ने खालको छैन । ब्रिटिश भारतको सेनामा काम गरेका डुम्रे, गजेथुम्काका मोहनसिंह ग्राङ्जा मगरले भारत स्वतन्त्र भैसकेपछि कलकत्तामा ९ अप्रिल, १९५० का दिन कांग्रेसका नेता सूर्यप्रसाद उपाध्यायको उत्तेजक भाषण सुनेछन् । त्यसपछि उनमा पनि नेपालबाट राणाशासन उखाडेर फाल्नुपर्ने चेतना जागृत भयो । उनी वि. पी. कोइरालासँग पनि भेट गरेर कांग्रेस पार्टीमा लागी प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुन प्रतिबद्ध भए । उनकै प्रेरणा पाएर ब्रिटिश भारतको सेनाको जागिर छोडेर दरभङ्गातिर बसेका गम्भीरबहादुर थापा पनि नेपाली कांग्रेसका सदस्य बनी क्रान्तिमा संलग्न भए । मोहनसिंहकै प्रयासले गजेथुम्कावासी थुप्रै युवाहरू क्रान्तिमा भाग लिन उत्प्रेरित भए । मोहनसिंहको पुरानो नाउँ टंक बहादुर थियो । नेताहरूले उनमा तत्कालीन श्री ३ मोहन शमशेरको जस्तो शान र छवि उत्पन्न होस् भन्ने कामना गरेर नै मोहनसिंह नाउँ राखी उत्साह जगाउने प्रयत्न गरेका थिए । 
२००७ साल असार महिनामा डुम्रे गाउँतिर कांग्रेस समर्थक पर्चा छरेको थाहा पाई राष्ट्रविरोधी संगठन गरेको आरोपमा गजेथुम्काका मोहनसिंह ग्राङ्जा मगरलगायत त्यही गाउँका अरू पाँचसात जना पक्राउ परे । उनीहरूलाई हतकडी लगाएर जेल हालियो । जेलमा हुँदा मोहनसिंहले काका शमशेरबहादुरमार्फत बाहिरबाट अकबरे खोर्सानीको धूलो मगाए, अनि त्यो धूलो झुक्क्याएर जेलगार्डका आँखामा हाली फरार भए । त्यो घटना नै उदयपुर जिल्लाका क्रान्तिकारी युवाहरूको पहिलो साहसिक कार्य थियो ।  
२००७ साल असोज महिनामा भुट्टार गा.वि.स.अन्तर्गतको ओख्रेनीमा मेहरमान कार्किको घरमा उदयपुर अड्रडा कब्जा गर्ने योजनाका बारेमा छलफल गर्न नेता मोहनसिंह मगरको अगुवाइमा भेला भएका व्यक्तिहरूको संक्षिप्त जानकारी यसप्रकार छ —
१. मोहनसिंह ग्राङ्जा मगर जन्म— १९०५ साल; घर— डुम्रे, गजेथुम्का 
२. पि. एस्. लामा घर— दार्जिलिङ 
३. दिलबहादुर बुर्जा मगर जन्म— १९७३ साल; घर— रसुवा, ओख्रेनी हाल सप्तरीको भेडिया; मोहनसिंहका जेठान 
४. मानबहादुर ग्राङ्जा मगर घर— डुम्रे, गजेथुम्का; मोहनसिंहका भतिजा
५. नरबहादुर घिसिङ घर— इनामे, खोपगाउँ पछि नामेटार
६. लालबहादुर पाँडे घर— डुम्रे, पाँडेभन्ज्याङ
७. चन्द्रबहादुर खत्री घर— लालपत्ता, डान्सिङ्टार; जन्म— १९७९ साल
८. मानबहादुर सुतार कार्की घर— ओख्रेनी
९. डम्बरबहादुर सुतार घर— सिन्धुली, नर्कटे
१०. मेहरमान कार्की घर— ओख्रेनी
११. गम्भीरबहादुर थापा घर— ठूलो ढुङ्ग्रे; जन्म— १९८१ साल

सरकारी सेनाले सुराकीद्वारा त्यहाँ आन्दोलनकारीहरू त्यहाँ भेला भएका छन् भन्नेसुइँको पाएर घेरा हालिसकेका रहेछन् । कोही आउँछन् कि भनेर नजिकैको ठूलो चप्लेटी ढुङ्गामा चियो गर्न बसेका गम्भीरबहादुर थापालाई सेनाका साथ आएका उनका शुभेच्छुक महेन्द्रबहादुृर थापाले भाग्न सल्लाह दिएछन् । आपूm भागेमा अरू घटनास्थलमा नै मारिनेछन् भन्ठानेर उनले ठूलो स्वरमा त्यही ढुङ्गाबाट उकालो लाग्दै चिच्याए—‘साथीहरू, तपाईँहरू जे गर्दै हुनुहुन्छ त्यो काम छाडेर घरबाट बाहिर निस्कनुहोस् । हामी सेनाको घेरामा परिसक्यौँ । तपाईँहरूले चहलपहल गरेमा अङ्गभङ्ग हुने, ज्यान जाने खतरा छ । म तपाईँहरूको साथी गम्भीरबहादुर थापा ।’
त्यो बेला युवाहरू युद्धमा प्रयोग गरिने लाठीका टुप्पाहरू अत्यन्त कडा विषमा चोप्ने कार्यमा संलग्न थिए । आफ्नै साथीबाट आत्मसमर्पण गर्न आह्वान भएपछि दसै जना घरभित्रबाट हात उठाउँदै बाहिर निस्के । ढोकाबाट निस्कनेबित्तिकै उनीहरूलाई सेनाले हतकडी लगायो र उदयपुरगढीको जेलमा राख्यो । जेलमा बस्नेहरूलाई दुई मानाजति धान मिसिएको चामल, १ ढिको नुन, १ ढिँडी खोर्सानी र २ पैसा दिइन्थ्यो । एक महिनापछि अड्डासार गर्दै उनीहरूलाई ओखलढुङ्गा, रामेछाप, धुलिखेल हुँदै सिंहदरबारअगाडि पु¥याइयो । भोलिपल्टदेखिको बास भद्रगोल जेलमा भयो । 

राजा त्रिभुवनले भारतमा शरण लिएपछि अत्तालिएको राणा सरकारले विद्रोही युवाहरूलाई पुसको अन्त्यतिर छोड्यो । दिलबहादुर, मेहरमान र मानबहादुर पहाडको बाटो घरतिर लागे । बाँकी ८ जना भारतको बाटो गरी जयनगर हुँदै नेपालटार पुगे । ती युवाहरूमा मानबहादुर सुतार शङ्काको घेराभित्र परेका थिए । 
उदयपुरको अड्डा कब्जा गर्ने क्रममा पार्टी संगठनभित्र परेका युवाहरू पहिले नै पक्राउ परेकाले तत्कालीन मिलिटरी कमाण्डर रुद्रप्रसाद गिरीले उदयपुरगढीबाट नरबम कार्की र भक्तबहादुर सिंह ठकुरीलाई कात्तिकको अन्त्यतिर बस्तिपुर बोलाए र क्रान्तिमा सहयोगी बन्न सहमत गराए । त्यसपछि नै दुवै जना आन्दोलनको पक्षमा सक्रिय बने । २००७ साल मंसिर २ गते (१८ नोभेम्वर,१९५०) दक्षिणपट्टिको जङ्गल हुँदै नेता कृष्णप्रसाद भट्टराई र मिलिटरी कमाण्डर रुद्रप्रसाद गिरीको नेतृत्वमा मुक्तिसेनाले उदयपुरगढीको ब्यारेकमा रातिको बेला पारेर आक्रमण ग¥यो । मुक्तिसेनामा उदयपुरे जनताको सहभागिता भने कम नै थियो । यता हतियार राख्ने कोतको साँचो मुक्तिसेनाको पक्षमा मिलाइएका कर्मचारी खरदार बिष्णुप्रसाद पौडेलले पहिले नै लुकाइसकेका थिए । हतियारविहीन बनेको मिलिसियाले हलुका प्रतिरोध मात्र ग¥यो । उदयपुरगढी सजिलै मुक्तिसेनाको कब्जामा प¥यो । बूढा बडाहाकिम बिष्णुविक्रम शाहलाई भने काठमाडौँ जान अनुमति दिइयो । उदयपुरगढीमा प्रशासन चलाउन बडाहाकिम पदमा स्थानीय नरबम कार्कीलाई नियुक्त भए । भक्तबहादुर सिंह ठकुरीले असिस्टेण्ट बडाहाकिमको दर्जा पाए । उनले माल अड्डा पनि हेर्नुपर्ने भयो । मुक्तिसेनाको आक्रमणमा डुम्रेलीहरू अग्रमोर्चामा थिए । मुक्तिसेनाका नायकहरूले सरकारी कर्मचारीलाई मार्ने, तर्साउने र झुण्ड्याउने हल्ला चलाए । कैयौँ डरु मान्छेहरू रातारात भागे । तर, कसैलाई पनि केही गरिएन ।

उदयपुर जिल्लाकै पश्चिमी भेगका सामन्त गुमानसिंह राउतको पहलमा प्रतिक्रान्तिका लागि केन्द्रबाट सेना आयो र मंसिर २१ गते अड्डा पुनः नियन्त्रणमा लियो । बडाहाकिम पद सम्हालेका नरबम कार्की पदमुक्त भै जेल चलान भए । पछि मुक्तिसेनाले अड्डा पुनः कब्जा गरेपछि मात्र उनी जेलमुक्त भए । त्यो दिन सेनाले तर्साउन हानेको गोली लागेर पञ्चावती गा.वि.स.अन्तर्गतकै चुलाढुङ्गानिवासी मानबहादुर मगर मरे, त्यहीँका रङ्गे मगर घाइते भए । बर्रे, हातीटारका ख्वान्टे तामाङलाई सेनाले बन्दुकको बटले घोचेर घाइते पारे । पछि त्यही घाउका कारणले ती दुवैको पनि मृत्यु भयो । थोरै दिन बसेर सेना भोजपुरतिर लाग्यो । अड्डाको सुरक्षाको जिम्मा मिलिसियाको नै भयो ।
  
कमजोर क्षमता भएको मिलिसियालाई सिराहाबाट थप मुक्तिसेना पनि मगाएर शमशेरबहादुर ग्राङ्जा मगरको नेतृत्वमा रहेको मुक्तिसेनाले माघको सुरुदेखि नै घेरेर रासनपानीसमेत बन्द गरी दबाब सिर्जना गरेको थियो । त्यहीबेला आफ्ना प्रिय नेताहरू मोहनसिंह, गम्भीरबहादुर आदि आइपुगेपछि मुक्तिसेनाको उत्साह द्विगुणित भयो । मुक्तिसेनामा मगरहरूको संख्या नै बढी थियो । त्यसपछि नेताहरूले अड्डा कब्जा गर्ने अभियान चलाए । मिलिसियाले विनाप्रतिरोध आत्मसमर्पण ग¥यो । यसरी उदयपुरगढी माघका दोस्रो हप्तामा पुनः मुक्तिसेनाको अधीनमा आयो । रुद्रप्रसाद गिरीले जिल्ला सिराहा, बस्तीपुरवासी किसन गिरीलाई थोरै समयका लागि  बडाहाकिम  नियुक्त गरे । त्यसबेला मोहनसिंह ग्राङ्जा मगर सर्वमान्य नेता, शमशेरबहादुर ग्राङ्जा मगर उर्फ थोबे कमाण्डिङ कर्नेल, चक्रबहादुर मस्राङ्गी लप्टन, पहलमान मगर कप्तान, डाकमान तामाङ सुबेदार र गौरबहादुर मगर जजको दर्जाले सम्मानित भए ।

त्यसपछि मुक्तिसेनाको लागि उचित बन्दोबस्त हुन नसकेकाले केही हयिारधारी जत्थाहरू लुटपाटमा अग्रसर भए । मतवाली र तागाधारीहरूका बीचमा द्वन्द्वको स्थिति पैदा भयो । धेरैको बेइज्जत गरियो । लुटेराहरूले ठानागाउँ, मडिरे, पोखरीका गाउँलेहरूलाई ‘खुकुरी दल हौँ’ भनी धम्क्याउन थाले । त्यस अभियानको नेतृत्व टेकनपुर, अम्बोटेका वीरबहादुर राई; तथा बर्रे, रातमाटेका रणबहादुर मगर; ताप्लीका पहलमान कप्तान; इनामेका चक्रबहादुर मस्राङ्गी; सिद्देका अटलबहादुर जम्दार; रुन्चेभन्ज्याङका मेजर; दलबहादुर एसमाली; नरसिंहबहादुर घले आदिले गरेका थिए । यसरी सामाजिक सद्भाव कटुतामा बदलिन थालेपछि भक्तबहादुरलगायत केही व्यक्तिहरू रुद्रप्रसाद गिरीकहाँ गुनासो पोख्न गए । गिरीले भक्तबहादुर ठकुरीलाई तत्काल स्थिति साम्य पार्न बडाहाकिमको जिम्मेवारी दिए, अनि मुक्तिसेनालाई हतियार बिसाउन निर्देशन जारी गरे । मुक्तिसेनाले भक्तबहादुरलाई नै ५ दिनसम्म खाना पनि नदिई थुन्यो, १५ दिनसम्म कडा पहरामा राख्यो । मैले सुनेसम्मको कुरा हो, त्यसैबेला कमाण्डर शमशेरबहादुर मगरले भक्तबहादुर सिंह ठकुरीलाई काट्न भनि तरबार उजाएका थिए रे । भक्तबहादुरले पनि तरिँदै साहसपूर्वक भनेछन्, ‘काट्न त काट्, तर छिनाउन अलिकति पनि बाँकी नराखेस् ।’ त्यहीबेला मोहनसिंहले थोबेलाई रोकेछन् । यसरी मोहनसिंहका कृपाले जीवनदान पाएका हुनाले भक्तबहादुर पछिसम्म पनि उनलाई असाध्य नै मान्दथे । त्यसताका ती विप्लवी समूहसँग गम्भीरबहादुर थापामात्र साहसपूर्वक बोल्न सक्थे । पछि सिराहा ब्यारेकबाट आएका सेनाले अराजकता नियन्त्रण ग¥यो । भक्तबहादुरलाई सुम्पिएको उत्तरदायित्व पूरा गर्ने क्रममा उनलाई सघाउन गम्भीरबहादुर थापाले मुक्तिसेनालाई सम्झाइबुझाइ गरेर हतियार सुम्पन उत्प्रेरित गरे । इनामेका डिकबहादुर एसमाली र नरबहादुर मस्राङ्गीले वातावरण सहज तुल्याउन र आन्दोलनकारीलाई सरकारी सेनाको दमनबाट बचाउन गरेको प्रयास प्रशंसनीय थियो । ठूलो प्रयत्नपछि लाहानमा हतियार बुझाउने सहमतिलाई कार्यान्वयन गरियो । करिब तीन महिनामा अशान्त स्थिति साम्य भयो । उदयपुरमा चम्केको खुकुरी दल (चार सरकार) को विद्रोहलाई सेनाको सहयोग लिएर साम्य पार्ने जस पछि आएका बडाहाकिम धर्मराज थपलियाले नै पाए । पक्राउ परेका, पोलिएका र भाग्नेजति लुटेराहरूलाई अपराधी ठहर गरी सजाय पनि तोकियो । केही समयपछि सबैले आममाफी पाए ।

गाउँतिरका मानिसहरू पछिसम्म पनि हूलदङ्गा गर्ने तथा बलको धाकधक्कु लगाउनेहरूलाई ‘कांग्रेस’ भनी व्यङ्ग्य गर्थे । उनीहरूका लागि कांग्रेस शब्द लुटेराको पर्यायवाची बनेको थियो । बाबुहरू आफ्ना छोरा फटाहा भए भने ‘कांग्रेस भए,’ भनी तिक्तता पोख्थे । 

बडाहाकिम धर्मराज थपलियाको नैतिक चरित्र भने अत्यन्त फितलो थियो । उनी आईमाई भनेपछि भुतुक्क हुन्थे । उनलाई डकैतीमा संलग्न भएको पनि दोष लाग्यो । उनका अनेकौँ चरित्रगत दुष्कर्मबाट वाक्क भएर जिल्लाका कांग्रेस नेताहरूले केन्द्रमा आवाज पु¥याए । अनि उनी हटाइए । उनका उत्तराधिकारीको रूपमा मेघप्रसाद घिमिरे बडाहाकिम भए । उनी तीन वर्षजति उदयपुरगढीमा बसे । उनीपछि योगेश्वर मिश्र बडाहाकिम भए ।
केन्द्रीय राजनीतिमा उदयपुर जिल्लाको पहिलो प्रतिनिधित्व गुमानसिंह राउतले गरे । उनी २०११ साल बैशाख १ गते राजा त्रिभुवनबाट मनोनित सल्लाहकारसभाका  सदस्य बनेका थिए । 

२००८ सालसम्म मोहनसिंहले नै कांग्रेस पार्टीको जिल्ला सभापतिको पद चलाए । त्यसबेला गम्भीरबहादुर थापा उपसभापति थिए । २००९ सालमा मोहनसिंह केन्द्रमा पार्टीको सल्लाहकार भएपछि गम्भीरबहादुर थापा कार्यवाहक सभापति बने । पछि घरायसी कारणले सभापति पद त्यागेर उनी पार्टीको महासमितिको सदस्य मात्र रहे । साधारण लेखपढ मात्र भएका इमान्दार र साहसी गम्भीरबहादुर घुमिरहने हुनाले जिल्लामा भने कमै बस्थे । पार्टीको सचिवको जिम्मेवारी भने पहिले जल्केनीका कृष्णबहादुर राई र पछि राधारमण उपाध्यायले निभाएका थिए । त्यसबीचमा नेपाली कांग्रेस पार्टि दुई चिरामा बाँडियो । गुमानसिंह राउत र भैरबीप्रसाद पोखरेल अलगअलग गुटका सभापति बने । आमनिर्वाचनपूर्व भएको पार्टीसंगठनमा अम्मेबरसिंह बस्नेत सभापति भए । २०१५ सालको आमनिर्वाचनमा उनले नै पार्टीको उम्मेदवारीको टिकट प्राप्त गरे । उनी चुनाउ जितेर प्रतिनिधिसभाका सदस्य पनि बने । पार्टीले आपूmलाई टिकट नदिएको झोँकमा गम्भीरबहादुरले कांग्रेस पार्टी नै छोडे । २०१६ सालमा भएको पार्टी–संगठनको निर्वाचनमा पनि अम्मेबरसिंह बस्नेत नै सभापति बने भने कार्यसमितिमा ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, डम्बरबहादुर थापा, रुद्रबहादुर थापा, कटकबहादुर कार्की, गौरबहादुर मगर, धनबहादुर राना मगर, भैरबीप्रसाद पोखरेल आदि थिए ।

२०१४ सालमा जिल्लाका प्रतिनिधिहरूद्वारा संविधानसभा सल्लाहकार बोर्डको निर्वाचन भयो । त्यस निर्वाचनमा लेकगाउँ, धपिनीका चन्द्ररमण शर्मा विजयी भए । उनी नै पहिलोपटक केन्द्रीय राजनीतिमा उदयपुरे जनताका निर्वाचित प्रतिनिधि बने ।

२०१७ सालको शाही ‘कू’पछि पार्टी गतिविधि यदाकदा गुप्त रूपमा पर्चा छर्नेबाहेक अरू ढङ्गले शिथिल भयो । डम्बरबहादुर थापा, पुष्पलाल गिरी, डिकबहादुर मगर, धनजित लामा आदि केही व्यक्तिहरू भारत पसे । प्रवासमा रहँदा डम्बरबहादुर थापाले पार्टी सभापतिको काम सम्हाले । नेपाल फर्केपछि भने उनी पार्टी राजनीतिमा निष्कृय बने । अनि का्रग्रेस पार्टीले जीवराज ढुङगानालाई सभापति (२०३५—४५)को जिम्मेवारी सुम्पियो । २०४५ सालपछि जनआन्दोलनभरि हेरम्बबहादुर थापा जिल्ला सभापति भए । दृढ राजनीतिक प्रतिबद्धताको कमीका कारणले गम्भीरबहादुर थापा भने पञ्चायती किसान सङ्गठनमा आबद्ध भए । उनी लोकलयमा जनताका पक्षमा व्यङ्ग्यात्मक कविता सुनाउदै सामन्तहरूको खोइरो उतार्थे । उनले रचेको व्यङ्ग्य गीतको एउटा नमुना यस्तो थियो —
सारी लाउनु नाइलनको, चोलो लाउनु फाइवर । 
लिम्पाटारको  मोटर–ग्यारेज,  कमेरेको डाइबर ।।

उनलाई आफ्ना रचनाहरू मुखजावत नै छन् । उनी लय र भावको मेल गराएर छहरा छङ्छङिएझैँ आफ्ना गीत गाउँछन् । खारिएको बौद्धिक चेत नहुनाले उनका सिर्जनाहरू उटपट्याङखाले पनि छन् आलोचनाको क्रममा बढी नै व्यक्तिगत आरोप लगाउनु उनको कमजोरी हो । दरभंगामा हुँदा कुनै धनी मान्छेको बगैँचामा एक्कासि बाघले झम्टिँदा त्यसलाई खुकुरीले काटेर मारेको घटना उनको शारीरिक तन्दरुस्ती र आत्मबलको ज्यूँदो उदाहरण हो । स्वाभिमानी, निडर, एवम् मानवतावादी सोच भएका गम्भीरबहादुर थापा दलित, पिछडिएको वर्ग तथा यमान्दार र विवेकी मान्छेप्रति असाध्य नै उदार छन् । उनलाई गाउँगाउँ घुमेर चेतना बाँड्ने सामाजिक आन्दोलनका वाहक भन्न सकिन्छ । उनले पूरै नेपाल घुमेर, अनेकौँ हण्डर खाएर पनि चेतनामूलक सन्देश फिँजाइरहे । नेपाल सम्पूर्ण रूपमा परनिर्भर बनेकोमा उनी खिन्न बनेर नेपाली उत्पादनका वस्तुमात्र उपयोग गर्छन् । कत्रो तपस्या ! जीवनको उत्तरार्धकालमा आफ्नो बोलीमाथि नियन्त्रण राख्न नसकेर अधुरा कुरा बढी गर्न थालेका छन् । उनले निर्वाह गरेजस्तो स्वतन्त्र मानवीय जीवनशैली बाँच्न स्वास्नी छोराछोरी मात्र पालेर महान औ असल बन्न चाहनेहरूका लागि कदापि सम्भव छैन । निजी जिन्दगीको लेठो सम्हालेर बसेका, उनका खरा आलोचनाबाट प्रताडित व्यक्तिहरू नै उनलाई ‘पागल’ भनेर आत्मतृप्ति लिन्छन् । आदर्श र कर्तव्यको ज्वरोले तातेको उनको मनमस्तिष्क जताततै अनाचार, व्यभिचार र भ्रष्टाचार देखेर उत्तेजित भने अवश्य बनेको हो । कर्मयोगका प्रखर साधक थापालाई समाजले पर्याप्त सम्मान दिएको छ । तर, उनी नै त्यो सद्भावप्रति निर्मोही बनी ‘एकला चलो रे’ को सोच पालेर बाँचिरहेका छन् । जो सुकैले जेसुकै भनून्, उदयपुरमा जन्मेकामध्ये विद्वान् बालकृष्ण पोखरेल र गम्भीरबहादुर थापाकै मात्र उनीहरूको जीवन छँदै अभिनन्दन ग्रन्थ प्रकाशित छन् । धन्य हुन् यी साधकहरू ! गम्भीरबहादुर थापाको एकाङ्गी राष्ट्रवादी चेतना आजको Global Village को  सन्दर्भमा पूरै अव्यावहारिक एवम् अप्रासङ्गिक बनिसकेको छ । अहिले ८४ वर्षको उमेरमा पनि नुन र अन्न नखाएर, विदेशी कपडा नलाएर उनले आफ्नो नैतिक व्रत पालन गरिरहेकै छन् । उनी अझै पनि स्वस्थ देखिन्छन् । उनलाई साधुवाद ! उनी अझै धेरै बाँचेर राष्ट्रियताको धिपधिपे मशाल जलाइरहून् !

पुराना नेताहरूमा गौरबहादुर मगरले पञ्चायतमा भाग लिए । उनी अल्पायुमै मरे । मोहनसिंह माथिल्लो जातिकी एउटी विधवा महिलालाई लिएर सिराहा, जब्दह जंगलमा फडानी गरी बसोबास गर्न थाले । त्यसपछि केही समय जनकपुरतिर बसेर सर्लाहीको मुर्तिया गए । त्यहाँ उनले जमिनभित्र गाडिएका पुराना मूर्तिहरू निकालेर मन्दिरमा स्थापना गरे । पछि उनी त्यहाँबाट पलायन भई केही समय उदयपुरको रौता पोखरीमा जोगी भेष धारण गरी बसे । उनी पछिसम्म पनि हृदयले कांग्रेस समर्थक भइरहे, तर व्यावहारिक राजनीतिबाट भने अलग रहे । उनको जीवनको अन्तिम समय त्रियुगाको कालीखोला गाउँमा जोगी बनेर नै बित्यो । उनी त्यहीँ नै मरे । उनका सन्तान थिएनन् । शमशेरबहादुर र चक्रबहादुरचाहिँ सिराहाको जब्दह फँडनीमा सहभागी बने र त्यहीँ नै मरे । यसरी २००७ सालको क्रान्तिका शर्षिस्थ स्थानीय योद्धाहरूको अन्त्य दुखद ढङ्गले भयो । त्यसो हुनुमा एउटा पक्षचाहिँ उनीहरूमा रहेको निर्धनता र अशिक्षा नै जिम्मेवार हो भन्ठान्छु । 

२०३६ सालको जनमतसङ्ग्रहमा बहुदल पक्षलाई यथास्थितिवादीको भन्दा दोब्बर नै भोट (६७.९%) परे पनि २०३९ सालमा उदयपुर जिल्लाको नेपाल िकांग्रेसको पार्टी सङ्गठन गर्दा ११ जनाको कार्यसमितिमा बस्न चाहनेको सङ्ख्या जुटाउन कठिनाइ परेको घटना उत्तिकै विस्मयकारी छ । २०३८ सालमा कटारीमा चलाइएको काङ्ग्रेसको प्रशिक्षण शिविरमा उदयपुरको भूमिका उल्लेख्य थियो । त्यस शिविरमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सी.के. प्रसाई आदि राष्ट्रीय नेताहरू पनि सहभागी बनेका थिए । २०४२ सालको हस्ताक्षर अभियानमा उदयपुरका काङ्ग्रेसी कार्यकर्ताले राम्रै सक्रियता देखाएका हुन् । २०४२ सालकै सत्याग्रह आन्दोलनमा भने उदयपुरको योगदान खासै थिएन । २०४६ सालको जनान्दोलन सहरकेन्द्रित हुनाले त्यसमा उदयपुरको देन गर्विलो त छैन नै, यद्यपि त्यसमा जीवराज ढुङ्गाना, अर्जुन खड्का, गोपाल राई, हेरम्ब थापा, ज्ञानेन्द्र राउत, हरिशंकर परियार, मनोज बस्नेत, केशव बस्नेत, मोहनविक्रम पन्त, पृथ्वीबहादुर पोखरेल, अशोकचन्द्र राई, तिलकबहादुर राईमध्ये कोही भूमिगत बने, कसैले जेल रोजे । 

कम्युनिष्ट कार्यकर्ताहरूमा राममणि पोखरेल, भीम सेँढाई, मणि पौडेलहरू २०२५ सालदेखि नै सक्रिय देखिएका हुन् । वेदप्रसाद पोखरेल र लक्ष्मी चौधरी क्रमशः २०२९ र २०३५ सालमा देखा परे । बिष्णुबहादुर राउत भने कानुन व्यवसाय गर्दै काठमाडौँमा केन्द्रीय नेताहरूको सम्पर्कमा रहे । २०४६ सालसम्म पनि जिल्लामा बलियो साङ्गठनिक आधार नबनेको कुरा उनीहरू नै स्वीकार्छन् । त्यसबेला व्यक्तिगतरूपमा राममणि पोखरेल, भीम सेँढाई, लक्ष्मी चौधरी आदिले माक्र्सवादी पार्टीको निर्देशनमा रही संगठनको कार्यमा सक्दो योगदान गरेका हुन् । २०३५ सालमा ने.क.पा.(मा.ले.) को जन्मपछि उदयपुरमा व्यक्ति–सम्पर्कको सन्जाल विकसित भएको हो । कम्युनिष्ट पार्टीहरूमा एकता र विभाजन भइरहेको अवस्थामा डाकबहादुर थापा र पूर्णबहादुर खत्री पनि पार्टी राजनीतिमा देखा परे । नयाँ पुस्तामा जगन्नाथ खतिवडा विद्यार्थी नेताको रूपमा अगाडि आए । २०४७ सालपछि पञ्चायती पृष्टमूमि भएका व्यक्तिहरू दलीय राजनीतिमा प्रवेश गरेपछि मात्र पार्टी सङ्गठनहरूले आजको रूप पाएका हुन् । २०४८ र २०५१ सालमा बिष्णु बहादुर राउतले उदयपुर जिल्लाको क्षेत्र नं.२ को प्रतिनिधिसभाको सदस्य हुने गौरव हासिल गरे भने क्षेत्र नं. १ बाट लक्ष्मी चौधरीले त्यही गरिमा प्राप्त गरे । सालको आमनिर्वाचनमा भने क्षेत्र नं १ र २ बाट सुरेश कार्कि र जगन्नाथ खतिवडा प्रतिनिधिसभाका सदस्य बने । पछिल्लो व्यवस्थापिका संसदमा सुरेश कार्की, जगन्नाथ खतिवडा, अशोक राई र मणि खम्बू सांसद बनेका थिए । 

अघिल्लो पुस्तामा तामाङ समुदायका सबैभन्दा बाठा र अगुवाहरूमध्येमा लेकगाउँ, कंकुवा घर हुने पूर्णसिंह घिसिङ र इनामे, हातीटारका लङ्कमान तामाङ थिए । थुम नामन्तका मगरहरूमा श्रीमान जम्दार जिल्लामा नेताका रूपमा चिनिन्थे भने रौताका धनबहादुर रानामगर पनि सुझबुझ भएकामा नै गनिन्थे । जिल्ला पञ्चायतका उपसभापतिसमेत बनेका दानबहादुर घले पछिल्लो पुस्तामा लोकप्रिय बने । पुरानो पुस्ताका राईहरूमा बलम्ताका शम्शेरलाल राई निकै प्रतिष्ठित मानिन्थे । भोजपुरबाट बसाइँ सरी बसाहामा बसोबास गर्ने  पूर्वमन्त्री नारदमुनी थुलुङपछि राई जातिमा नयाँ पुस्ताका तिलकबहादुर राई जिल्लामा परिचित नाम हो भने गुमानसिंह राई अघिल्लो पुस्ताका त्यागी राजनीतिक व्यक्तित्व हुन् । पुराना दलित अगुवाहरूमध्ये उदयपुरगढीका इखबहादुर परियार र पञ्चावती, चुलाढुङ्गाका दलबहादुर मोते; बर्रे, लामादीका बुद्धिमान विश्वकर्मा आफ्नो समुदायभन्दा बाहिर पनि उच्च हैसियत राख्थे । आदिवासीहरूमा कटारीका मोतीलाल अधिकारी र सुन्दरलाल अधिकारी तथा ताम्लिछा, लैकुका टाँगे माझीको सामाजिक प्रतिष्ठा निकै उठेको थियो । 

महिलाहरू नेतृत्वदायी भूमिकामा ज्यादै कम देखा परे । लिम्पाटारबासी तिलोत्तमा थापा पञ्चायतकालमा निकै सशक्त रूपमा प्रस्तुत भएकी हुन् । 

ईश्वरप्रसाद निरौला ने.वि.संघ उदयपुर शाखाका संस्थापक अध्यक्ष हुन् भने अनेरास्ववियूका प्रथम अध्यक्ष चन्द्रनारायण चौधरी हुन् । नेपाल शिक्षक संगठन र नेपाल शिक्षक संघ उदयपुरका पहिलो अध्यक्षको जिम्मेवारी राजदेवसिंहले नै निर्वाह गरेका हुन् ।  

उदयपुर जिल्लाको पहिलो भाषा पाठशाला उदयपुरगढीमा १९७३ सालतिर खुलेको देखिन्छ । पहिला शिक्षक काठमाडौँ दहचोक निवासी पं. नरनाथ उपाध्याय सिग्देल हुनुहुन्थ्यो । उहाँ पाठशालाको शिक्षक भएर आउँदा अविवाहित नै हुनुहुन्थ्यो । उहाँको जन्म वि. स. १९५३ मा भएको थियो । त्यसबेला सरकारले दुइटा शिक्षक र एउटा सिपाहीको दरबन्दी दिएको थियो । नरनाथ सिग्देल मुख्य शिक्षक हुनुहुन्थ्यो । उहाँको मासिक तलब रु. ५÷— थियो भने सहायक शिक्षकको मासिक तलब रु. ३÷— थियो । भाषा पाठशाला उदयपुरगढीको एउटा दरबन्दी घटाएर प्रारम्भिक भाषा पाठशाला रसुवा, भुट्टार खुलेपछि सहायक शिक्षकचाँहि त्यहाँका लागि खटिनुभयो । उहाँले छोडेपछि १९८५ सालमा देवीप्रसाद खतिवडा त्यही शिक्षक पदमा नियुक्त हुनुभएको थियो । उहाँको जन्म १९६५ सालमा सिराहाको थलाहामा भएको थियो । उहाँ सपरिवार भुट्टारको ढोडेडाँडामा घर बनाएर नै बस्नुभएको थियो । त्यो पाठशालामा ३ कक्षासम्मको पढाइ हुन्थ्यो । एक जना शिक्षक र एउटा सिपाहीको सरकारी दरबन्दी थियो । हरेक वर्ष शिक्षा विभागबाट इन्सपेक्टर आउँथे र पाठशालाको गतिविधि बुझ्दथे । २००३ सालमा आएका इन्सपेक्टरको सिफारिसमा नरनाथ सिग्देलको सरुवा रसुवामा गरियो भने देवीप्रसाद उदयपुरगढीमा खटिनुभयो । त्यसपछि उहाँको बसोबास उदयपुरगढीमा नै स¥यो । नरनाथ रसुवा जानुभएन । उहाँ महोत्तरी जिल्लाको रामनगरमा घरखेती गरेर बस्न थाल्नुभयो । उहाँको मृत्यु २०२२ साल भदौमा त्यहीँ नै भयो । पं. देवीप्रसाद स्कुलको शिक्षकको रूपमा स्वेच्छाले मृत्युवरण नगरुन्जेल (२०१७ साल बैशाख) सम्म भाषा पाठशाालामा नै कार्यरत रहनुभयो । उहाँको मृत्युपछि त्यो दरबन्दीमा भक्तिविलाश तिम्सिनालाई नियुक्त गरियो । त्यसबेलादेखि नै भाषा पाठशाला मिडिल स्कूलमा गाभियो र पछि दरबन्दी पनि खारेज भयो उदयपुर जिल्लाका दुइटा पाठशालामा ज्ञानज्योति प्रसारित गर्ने दुवै शिक्षक–पण्डितहरूलाई श्रद्धाञ्जलि ! एउटा बुझ्नै पर्ने कुरा के हो भने ती दुवै ज्ञान वितरक पण्डितहरू यस जिल्लाका मूल बासिन्दा भने होइनन् । तीनतलेगढी भन्ने ठाउँमा अर्को पनि भाषा पाठशाला थियो भन्ने ब्यहोरा भुट्टारको पाठशालामा रहेको पत्रमा उल्लेख भएको ब्यहोरा प्रत्यक्ष्यदर्शीबाट थाहा पाएँ, तर त्यो ठाउको बारेमा कसैबाट पनि प्रामाणिक जानकारी पाउन सकिनँ । भुट्टारको भाषा पाठशालामा २००५ सालमा दोलखाको पकरबास भाषा पाठशालाबाट खार्पा घर भएका बालानाथ पोखरेल सरुवा भई आउनुभयो । उहाँले भुट्टारमा बसेर २०२१ सालसम्म पाठशालामा पढाउनुभयो । उहाँ खार्पाकै भाषा पाठशालामा सरुवा भई गएपछि २०२२ सालमा श्रेष्ठ थरका कुनै व्यक्तिलाई पाठशालाको शिक्षक नियुक्ति गरी खटाइएको पत्र आयो, तर व्यक्ति हाजिर भएनन् । २०२४ साल माघ १५ गते स्थानीय नारायणप्रसाद हुमगार्इँ रा.प्र.अ. तृतीय तहको शिक्षकको रूपमा त्यस भाषा पाठशालामा नियुक्त हुनुभयो, तर उहाँले आफ्नो संस्कृततर्फको अध्ययन जारी राख्न बेलाबेलामा पाठशालाको अध्यापन कार्य छोड्ने र पुनः सम्हाल्ने गरिरहनुभयो । अन्तमा २०२९ सालमा लोकसेवा आयोग भोजपुर कार्यालयबाट परीक्षा दिई उत्तीर्ण भएर स्थायी नियुक्ति पाई नारायणप्रसाद हुमगाईँ नै त्यो सरकारी दरबन्दीको एक मात्र शिक्षक पदमा नियुक्त हुनुभयो । २०३१ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि त्यो दरबन्दी सामान्य प्रशासन मन्त्रालयमा नै राखियो र नारायणप्रसाद हुमगाईँलाई काम गरिरहेको स्कुलमा काजमा कार्यरत रहन खटाइयो । यसरी उहाँ नै भाषा पाठशालाको सरकारी शिक्षकको अन्तिम पुस्ता बन्नुभयो ।

उदयपुरगढीमा २००८ सालमा किसन (कृष्णप्रसाद)  गिरी बडाहाकिम हुँदा नै अ्रग्रेजी पढाइ सन्चालन गर्न स्कुल खोल्ने कामको थालनी भयो । त्यो स्कुल स्वीकृति प्राप्त थिएन । सिराहा बजार बस्ने पूर्णप्रसाद श्रेष्ठलाई शिक्षकको रूपमा नियुक्त गरियो । उहाँलाई दिने तलब भने कर्मचारीहरूबाट चन्दा उठाएर जुटाइन्थ्यो । उहाँले करिब एक वर्षजति पढाएर छोड्नुभयो । त्यसबेला अभिभावकहरूमा आफ्ना सन्ततिलाई अंग्रेजी पढाउने उत्सुकता खुब जागेको थियो । सुरुमै A, B, C, .......  पढ्न ३०/३५ विद्यार्थीहरू जुटेका थिए । पहिला विद्यार्थीहरूमा स्थानीय रत्नबहादुर भुजेल, गणेश श्रेष्ठ आदि थिए । पूर्ण मास्टर (पूर्णप्रसाद श्रेष्ठलाई प्रयोग गरिने लौकिक सम्बोधन) ले छोड्नुपूर्व नै दरभङ्गा निवासी होसियार झालाई झिकाइएको थियो । २००९ सालमा हरेक जिल्लामा कम्तीमा एउटा मिडिल स्कुलको स्वीकृति दिने सरकारी नीतिअनुसार उदयपुर दारिम्बोट बस्ने म्याट्रिक उत्तीर्ण राधारमण उपाध्याय आचार्यलाई मिडिल स्कुलको शिक्षकमा नियुक्ति दिई दरबन्दीको लागि सरकारसँग माग गरियो । अन्ततः त्यो स्कुलले मिडिल स्कुलको मान्यता पायो । राधारमण उपाध्यायजी नै त्यस स्कुलको पहिलो औपचारिक प्र.अ. बन्नुभयो । स्वीकृतिको प्रकृया पूरा भएको लगत्तै उहाँ उच्च तहको अध्ययनका लागि बनारसतर्फ लाग्नुभयो । होशियार झाबाट नै स्कुल जेनतेन चलिरह्यो । त्यसैताका सिराहाका लक्ष्मणप्रसाद श्रेष्ठले पनि केही दिन सेवा गर्नुभएको हो । अन्तमा, पद्महरि शर्मा गजुरेलले २०१० देखि २०१५ सालसम्म नै प्र.अ.समेत बनेर उदयपुरगढीको पञ्चावती मिडिल स्कुलमा अध्यापन कार्य जारी राख्नुभयो । २०१५ सालमा बस्तीपुर घर भएका खड्गप्रसाद गिरी प्र.अ. बन्नुभयो । उहाँ त्यसबेला आई. ए. उत्तीर्ण हुनुहुन्थ्यो ।  

उदयपुर जिल्लाको शैक्षिक प्रशासन सप्तरीस्थित Divisional Inspector Office of School ले हेर्दथ्यो । २०१० सालमा उदयपुर जिल्लामा नै जिल्ला शिक्षा सल्लाहकार बोर्ड गठन भयो । त्यो नै उदयपुर जिल्लाको शिक्षासम्बन्धी पहिलो आधिकारिक निकाय थियो । Divisional Inspector Office of School को निर्देशनमा त्यस बोर्डले हरेक स्कुलमा बडाहाकिम वा मालहाकिमको अध्यक्षतामा संचालक समिति गठन गरेर विद्यालय संचालन गर्दथ्यो । २०१२ सालपछि आएका बडाहाकिमहरूमध्ये जनकनरसिंह राणा सज्जन थिए । उनले जिल्लाका अन्य भागमा पनि प्राइमरी स्कुलहरू खोले । २०१५ सालको आमचुनाउ गराउने बडाहाकिम धर्मानन्द बज्राचार्य थिए । उनी त्यत्रो ठूलो चुनाउ गराइसक्दा पनि पैसा कमाउन नसकेकोमा गुनासो गर्थे रे । 

२०१५ सालको आमचुनावमा उदयपुर जिल्ला क्षेत्र नं. ३४ नाउँको एक निर्वाचन क्षेत्र मानिएको थियो । त्यस निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण यसप्रकार छ — 

सि.नं. नाम                       पार्टी        पाएको मत सङ्ख्या :
१. अम्मेबरसिंह बस्नेत नेपाली कांग्रेस ५६३३
२. देवनाथ पञ्जियार स्वतन्त्र ३६०८
३. पशुपति गिरी स्वतन्त्र ३००४
४. उजिरबहादुर थापा ने.प्र.प.(आचार्य गुट) १५८०
५. चन्द्ररमण शर्मा सं.प्र.पार्टी १२९५
६. लक्ष्मीप्रसाद रेग्मी ने.रा.गो.प. १२७६

पराजित उम्मेदवारहरूमा पशुपति गिरी र देवनाथ पञ्जियारबाहेक अरूको जमानत जोगिएन ।

२०१६ सालमा बडाहाकिम हुने जसबहादुर लिम्बु विकासप्रेमी थिए । उनले श्रमदानसमेत गर्न लाएर उदयपुर—कटारी हुँदै तराईसँग जोड्ने बाटो खनाउने अभियान नै चलाए । त्यसबेला निमनी खहरे हुँदै कटारी र त्यहाँबाट उदयपुरगढीमा एउटा मोटर पनि पु¥याइएको थियो । त्यो थोत्रो मोटरका बिग्रेका पुर्जा मैले पनि देखेको हुँ । 
२०१६ सालमा नेपाललाई १४ अंचल, ३२ जिल्ला र ७० उपजिल्ला (विकास ब्लक) मा विभाजन गरियो । त्यसपछि पहिलेदेखि देशमा स्थापित सातवटै Divisional Inspector Office of School खारेज भए । । तिनका ठाउँमा ३२ जिल्लामध्ये २८ जिल्ला शिक्षा निरीक्षिक (जि.शि.नि.) र ७० वटा विकास ब्लकमा जिल्ला शिक्षा उपनिरीक्षक (जि.शि.उ.नि.) पदहरू सिर्जना गरी शैक्षिक प्रशासन संचालन गर्न थालियो ।

२०१८ सालमा ४३ गाउँ पञ्चायतमा बाँडिनुपूर्व उदयपुर जिल्ला १३ वटा थुम वा प्रगन्नाहरूमा विभाजित थियो । २००९ सालको जनसङ्ख्याका आधारमा क्रमशः ठूलोबाट सानो थुम तथा प्रगन्नाको नाम यसप्रकार छ ः उदयपुर, रसुवा, त्रियुगा, रामपुर, लिम्पाटार, चौदण्डी, सोरुङ्ग, देवीधाप, सोरुङ्गकट्टी चारकिल्ला, खाँबु, तल्लाहट्टी (त्रियुगा) र सातथर(नामन्ता) । उदयपुर जिल्लाको २००९, २०१८, २०२८ र २०५८ सालको जनसङ्ख्या विवरण क्रमशः ८९३०९,  १०४२३७,  ११२६२२  र  २८७६८९ थियो ।

२०१९ सालमा उदयपुर जिल्लामा ग्राम विकास समिति गठन गरियो र त्यसको एउटा शाखाले शिक्षा फाँट हेर्दथ्यो । त्यस ग्राम विकास समितिका प्रमुखलाई Block Development Officer -B.D.O._  भनिन्थ्यो । उनकै अधीनमा रही विकास जिल्ला शिक्षा निरीक्षक (वि.जि.शि.नि.) ले शैक्षिक प्रशासन सञ्चालन गथ्र्यो । वि.जि.शि.नि.भन्दा तल शि.उ.नि. र मुखिया हुन्थे । फेरि २०१९ सालमा चौधवटै अञ्चलमा अञ्चल शिक्षा अधिकारीको कार्यालय स्थापना गरियो । त्यसले अञ्चलभरिका हाइस्कुलहरूको नियन्त्रण गर्दथ्यो भने हरेक जिल्लाका  -B.D.O._  का अधीनमा रहेका वि.जि.शि.नि.हरूले सम्बन्धित जिल्लाभित्रका प्राथमिक स्कुलहरूको प्रशासन चलाउँथे । 

जसबहादुर लिम्बुपछि बडाहाकिम हुने केदारप्रसाद सिंह हुन् । उनी राजा महेन्द्रको ‘कू’लाई सफल पार्ने प्रयोजनका लागि कांग्रेसलाई दबाउन वा फकाउन तत्कालीन मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरीबाट विशेष रूपमा नियुक्त थिए । उनीपछि आएका बडाहाकिम लेकविक्रम राणालाई भने मैले पनि देखेको हुँ । उनी निकै ठूलो ज्यानका थिए । मलाई लाग्थ्यो — ठूलो मान्छे हुन ज्यान पनि ठूलै चाहिँदोरहेछ । उनमा राणाको साहेबी अहंकार पर्याप्त थियो । उनी सरुवा भएर गएपछि बोधनाथ चालिसे बडाहाकिम भएर आए । उनको कद भने निकै सानो थियो र उनी सुपात्रमा गनिएका थिए । 

त्यसबेला न्यायाधीश विजयप्रताप राणा शारीरिक डिलडौल मिलेका देखिन्थे । उनी मुद्दामामिलामा भन्दा सुखसयल गर्न र बाघको सिकार खेल्नमा बढी रुचि लिन्थे । मान्छे आधुनिक थिए । २०२० साल भदौ १ गते नयाँ मुलुकी ऐन लागू गर्ने क्रममा उदयपुरगढीका दमाईहरूसँग एउटै हारमा बसी उनले चियापान गरेको घटनाले निकै चर्चा पाएको हो । उनीबाट त्यहाँका दमाईहरूले प्रशस्त सहयोग र सहारा पाएको कुरा मैले उनीहरूकै मुखबाट सुनेको हुँ । ती न्यायाधीशकी पत्नीले थाइकट हो कि ब्वायजकट कपाल काटेको देख्दा मलाई पो लाज लाग्थ्यो । मैले महिलाको त्यस्तो कपाल पहिलोपटक देखेको हुँ । तिनी लोग्नेजत्तिकै फरवार्ड थिइन् । तिनका महिलाको रूपमा असामान्य लाग्ने गतिविधि मेरा लागि आश्चर्यका उदाहरण बनेका थिए । 

२०२२ सालमा स्थानीय प्रशासन व्यवस्था अध्यादेश जारी गरी नेपालमा परम्परादेखि चलिआएका गढी, गौँडा र गोश्वारा खारेज गरियो र उदयपुरलाई एउटा स्वतन्त्र जिल्लाको मान्यता प्राप्त भयो । B.D.O.  पद पनि खारेज भयो र शैक्षिक प्रशासनको जिम्मेवारी जि.शि.नि.को कार्यालयले स्वतन्त्र रूपले पायो । त्यसपछि त्यो कार्यालय अरू कुनैको शाखा रहेन । 

पञ्चावती मिडिल स्कुलले २०१८ सालमा हाइस्कुलको मान्यता पायो र त्यही सालदेखि त्यस स्कुलमा कक्षा ८ को पढाइ सुरु भयो । यो स्कुल नै उदयपुर जिल्लाको जेठो हाइस्कुल हो । म २०२० साल बैशाखमा त्यस स्कुलमा पढ्नको लागि भर्ना भएको हुँ । त्यसबेला स्कुलका हेडमास्टर केदारमान अमात्य हुनुहुन्थ्यो र उहाँ २०१८ सालदेखि नै कार्यरत हुनुहुन्थ्यो । कक्षा १० मा ५ जना छात्रहरू पढ्थे । ४ कक्षाभन्दा माथि छात्राहरू थिएनन् । केदारमान सर ८, ९ र १० कक्षामा नेपाली, भूगोल र अङ्ग्रेजी पढाउनुहुन्थ्यो । मलाई पढाउनेहरूमा स्व. चित्रबहादुर गुरुङ, केदारनाथ आचार्य, काशीप्रसाद निरौला, भरतप्रसाद घिमिरेलाई भने राम्ररी सम्झन्छु । माथिल्ला कक्षाहरूमा नारायणप्रसाद निरौला, स्व. ईश्वरीप्रसाद निरौला तथा बाहिरबाट ल्याइएका मैथिली वा हिन्दीभाषी शिक्षकहरू हुनुहुन्थ्यो । मलाई उहाँहरूको नाम सम्झना छैन । उहाँहरू विज्ञान र गणित पढाउने गर्नुहुन्थ्यो । तल्ला कक्षामा स्व. भक्तिविलाश तिम्सिनाजी पढाउनुहुन्थ्यो । पद्महरि शर्मा, अम्बिका खड्का, खड्गप्रसाद गिरी, दिलहरि पोखरेल, लक्ष्मणप्रसाद उपाध्याय, नवराज सिग्देल भने म पढ्न जानुपूर्व नै अध्यापन कार्य छोडेर हिँडिसक्नुभएको थियो । मादलेका खड्काका कुलमा जन्मेर नर्मल तालिमसम्मको शिक्षा प्राप्त गरेकी अम्बिका खड्कालाई उदयपुर जिल्लाकै पहिलो महिला शिक्षक हुने सौभाग्य प्राप्त छ । अम्बिका खड्काले पञ्चावती हाइ स्कुलको प्र.अ.को प्रतिनिधित्व गरेर उदयपुरगढीमा भएको तालिममा सहभागिता जनाएको कुरा आफूसमेत सहभागी बन्नुभएका तत्कालीन इनामे प्रा.वि.का प्र.अ. चन्द्रकान्त उपाध्यायले मलाई बताउनुभएको हो । पहिलो दाम्पत्य सम्बन्ध चुँडिएर केदारमान अमात्य सरसँगको तथाकथित प्रेमप्रसङ्ग पनि जीवनमा निर्णायक हुन नसकेपछि अम्बिका खड्काको जीवनको उत्तरार्धकाल सिराहा जिल्लाको लाहानमा शिक्षक बनेर नै बित्यो । 
केदारमान हेड सरलाई देख्ता विद्यार्थीहरू डरले थर्कमान हुन्थे । उहाँ बदमास विद्यार्थीहरूमाथि कठोर बनेर प्रस्तुत हुनुहुन्थ्यो । पछिपछि सुन्थेँ, उहाँ एक कुशल प्रशासक हुनुहुन्थ्यो । उहाँको कलम पनि सशक्त रहेछ । उहाँले ‘आँखा पनि त मिल्दो छैन’ नाउँको कथासंग्रह प्रकाशन गर्नुभएको थियो । उहाँका कथाहरूमा उदयपुरको परिवेशलाई पनि अँगालिएको छ । ती कथामा यौन र मनोविज्ञानको राम्रो विश्लेषण गरिएको छ । मान्नै पर्छ, त्यो समयमा पनि उहाँमा आफ्नो सिर्जना छपाउने उत्साह जीवन्त थियो । किन हो त्यो चेत अहिले सेलाएको देखेँ । 

केदारमान हेड सर रउसे हुनुहुन्थ्यो । बेलाबेलामा फुटबल म्याचको आयोजना गर्नुहुन्थ्यो । म्याचमा उहाँ आफैँ पनि रेफरी बन्नुहुन्थ्यो । कर्मचारी, विद्यार्थी र बाहिरियाहरूका बीचमा खसीसमेत काटेर भोज खाने गरी प्रतियोगिता गराइन्थ्यो । खसीका प्रायोजक जिल्लाकै कुनै गन्यमान्य व्यक्ति हुन्थे । प्रतियोगिता कुनै उत्सव पारेर नै गरिन्थ्यो । स्कुलमा विभिन्न उत्सवहरूमा उफ्रने, दौडने आदि खेलकुदहरू भइरहन्थे । स्कुलअगाडिको चौरमा फुटबल खेल हुन्थ्यो । भकुन्डो दक्षिणपट्टिको पाखामा झर्दा थुपै्र विद्यार्थीहरू खोज्न दौडेको घटना मलाई ताजै छ । एकदिन प्रतियोगिता सुरु हुनै लागेको बेलामा हाम्रा साथी स्व. रेवतीरमण भट्टराईले बलपूर्वक फुटबल हान्दा ब्लाडर फुट्यो । दुर्भाग्य ! फाल्टो ब्लाडर रहेनछ । त्यो दिन खेल हुन पाएन । सायद स्कुल र कर्मचारीको बीचको म्याच थियो । पछि ती ठूला कर्मचारीहरूले रुमाल–चोर खेलेर मनोरञ्जन गरेका थिए । 
 २०२२ साल असारमा स्कुलले ‘पालुवा‘ नाउँको पत्रिकासमेत प्रकाशित गरेको थियो । त्यो पत्रिका नै उदयपुरको जेठो पत्रिका हो । त्यो हस्तलिखित थियो । धेरै प्रति बनाउन साइक्लोस्टाइलको सहयोग लिइएको थियो । त्यो पत्रिका निकाल्ने सोच केदारमान सरकै हो । त्यसमा लेखिएका अक्षर भने मोहनप्रसाद श्रेष्ठ सरका थिए । उहाँ मोतीका दानाजस्ता सुन्दर अक्षर लेख्नुहुन्थ्यो । 

स्कुलमा बेलाबेलामा साँस्कृतिक क्रियाकलापहरू भइरहन्थे । शिक्षक मोहनप्रसाद श्रेष्ठजीको स्वर मीठो थियो । उहाँले गाएको ‘तितरी पंछी.............’ भन्ने गीत म अझै पनि सम्झन्छु । साँस्कृतिक क्रियाकलाप, साहित्यिक प्रतियोगिता, प्रवचन, खेलकुद आदि सबै क्षेत्रमा सक्रिय हुने विद्यार्थी शंकरप्रसाद ढुङ्गाना हुन् । उनी पढाइमा पनि अबल थिए । सानो उमेरमा एस्.एल्.सी. उत्तीर्ण गर्ने पुराना विद्यार्थीहरूमा टीकादत्त निरौला नै चर्चित भएका हुन्  । स्कुलमा स्व. गोपीलाल तुलाधर, रत्नप्रसाद काफ्ले, हीरामान मोते, मधुरमण आचार्य, डम्बरबहादुर मगर आदि मेधावी विद्यार्थीमा गनिन्थे ।
जाडोमा दुई महिना स्कुल विदा हुन्थ्यो । त्यसैले माघ महिनामा पर्ने सरस्वतिपूजा मनाउने मौका हामीलाई मिल्दैनथ्यो । त्यसको सट्टा भदौमा पर्ने कृष्णजन्माष्टमीमा उत्सव मनाउने चलन चलेको थियो । त्यसमा स्थानीय समाजले पनि सहभागिता जनाउँथ्यो । हामी त्यस उत्सवलाई अष्टजाम भन्थ्यौँ । विद्यार्थीहरूको नेतृत्वमा चन्दा उठाएर सो काम सम्पन्न गरिन्थ्यो । चौबीस घण्टा ‘हरे राम, हरे कृष्ण........’ गाएर मूर्ति वरिपरि घुम्नुपथ्र्यो । श्रद्धालुहरूलाई दहीच्यूरा र रोटी खुवाइन्थ्यो । एकपल्ट मैले पनि ठूला विद्यार्थीहरूको हारमा बसेर जुलेबी खान पाएँ । हेडसरले सानो फुचेले पनि जुलेबी भेट्टाएको देखेर अरू ठूलाखाले मान्छेलाई नपुग्ने ठानी ‘अब जुलेबी नबाँड्नू’ भनी आदेश दिएको आफ्नै कानले सुनेको हुँ । ‘धन्न भेट्टाएँछु,’ भनेर आफ्नो भाग्यको सह्रनी गरेँ । मैले त्योभन्दा पहिले जुलेबी चाखेको थिइनँ । उदयपुरगढीमा मिठाई पसल थिएन । कुनपटकको अष्टजाममा हो पत्तो भएन, दहीच्यूरा धेर खाएँछु । अगस्ती पल्टेर पेट निकै दुख्यो । झण्डै एक घण्टापछि मात्र कष्ट हल्का भयो । कहिलेकाहीँ घरमा पनि त्यस्तो हुनेगथ्र्यो । अष्टजामका आयोजकहरू ‘मजाले खाइयो,’ भन्थे । त्यो पूजा रमाइलो हुन्थ्यो । पछि किन हो अष्टजाम मनाउन छाडियो । त्यसबेला गाउँघरमा लाखे नाच पनि नचाइन्थ्यो । मुखुण्डो लगाई भयावह देखिएर नाच्ने नटुवा आइमाई हो कि भन्ठानेको थिएँ । पछि चाल पाएँ — छिमेकीगाउँकै बलिष्ठ युवक पो रहेछन् ।

२०२० सालमा स्कुलका विद्यार्थीहरू पहिलोपटक सिराहा केन्द्रबाट एस्. एल्. सी. परीक्षामा सहभागी बने । ५ जनामा ३ जना उत्तीर्ण भए । नारायणबहादुर कार्की दोस्रो श्रेणीमा उत्तीर्ण भै प्रथम भए । २०२४ सालदेखि पशुपति हाइस्कुल लाहानबाट एस्. एल्. सी.परीक्षा दिन पाइने व्यवस्था भयो । त्यसपछि २०३६ सालदेखि तत्कालीन जि. पं. सभापति तथा जिल्ला शिक्षा समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको विशेष पहलमा उदयपुर जिल्लाभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूले जिल्ला सदरमुकामस्थित त्रियुगा माध्यमिक विद्यालयबाट नै एस्. एल्. सी. परीक्षा दिन पाए । अहिले छ्यासछ्यास्ती परीक्षा–केन्द्रहरू देख्नेहरूका लागि यो कथा अनौठो लाग्ला ।
केदारमान सरले अचानक २०२२ साल असारतिर स्कुल छोड्नुभयो । निकै समय स्कुलमा हेडमास्टर कोही पनि भएन । त्यसबेला कक्षा ९ र १० मा अङ्ग्रेजी पढाउने शिक्षकको पनि अभाव थियो । शिक्षक उपलब्ध गराउन नसकेकोमा सञ्चालक समितिको विरुद्ध स्कुलमा हडताल भयो । प्रशासनले तत्काल अर्को शिक्षक जुटाउने प्रतिबद्धता जाहेर गरेपछि विद्यार्थी नेताहरू दोस्रो दिन नै हडताल जारी नराख्न सहमत भए । हडताल बन्द गर्न बडाहाकिम नै सक्रिय भएका थिए । त्यसपछि स्कुलको प्र.अ. हुन भनी बोलाइएका सिराहा भलुवाईका ढकाल थरका बाहुन त्यहाँ टिक्न नसकेर फर्केको कुरा केही दिनपछि मात्र मैले चाल पाएँ । स्थानीय राजनीतिक दाउपेच परेको रहेछ भन्ने अहिले बुझें । अन्तमा खोटाङ जिल्लाको बुइपा बजारको चम्पावती हाइस्कुलमा हेडमास्टर भई अध्यापन गरिरहुनभएका चन्द्रकान्त उपाध्याय ढुङ्गाना त्यो दायित्व सम्हाल्न आउनुभयो । त्यसबेला स्कुलको सञ्चालक समितिको अध्यक्ष बडाहाकिम नै हुन्थे । मैले थाहा पाउँदादेखि स्कुलका सेक्रेटरी स्व. नरबम कार्की नै थिए । 

प्रशासनिक जिम्मेवारीबाट अवकाश लिनुभएका केदारमान सर हाल बुढ्यौलीले ग्रस्त हुनुहुँदोरहेछ । शिक्षासेवी दुर्गाप्रसाद आचार्य, पूर्वशिक्षक एवम् अवकाशप्राप्त अधिकृत नारायणप्रसाद निरौला, प्र.अ. ईश्वरप्रसाद निरौला र म भेटघाट गर्न विराटनगरस्थित उहाँको निवासमा गएका थियौँ । उहाँमा जीवनप्रति उत्साहको मात्रा कम भएको प्रतीत हुन्थ्यो । वितृष्णाको स्वर अलि तिख्खर थियो । कम्पाउण्डमा उभिएरै सामान्य भलाकुसारी भयो । बेला पनि गोधूलिको थियो । मैले जानकारी लिन चाहेका कुराहरूको जवाफ पछि पाइने विश्वासमा हाम्रो समूह फक्र्यो । केले हो भेटघाट हुनुपर्नेजति रसिलो भएन । लगत्तै भोलिपल्ट वयोबृद्ध भाषाविद् एवम् अन्वेषक बालकृष्ण पोखरेलकहाँ गएँ । उहाँको सशक्त लेखनी बुढौतीमा पनि विश्राम लिने नाम लिँदो रहेनछ । मिलनको हार्दिकता वर्णन गरिनसक्नुको थियो । मन्छ्यौलोमा बाँच्ने उहाँको जमर्को साँच्चिकै स्तुत्य थियो । बिदाइमा आँखा रसिला पारेर फकेँ । दुवै अग्रज बौद्धिक व्यक्तित्वहरूमा मेरो अगाध आस्था !

हामी सुरुमा अहिले स्कुल रहेको ठाउँदेखि अन्दाजी ५०० मिटर तल भीरगाउँको थाप्लाको सानो चौरमा ८ कोठे फुसको छानो र भाटाको बेरा भएको घरमा पढ्थ्यौँ । त्यसबेला जेलघरदेखि दक्षिणपट्टि जस्ताको छानो भएको स्कुल–घर बन्दै थियो । त्यहाँ सखुवाका मुढा चिर्ने दुइटा धरान मैले पनि देखेको हुँ । २०२१ सालमा हामी नयाँ भवनमा स¥यौँ । म पुरानो भवनमा एक वर्ष मात्र पढेँ । त्यो भवन निर्माण गर्न सरकारबाट पनि अलिकति रकम प्राप्त भएको थियो । अरू रकम मालपोत लिँदा जनताबाट थप लिनुका साथै अड्डाका कर्मचारीहरू, जिल्लाका गन्यमान्य व्यक्तिहरूबाट दानस्वरूप पनि प्राप्त गरिएको थियो । केही रकम कटारी बजारको हटिया र त्रिवेणी मेलाबाट पनि चन्दास्वरूप उठाइएको थियो । बेलाबेलामा स्कुलको जस्ताको छानो हावाले उडाइदिन्थ्यो । ढुङ्गाको भित्तो पनि दरिलो थिएन । खाँबाबिनाको घर । हावा चल्ने ठाउँमा घर बनाउने प्रविधि असाध्यै कमजोर थियो । त्यो घरले पाँच वर्ष पनि राम्ररी सेवा दिन सकेन । त्यस बेला लाहानदेखि बोकाएर ल्याइएका जुटका बोरामा प्याक भएका थुप्रै सिमेन्ट बेकार भएको देखेको हुँ । स्कुल निर्माण कमिटीले लापर्बाही गरेछ भन्ने अहिले बुझ्दै छु ।
शिक्षकहरू आउनेजाने क्रम चलिरहन्थ्यो । कृष्णकुमार खतिवडाले माया गरेर संस्कृत र नेपाली विषय पढाएको मलाई राम्रो सम्झना छ । म पढ्दाखेरि नारायणप्रसाद निरौलासँग बढी नै डराउँथे । उहाँले २०२२ सालतिर प्रशासनको जागिर खान स्कुल छोड्नुभयो । 
स्कुलमा छात्राहरूको सङ्ख्या ज्यादै न्यून हुन्थ्यो । म कक्षा ९ मा हुँदा दुइटी छात्राहरू मसँगै पढ्थे । तिनीहरू हुनेखानेकै छोरी थिए । तर पनि ती दुवैले अभिभावकको निर्णयअनुसार छिटै बिहा गर्नु परेको कारणले एस्. एल्. सी. परीक्षा दिन पाएनन् । गाउँघरमा छोरी नपढाउने सोच हाबी थियो । 
त्यसबेला सरकारले हाम्रो स्कुललाई वार्षिक एकमुष्ट रु. ७२००÷— अनुदान दिन्थ्यो । मिडिल स्कुल र प्राइमरी स्कुलले क्रमशः रु. ३३००÷— र ११००÷— पाउँथे । हाईस्कुललाई प्राप्त रूपैयाँ लिन भने सिराहा जानुपथ्र्यो । यदाकदा कटारी बजारमा पनि चन्दा उठाएर स्कुलको खर्च चलाउन थप रकम जुटाइन्थ्यो । 
म कक्षा सातमा हुँदा गणित पढाउन स्व. माधवप्रसाद दाहाल आइपुग्नुभयो । उहाँ अलि कठोर बन्नुहुन्थ्यो अनुशासनहीन विद्यार्थीहरूमाथि । सत्य हो, मैले उहाँको हातबाट पिटाइ खाइनँ । उहाँ स्याबासी दिन पनि कन्जुस्याइँ गर्नुहुन्थ्यो । उहाँले हामीलाई कक्षा दससम्म नै गणित पढाउनुभयो । उहाँको ज्यामितिमा राम्रो नियन्त्रण थियो । उहाँ ऐच्छिक गणित पनि पढाउने सामथ्र्य राख्नुहुन्थ्यो । उहाँको दाहिने फर्केको डिकाविनाको लिपि अलि अनौठो खालको देखिन्थ्यो । हामीलाई चन्द्रकान्त हेडसर अङ्गे्रजी र इतिहास पढाउनुहुन्थ्यो । उहाँ विद्यार्थीलाई पढाउन शिक्षक सदा दत्तचित्त रहनुपर्छ भन्ने सोच राखी शिक्षकहरूलाई अध्यापन कार्यमा जुट्न अलि बढी नै दबाब दिनुहुन्थ्यो । त्यसैले यदाकदा शिक्षकहरू उहाँसँग असन्तुष्ट रहन्थे । उहाँको प्रशासनिक दक्षताभन्दा अध्यापकीय क्षमता बढी प्रशंसित थियो । हाल उहाँ शिक्षक सेवाको प्रथम श्रेणीको पदबाट निवृत्त भैसक्नुभएको छ । उदयपुर जिल्लाकै शैक्षिक इतिहासको खम्बालाई मेरो हार्दिक श्रद्धा ! हामीले नेपाली र संस्कृतको ज्ञान स्व. ईश्वरीप्रसाद निरौला सरबाट नै पायौँ । एउटा सानो प्रेरणादायी घटना पनि लेख्नु मनासिब नै ठान्दछु — म कक्षा नौमा पढ्दा नयाँ साथी ओमबहादुर राउत स्कुलमा भर्ना भए । उनका अक्षर सुन्दर थिए । नेपाली र संस्कृत विषयमाथि उनको राम्रो नियन्त्रण थियो । उनका सामु म त पिच्चु ठहरिएँ । कक्षामा प्रथम भई फुर्केको थिएँ । बल्ल मलाई ठेस लाग्यो । बिस्तारै मेरो स्वाभिमान ब्यूँझ्यो, आत्मबल बौरियो । अनि उनको लेखनशैली पनि अध्ययन गरेँ । त्यसबेला चल्तीमा आएका न्गष्मभक को समेत सहारा लिएर खुब लेख्न थालेँ । ईश्वरी सरलाई बेलाबेलामा लेखेर देखाउँथेँ । बिस्तारै मेरो नेपाली भाषाको लेखनकलाको स्तर सुध्रिन थाल्यो । एस्.एल्.सी. परीक्षामा सर्वाेच्च अङ्क हासिल गर्ने मेरो क्षमताको लागि परोक्ष प्रेरणा साथी ओमबहादुर राउतजीको हो भने प्रत्यक्ष सहयोग ईश्वरी सरको नै हो । अहिले पनि म स्व. ईश्वरी सरप्रति हृदयदेखि नै आभारी छु । मेरो अप्रकाशित उपन्यास ‘उपहार’मा पनि उहाँलाई एउटा स्थान दिएको छु । त्यहाँ पनि उहाँप्रतिको मेरो आस्था पोखिएको छ । स्व. ईश्वरी सरका अक्षर पनि अलि नौला ढङ्गका तर सुन्दर थिए । उहाँ डाँडी नदिईकन लेख्नुहुन्थ्यो । उहाँले लेखेका प्रश्नपत्र पाउँदा हामी प्रफुल्ल हुन्थ्यौँ । ती अध्यापक–मणिप्रति मुरीमुरी श्रद्धाञ्जलि ! 
जिल्लाका ठूलाठालुहरू सदरमुकाममा काम परिरहने हुनाले उदयपुरगढीमा आइरहन्थे । बेलाबेलामा जिल्ला पञ्चायतका सभापति, उपसभापति र सदस्यहरूको चुनाव भइरहन्थ्यो । पहिलो जि. पं. सभापति भैरबीप्रसाद पोखरेल हुन् भने पहिलो रा.प.स. हुने सौभाग्य पनि उनैलाई प्राप्त भयो । उनले सभापति पद त्याग गरेपछि सभापति हुने ज्ञानेन्द्रप्रसाद ढुङ्गाना हुन् । काङ्ग्रेसी पृष्टभूमि भएका हुनाले कांग्रेसप्रति कुदृष्टि राख्ने बडाहाकिम लेकविक्रम राणासँग केही कुरामा खटपट परेपछि उनले राजिनामा दिएर राजनीतिको राम्रो रस नबुझेका आफ्ना मीत चक्रबहादुर बस्नेतलाई सो पदमा स्थापित गराए । २०२२ सालको चुनावमा दुई वर्षे कार्यकाल भोगेका भैरबीप्रसाद पोखरेललाई कटकबहादुर कार्कीले रा.प.स. पदमा हराए । २०२३ सालमा भएको जिल्ला पञ्चायत सभापति पदको चुनावमा तत्कालीन प्रशासक मङ्गलकृष्ण श्रेष्ठको सद्भाव पाएका चक्रबहादुर बस्नेतले ज्ञानेन्द्रप्रसाद ढुङ्गानालाई सहजै परास्त गरे । २०२५ सालमा उपसभापति बनेका युवा चन्द्रप्रसाद ढुङ्गानाले  कार्यबाहक सभापति भई गरेका कार्य निकै चर्चामा थिए । हाल कटारी–मिर्चैया बाटोको कोप्चे खण्डको डोरो खन्नमा उनी र उनका अनन्य साथी खिलराज उपाध्यायको बढी नै सक्रियता थियो । पछि सडक विभागले त्यही डोरोलाई विस्तार ग¥यो । भरिलो राजनीतिक व्यक्तित्व ठानिएका चन्द्रप्रसाद ढुङ्गानाले भरखरै बन्दै गरेको जलजलेदेखि उत्तरपट्टिको चुरेको धूले–सडकमा ट्रक दुर्घटनामा परी ४१ वर्षको अल्पायुमा नै संसारबाट विदा लिए । उनलाई मेरो अभिभावकीय श्रद्धाञ्जलि ! २०२६ सालमा भएको सभापतिको चुनावमा जित पुनः चक्रबहादुर बस्नेतको भाग्यमानी थाप्लालाई जु¥यो । उनलाई जिल्लामा सबैले तुलनात्मक रूपमा भद्र भन्थे । उनकै काका अम्मेबरसिंह बस्नेत ज्यान परेका ‘ठालुहरूका पनि ठालु’ गनिन्थे । उनको शौखिन एवम् खर्चालु मिजासले मैँ हुँ भन्नेहरू पनि सधैँ उनका वरिपरि झुम्मिन्थे । अन्य पूर्वेली नेताहरूमा देवनाथ पञ्जियार र अभिमन्यु सेँढाईको नाउँ चर्चामा थियो । अन्य पश्चिमेली नेताहरूमा उजिरबहादुर थापा, यम्बरबहादुर राउत, कृष्णबहादुर ठकुरी आदि गन्तीमा थिए । पछि रा.प.स. हुनेहरूमा हरिबहादुर बस्नेत र चक्रबहादुर बस्नेत थिए । हरिबहादुर बस्नेत भने धेरैपल्ट मन्त्री भए । २०२७ सालमा रा.प.स. र सभापति दुवै पद एउटै समृद्ध घरानामा केन्द्रित भएपछि उदयपुरगढीको भाग्यमा ग्रहण लाग्यो । जिल्लाको सदरमुकाम सार्ने प्रपञ्च थालियो, र त्यो सफल पनि भयो । पछि जि.पं. सभापति हुनेहरू खिलराज निरौला, ज्ञानेन्द्रप्रसाद ढुङ्गाना र भक्तबहादुर ठकुरीमध्ये पछिल्ला नै लोकप्र्रिय भए । उनी तुलनात्मक रूपमा आजका बहुदले नेताभन्दा इमान्दार थिए । गाईघाट, मोतीगडामा क्याम्पस स्थापना गर्नमा उनको योगदानको चौतर्फी प्रशंसा भएको थियो । आफ्नो जन्मगाउँ ठानागाउँको विकासमा भने उनको रुचि बढी नै थियो । तीनै जना सामाजिक अगुवाहरू स्वर्गे भइसके । उनीहरूको समाजसेवाप्रति हार्दिक कुतज्ञता ! भैरबीप्रसाद पोखरेलले रूपाटारमा २०१७ सालमा मिडिल स्कुल खोल्न निर्णायक भूमिका खेले । थारु जातिका एकछत्र नेता बनेका देवनाथ पञ्जियार जिल्लाभरिकै उत्कृष्ट शिक्षासेवी हुन् । उनले २०२३ सालमा नै देउरीमा हाइस्कुल खोल्न र सञ्चालन गर्न ठूलो योगदान दिए । २०२४ सालमा कटारी र गाईघाटमा पनि स्कुल खुले । त्यस कार्यमा चक्रबहादुर बस्नेतको सदभाव थियो । देउरी, कटारी र गाईघाट स्कुलका स्थापनाकालीन प्रधानाध्यापकहरू क्रमशः राजदेवसिंह, मोहनप्रसाद श्रेष्ठ र बिष्णुबहादुर राउत (सप्तरी) थिए । बसाइँ सरिसकेपछि पनि कटारीको स्कुल भवन निर्माण गर्न गुमानसिंह राउतले देखाएको सक्रियता कदरयोग्य मानिएको छ । त्रियुगा, राजाबासमा जनताले खालेको स्कुलमा अम्मेबरसिंहको आर्थिक सहयोगको कारणले अहिले त्यो स्कुलको नाउँमा उनको पनि नाम गाँसिएको छ । शिक्षाक्षेत्रमा भोजपुरमा जन्मेका २००७ सालका क्रान्तिकारी योद्धा एवम् पूर्वमन्त्री नारदमुनी थुलुङ्गले बसाहा झोरामा बसोबास गरी माध्यमिक विद्यालय पनि स्थापना गर्नमा दिएको योगदान प्रशंसनीय छ । उनको सेवाको मूल्याङ्कन गरेर हाल त्यो विद्यालयको नाम पनि नारद आदर्श उ.मा.वि. राखिएको छ । भौतिक संसार छोडिसकेका शिक्षाप्रेमीहरू देवनाथ पञ्जियार, अम्मेबरसिंह बस्नेत, गुमानसिंह राउत र नारदमुनी थुलुङलाई भावपूर्ण श्रद्धाञ्जलि ! 

२०२२ सालमा स्कुलमा विद्यार्थी संगठनको चुनाव भयो । शिक्षकहरूले कक्षा चारमा अध्ययनरत सीता बी.सी.लाई कार्यसमितिको सदस्य पदमा जिताउने सोच बनाउनुभएछ, र हामीलाई कक्षामै आएर भन्नुभयो— ‘सीतालाई अनिवार्य भोट दिनू,’ । सीता रूपासे थिइन् । उमेर पनि पूर्ण जवानीतिर उन्मुख थियो । मैले त शिक्षकको आज्ञा तामेल गरेँ र एउटा भोट तिनलाई पनि दिएँ, यद्यपि तिनीसँग मेरो बोलचालसम्म थिएन । पछि भोट गन्ती गर्दा सभापतिका विजयी उम्मेदवार शंकरप्रसाद ढुङ्गानाको भन्दा तिनको ४ भोट घटी थियो । शिक्षकको आदेश बिस्तुर गएकोमा म ताज्जुब भएँ । पछि सभापति शंकरप्रसाद ढुङ्गाना काठमाडौँमा हुने केन्द्रीय अधिवेशनमा सरकारी खर्चमा सहभागी भए । त्यसबेलाको सरकार नियन्त्रित केन्द्रीय विद्यार्थी संगठनका सभापति हेमन्त बी. सी. थिए ।  

पछि स्कुलमा एकपटक चुनाव भयो । रत्नप्रसाद काफ्ले सभापति पदमा विजयी भए । त्यसपछि किन हो चुनाव हुनै छोड्यो । 

अड्डाका कर्मचारीहरू सुकिला लुगा लगाएका हुन्थे । उनीहरूसँग डर लाग्दैनथ्यो । उनीहरू मलाई कुनै दृष्टिले पनि काम लाग्दैनथे । त्यसैले चिनाजानी गर्न पनि प्रयास गर्दिनथँे । स्कुलको छेउमा जेलघर थियो । त्यहाँ सधैँ पुलिसको पहरा हुन्थ्यो । बन्दुक बोकेका पुलिस देख्ता भने डर लाग्थ्यो । बाहिरबाट हेर्दा जेल–भवन निकै ठूलो थियो । त्योभन्दा पहिले मैले त्यत्रो घर देखेकै थिएन । मलाई त्यो घरभित्र पसेर हेर्ने कम्ती रहर लागेको हैन ! तर हेर्न पाइनँ । म फुचेलाई कसले पत्याउँथ्यो र भित्र जान दिन्थ्यो ! त्यही पनि अस्थानीय ! मेरा स्थानीय साथी होमबहादुर गुरुङ र किशोरीप्रसाद कोइराला अड्डाका कर्मचारी र पुलिस सबैलाई चिन्दथे । कठै, बेलैमा चिनिसक्नुप’¥या रहेछ ! अघिल्ला साथी बाँच्न सङ्घर्ष गर्दागर्दै केही दिन बाँचेर मरे भने अर्काचाहिँ मर्ने प्रयास गर्दागर्दा अन्तमा सफल भए, र मरे । अपरिहार्य प्राप्तिको लागि कस्तो मरिमेटाइ ! जीवनको विविधता त्यहाँ पनि देखा प¥यो । दुवै मेरा मिलनसार साथी थिए । म थिएँ आप्रवासी पिलन्धरे बाहुन ! धन्न कक्षामा अबल दर्जाको छात्र बन्न पुगेँछु । र नै, विद्यालयमा इज्जत थियो । शिक्षकहरू पनि माया गर्नुहुन्थ्यो, ‘तिमी’ भनेर बोलाउनुहुन्थ्यो । त्यसबेला शिक्षकबाट ‘तिमी’ सम्बोधन पाउनु चानचुने उपलब्धि मानिँदैनथ्यो । भन्नै पर्छ, म स्कुलमा छँदा अलिअलि पुल्पुलिएकै थिएँ । 

त्यसताका हामीलाई विज्ञान पढाउने शिक्षकहरू फेरिइरहनुहुन्थ्यो । सायद विज्ञान पढाउने शिक्षकको निकै अभाव हुन्थ्यो । एकजना श्रीनारायण साह सर हुनुहुन्थ्यो । हामी उहाँलाई आई. एस्सी. सर भन्थ्यौँ । नामको प्रयोग भने साह्रै कम गथ्र्यौँ । उहाँ असाध्यै राम्रो शिक्षक हुनुहुन्थ्यो । पछि पढ्नका लागि छात्रवृत्ति पाएर बेरुत जानुभयो । अरू शिक्षकहरूमा स्व. शिवप्रसाद निरौला, स्व. चिरन्जीवीप्रसाद आचार्य, अरूण गिरी, आनन्द गिरी, नारायणबहादुर कार्की, बिष्णुबहादुर राउत (सप्तरी), भोला चौधरी, विनोद बराल, शंकरप्रसाद ढुङ्गाना आदि हुनुहुन्थ्यो । 

जिल्लाका मुख्य हाकिम मङ्गलकृष्ण श्रेष्ठ खरो स्वभावका थिए । अपराधीलाई आफैँ कोर्राले कुट्थे भन्ने कुरा सुन्दथेँ । उनका छोरा मेरा सहपाठी थिए । तिनी मलाई निकै मान्दथे । त्यो मनितोमा मेरो स्वार्थ भने पटक्कै थिएन । उनी दैनिक नै मेरो डेरामा आउँथे । पढ्र्न लगनशील थिए । मकहाँ आफ्ना कक्षाका अरू पनि आउँथे । अचेल ती हाकिमपुत्र मित्रजीसँग भेटघाट हुँदैन । अब त देखेँ भने पनि चिन्छुजस्तो लाग्दैन । त्यो सम्बन्ध झाङ्गिएर पनि ओइलाएको देख्दा त्यसको वीजारोपण नै नभएको भए हुन्थ्यो जस्तो लाग्छ । कुनै मित्रता मरेर पनि बाँचेका हुन्छन् भने कुनैचाहिँ बाँचेर पनि मर्दारहेछन् । अचम्मको छ मित्रताको संसार ! उनै हाकिम मङ्गलकृष्णकी छोरी सुलोचना श्रेष्ठ पञ्चावती हाईस्कुलबाट एस्.एल्.सी. परीक्षा उत्तीर्ण हुने पहिलो छात्रा हुन् । तिनले २०२७ सालमा एस्.एल्.सी. पास गरेकी हुन् ।  

रामपुर थुमका शक्तिशाली एवम् चतुर ठालु नैनध्वज ठकुरीका कान्छा छोरा सुदर्शनबहादुर सिंह ठकुरी २०२२ सालमा पहिलो भूमिसुधार अधिकारी भएर उदयपुरगढी आए । उनी निकै फाँफाँफुँफुँ गर्ने खालका रहेछन् । उनको आफ्नै बाबुसँग पनि टक्कर पथ्र्याे भन्ने समाजमा चर्चा थियो । उनले त्यसबेलाका जिल्लाका भूमिपति र साहुहरूको सातो बुकाएका थिए । विडम्बना ! उनी आफैँ खुँखार सामन्तका छोरा थिए । उनको अफिस स्कुलको छेउमै थियो । उनी चौरमा हाकिम मङ्गलकृष्ण आदिसँग ब्याडमिन्टन खेल्थे । उनको रसिकता, सौखिनपना र अय्यासी ठकुरीजातसँग मिल्दो थियो भन्ने चर्चा हुन्थ्यो । त्यसपछि मैले उनलाई देखेको छुइनँ । उनी जागिरेले पाउने सर्वोच्च दर्जा नेपाल सरकारको सचिव पदबाट निवृत्त भए । दरबारी नाता गाँसिएकाले उनलाई अरूसँग घुलमिल हुन अलि असहज लाग्थ्यो । सामन्ती सँस्कारले उनलाई पिरोलेकै हो !
२०२५ सालमा पञ्चावती हाइस्कुलले पहिलो पटक एस्.एल्.सी.मा दुइटा विद्यार्थीहरू प्रथम श्रेणीमा उत्तीर्ण गराउन सक्यो । संयोगले ती विद्यार्थीहरू ओमबहादुर राउत र म नै थियौँँ ।

हाम्रो एस्. एल्. सी. परीक्षा चलिरहेका बेला साथी वृषबहादुर तामाङलाई पितृशोक प¥यो । उनी रुँदै घर फर्के । हामी खिन्न भयौँ । अघिल्लो दिन काठमाडौँमा गडबडी भएका कारणले भोलिपल्टदेखिको परीक्षा स्थगित भयो । दस दिनपछि पुनः परीक्षा सञ्चालन हुने जानकारी दिइयो । वृषबहादुरलाई जाँचमा सम्मिलित हुने मौका पुनः प्राप्त भयो । संयोग पनि कस्तो ! साथी द्वितीय श्रेणीमा उत्तीर्ण भए । 

आई. ए. परीक्षा दिइसकेपछि पनि २०२७ साल फागुनमा म चार महिनाका लागि आफू विद्यार्थी बनेको स्कुलमा शिक्षक भएँ । त्यसबेला म मासिक रु. १२०÷— खान्थेँ । पूर्वसचिव टीकादत्त निरौला पनि त्यहीँ नै शिक्षक थिए । मैले असारमा बी.ए. पढ्न भनी स्कुल छोडेँ । बी.ए. जाँच दिएर आएपछि २०३० साल बैशाख १९ गतेदेखि म निरन्तर पञ्चावती मा.वि.(२०६४ सालमा उ.मा.वि. भएको) उदयपुरगढी र २०३५ असोजदेखि त्रिवेणी मा. वि.(२०५३ सालमा उ.मा.वि.भएको) कटारीको शैक्षिक इतिहासको साछी छु । 

मूलभवन भत्किनाले स्कुलमा २०२७ सालदेखि नै भवनहरूको अभाव हुन थालेको थियो । अड्डा सरेपछि तिनै पुराना कार्यालय भवनहरूमा स्कुलका कक्षाहरू सञ्चालन भए । पछि पुरानो गढी–भवन र जेल–भवनका इँट र जस्ता प्रयोग गरेर बनाइएको हालको विद्यालय भवन निकै टिकाउ छ । म ञ्चावती मा.वि.मा कार्यरत रहँदा त्यहाँ नारायणबहादुर कार्की प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँले त्यो स्कुलको लागि दिएको योगदान कदरयोग्य छ ।
राधारमण उपाध्यायसँग भने काठमाडौं आइ. ए. पढ्न गएपछि नै चिनाजानी भएको हो । उहाँ त्यसबेला खोटाङ जिल्लाका प्र.जि.अ. हुनुहुन्थ्यो । तास नखेल्ने कर्मचारी हुनाले छुट्टीका दिन उहाँसँग फाल्तू समय हुन्थ्यो । त्यसैले नयाँ पुस्तासँग घुलमिल हुन र फुर्सद काट्न उहाँ मकहाँ बाक्लै आउनुहुन्थ्यो । भनिरहनु नपर्ला, ममा हिँड्ने क्षमता न्यून हुनाले म अन्त कमै जान्थेँ । उहाँ मैले लेखेका कपी हेरेर सुझाव दिनुहुन्थ्यो । म पनि नजानेका कुरा सोध्थेँ । उहाँ मलाई Democracy को मर्म बुझाउनुहुन्थ्यो । उहाँकै चासो र सक्रियतामा मेरो पोलियो रोगको उपचार हुनसक्छ कि भनी त्यसबेलाका चर्चित सर्जन दिनेशनाथ गङ्गोलकहाँ जचाउन लगियो । उनले प्रयास गर्छु भनी परीक्षण गर्ने नियतले वीर अस्पतालमा भर्ना गरेर चार महिना र बीस दिन राखे, यद्यपि उनी मेरो रोगका विशेषज्ञ थिएनन् । मेरो उपचारका लागि आवश्यक व्यायाम गराउने साधन पनि अस्पतालमा थिएन । परिणाम जे हुनुपथ्र्यो, त्यही भयो । मैले विनाउपलब्धि अस्पतालबाट छुट्टी पाएँ । मूल्यवान् समयभने खेर गयो ! एउटा कुरा भनेर चाहिँ चित्त बुझाउन सकिन्छ । त्यो के भने मैले रोग निको हुन्छ कि भनेर प्रयत्न नगरेको हैन । प्रयास आफैँ हारेको हो । बाँच्नका लागि यस्तो सान्त्वनाको पनि जरुरत पर्दोरहेछ । जे भयो ठीकै भयो । म अस्पतालमा हुँदा राधारमणजी प्रातःभ्रमणका क्रममा लगभग दिनहुँ ८ बजेतिर मलाई भेट्न आउनुहुन्थ्यो । एउटा शुभेच्छुक अभिभावकले वहन गर्ने दायित्व उहाँले निर्वाह गर्नुभएको हो । उहाँप्रति म चिरऋणी छु । अहिलेसम्म पनि उहाँ मलाई बढी नै माया गर्नुहुन्छ । उदारमना व्यक्तित्वलाई मेरो सम्मान !

२०३१ सालमा जिल्लामा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भयो । केन्द्रमा विद्रोही विद्यार्थीहरू नक्कल गरिएको र दास उत्पादन गर्न लागू गरिएको शिक्षा भनी त्यो योजनाको विरोध गर्थे । पहिलो जि.शि.अ. विश्वरामभक्त माथेमा थिए । उनी अङ्ग्रेजी, गणित, संस्कृत, इतिहास भूगोल आदि विषयमा राम्रै दखल राख्थे । मान्छे स्वच्छ चरित्रका र सीधा थिए । सरकारी शिक्षकबाट काजमा आएका रहेछन् । उनमा शिक्षकीय आदर्श पर्याप्त मात्रामा थियो । राम्रै काम गरूँ भन्ने सोच थियो उनको । चतुर प्र.जि.अ. शरदकुमार भट्टराईले जस आफू लिने अपजस विश्वरामभक्तलाई बोकाउने गर्दा हिँड्ने बेलामा निकै खिन्न भएर उनले ‘जिल्लामा काम गर्दा आफू  बाहुनजालमा परेको  बताएका थिए । 

२०३२ साल पुसमा मैले ‘कोही किन बरबाद होस्’ भन्ने विजय मल्लजीको नाटकलाई सङ्क्षेपीकरण गरेँ । अनि केही गीतहरू पनि लेखेँ । हिउँदका विश्रामका दिनमा शिक्षक नारायणबहादुर कार्कीको नेतृत्वमा नाटक टोलीले नेपालटार, रिस्कू, कटारी आदि ठाउँमा गएर साँस्कृतिक कार्यक्रम प्रदर्शन ग¥यो । त्यसमा हरिशंकर परियारको सक्रियता निकै बढी थियो । केही धान, पैसा पनि सङ्कलन भएको थियो । त्यो रकम रचनात्मक कार्यमा नै खर्च गरियो । 

२०४० सालमा पञ्चावती मा. वि. उदयपुरगढीमा एस्. एल्. सी. परीक्षा–केन्द्र कायम भयो । त्यसले स्कुलको चहलपहलमा बढोत्तरी नै ग¥यो । हाल सेनाको एउटा टोली माथिल्लो टुँडिखेल कब्जा गरेर बसेको छ । माईको दर्शन गर्न जान पनि निकै घुम्नुपर्छ  ।

२०६४ सालदेखि पञ्चावती माध्यमिक विद्यालय (१०ं२) कक्षा पनि सञ्चालन भएको सुन्दा खुसी लागेको छ । विद्यालय–सञ्चालकहरूलाई बधाई । विद्यालयको उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभ–कामना ! 
सम्पन्नताको सिँढीमा चढेका प्रशासनिक सेवामा काम गर्नेहरू शिक्षण पेसा अपनाउनेलाई नजानिँदो पाराले तिरस्कार गर्छन् । त्यस्तो देख्दा ‘आचार्यदेवो भव’ भन्ने शिक्षा पनि अपमानित भएजस्तो महसुस हुन्छ । कहीँ आपूm शिक्षक भएर मैले यस्तो आदर्श ओकलेका त हुइनँ ! सचेत दिमागहरू विश्लेषण गरून् ! हरेक मान्छेले आपूmमा ज्ञानको ज्योति बालिदिने कम्तीमा एक जनालाई ‘गुरु’को सम्मान दिनुपर्छ । आदरणीय व्यक्तिलाई बेवास्ता गर्ने सँस्कारले भोलि आपूm तिरस्कृत हुने आधार तयार गरिरहेको हुन्छ । केही पाउन केही दिनु पनि पर्छ । सामाजिक व्यवस्था लेनदेनमा नै चलेको हुन्छ । 

उदयपुरगढीका स्थानीय शिक्षासेवीहरूमा स्व. नरबम कार्की, स्व. त्रिलोचन कोइराला, स्व. नृपबहादुर गुरुङ, स्व. खिलराज निरौला, स्व. बोलराज निरौला, स्व. मोदनाथ भट्टराई, स्व. ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, दुर्गाप्रसाद आचार्य, दाताराम शर्मा, देवीप्रसाद ढुङ्गाना, अमृतबहादुर कार्की आदि उल्लेखनीय थिए । देहमुक्त आत्माहरूलाई चिरशान्ति मिलोस् ! मैले थाहा पाएसम्म स्कुलमा सेवारत रहेकै अवस्थामा स्वर्गीय हुने शिक्षकहरूमा चित्रबहादुर गुरुङ, ईश्वरीप्रसाद निरौला र देवनाथ सिग्देल तथा सेवाबाट अलग भएपछिको अवस्थामा स्वर्गे हुने शिवप्रसाद निरौला, चिरञ्जीवीप्रसाद आचार्य, माधवप्रसाद दाहाल र भक्तिविलाश तिम्सिना आदि शिक्षकहरूमा हार्दिक श्रद्धाञ्जलि ! त्यस स्कुलका विद्यार्थी भई हालसम्म नश्वर देह त्याग गर्नेहरूमध्ये गिरिराज पोखरेल, केशवप्रसाद निरौला, हरिप्रसाद तिम्सिना, कृष्णप्रसाद ढुङ्गाना, रेवतीरमण भट्टराई, होमबहादुर गुरुङ, किशोरीप्रसाद कोइराला, गोपीलाल तुलाधर, देवनाथ सिग्द्याल, गिरिराज परियार, सक्कली गुरुङ, अच्युतम निरौला, सावित्रा सिग्देल, ताराबहादुर कार्की, उद्धव पाण्डे, ध्रुवप्रसाद तिम्सिना, सावित्रा निरौला (रेग्मी), गोविन्दप्रसाद तिम्सिना, भोलाकुमार ढकाल आदिमा स्नेहाञ्जलि ! 

पञ्चावती हाईस्कुलमा अध्यापन गर्नेहरूमध्ये मिजासिलो स्वभाव भएका राधारमण उपाध्याय नेपाल सरकारको सचिवस्तरको जागिरबाट अवकाश प्राप्त गरी अ.दु.अ.आ.को प्रमुख आयुक्तजस्तो गरिमामय पदमा पनि आसीन हुनुभयो । ‘पञ्चावती सद्भाव समाज’का संरक्षकसमेत रहनुभएका उपाध्याय हाल लेखनकार्यमा व्यस्त भएर उराठलाग्दो बुढ्यौलीलाई सहज एवम् रचनात्मक बनाउँदै हुनुहुन्छ । उहाँको अभिरुचि धार्मिक ग्रन्थहरूको अनुवादमा बढी केन्द्रित छ । सेवामुखी चरित्र भएका लक्ष्मणप्रसाद आचार्य विशेष सचिव पदबाट निवृत्त हुनुभयो । पूर्वशिक्षक खड्गप्रसाद गिरीले प्रहरी सेवाबाट अवकाश पाइसक्नुभएको छ । केही समय पञ्चावती हाईस्कुलमा शिक्षकसमेत हुनुभएका टीकादत्त निरौला र शंकरप्रसाद ढुङ्गानाले क्रमशः सचिव र महानिर्देशक पदबाट विश्राम लिइसक्नुभएको हो । शंकरप्रसादले आफ्नो फुर्सदी जीवनलाई श्यामाश्याम धाम, ठिमीमा समर्पण गर्नुभएको छ । नारायणबहादुर कार्कीले भने शिक्षण पेसा छोडेर राजनीतिलाई नै आफ्नो सेवाक्षेत्र बनाउनुभयो भने उहाँका सहपाठी चक्रबहादुर श्रेष्ठ रिटायर्ड इन्जिनियर बनेर अझै पनि सक्रिय जीवन बाँच्न उत्साहित देखिनुहुन्छ । विद्यार्थीहरूमध्येमा हरिशंकर परियार सहायक मन्त्री हुनुभयो भने मधुरमण आचार्य नेपाल सरकारको सचिव पदबाट अनिवार्य अवकाशमा परेतापनि हाल उहाँ संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिको रूपमा कार्यरत हुनुहुन्छ । जगन्नाथ खतिवडा २०५६ को आमनिर्वाचनमा प्रतिनिधिसभाका लागि उदयपुर जिल्लाको क्षेत्र नं. २ बाट सदस्य निर्वाचित हुनुभएको हो ।

पञ्चावती हाईस्कुलमा अध्ययन गरेर हाल उच्च प्रशासनिक, न्यायिक तथा संस्थान क्षेत्रमा कार्यरत रहनेहरूमा काशीनाथ पोखरेल, प्रेमराज कार्की, डिल्लीरमण आचार्य, आनन्दराज पोखरेल, प्रेमप्रसाद ढुङ्गाना, सीताप्रसाद पोखरेल, यादवप्रसाद ढुङ्गाना, शंकरबहादुर कार्की, कृष्णप्रसाद निरौला, शारदाप्रसाद दाहाल, बालकृष्ण पोखरेल, वृषबहादुर तामाङ, चण्डेश्वरप्रसाद पोखरेल, शीतलप्रसाद पोखरेल, शंकरप्रसाद निरौला, ठाकुरप्रसाद निरौला, प्रदीपकुमार निरौला, खड्गबहादुर कार्की, हीराबहादुर श्रेष्ठ, पद्मराज कार्की, बिष्णुप्रसाद ढुङ्गाना, केदारप्रसाद आचार्य, महेश्वर दाहाल, मदन निरौला, बालकृष्ण भट्टराई, खड्गबहादुर थापा मगर, राजकुमार खड्का आदिको नाउँ उल्लेखनीय छ भने शैक्षिक क्षेत्रमा ईश्वरप्रसाद निरौला, राजेन्द्रप्रसाद निरौला, विश्वराज ढुङ्गाना, बालकृष्ण ढुङ्गाना, भोलाकुमार श्रेष्ठ, ओमकार थापा, रत्नप्रसाद काफ्ले, नारायणप्रसाद काफ्ले, दीनानाथ दाहाल, डम्बरबहादुर मगर, रवि बी.सी. टंकबहादुर खत्री, तारा काफ्ले आदिको नाउँ लिनै पर्ने हुन्छ । विदेशतिर गएर जीविकोपार्जन गर्नेहरूमा मणिप्रसाद ढुङ्गाना, मातृकाप्रसाद ढुङ्गाना, उद्धवप्रसाद ढुङ्गाना, माधवप्रसाद आचार्य, राजेश निरौला, हिमाल खत्री आदिको नाम लिन सकिन्छ । ‘पञ्चावती सद्भाव समाज’का अध्यक्ष रहनुभएका ओमबहादुर राउत बेलाबेलामा हाइड्रो इन्जिनियरिङ्गको सेवा प्रदान गर्न विदेश गइरहनुहुन्छ । डा.पुरुषोत्तम निरौला र जनार्दन खतिवडाबाट क्रमशः बालबालिका र आँखाका रोगीहरूको सेवा भइरहेको छ । साहित्यिक फाँटमा विश्वराज ढुङ्गाना र मातृका पोखरेल देखा परेका छन् । विश्वराज ढुङ्गानाका ‘सरल रामायण’, ‘सरल पञ्चतन्त्र’, ‘आमाको कथा’ (काव्य) र ‘पञ्चतन्त्र’ तथा मातृका पोखरेलका कविता–सङ्ग्रहहरू ‘सेतो दरबारको छेउबाट’, ‘यात्राको एउटा दृश्य’, र ‘अनुहारहरू’ तथा कथा–सङ्ग्रह ‘संत्रस्त आँखाहरू’ प्रकाशित छन् । शंकरप्रसाद ढुङ्गानाले राधालीलामृत लेखेर भक्तिसाहित्यमा रुचि जाहेर गरेका छन् । मधुरमण आचार्यले अंग्रेजी भाषामा Nepal Encyclopedia / Business of Bureaucracy नाउँका पुस्तक लेखेका छन् । राजनीतिक क्षेत्रमा नारायणबहादुर कार्की, हरिशंकर परियार र जगन्नाथ खतिवडा तीन अलग–अलग धारका प्रतिनिधित्व गर्छन् । महिलाहरूमा I.N.G.O.मा कार्यरत ‘पञ्चावती सद्भाव समाज’का उपाध्यक्ष छिङलमु शेर्पा चर्चित छिन् । पिएच्.डी. डिग्री प्राप्त गरेका कोही छैनन् । सो डिग्री प्राप्त गर्न अग्र पंक्तिमा रहेका भाइबहिनीहरूलाई अग्रिम बधाई ! मधुरमण आचार्यकी श्रीमती गीता शर्मा (आचार्य)ले भरखरै ‘पानी’सम्बन्धी विषयमा विद्यावारिधिको शैक्षिक उपाधि हासिल गरेकीमा तिनलाई बधाई । बौद्धिक राजनीतिक व्यक्तित्वहरूमा ज्ञानेन्द्रमानसिंह राउत र हीराकुमार श्रेष्ठको नाउँ उल्लेखनीय छ भने विश्वविद्यालय सेवामा रही योगदान दिनेहरूमा हीराकुमार श्रेष्ठ र यादवप्रसाद ढुङ्गानाको नाम बिर्सन मिल्दैन । चतुरबहादुर राई पर्यटन व्यवसायमा संलग्न छन् । जादूसम्बन्धी कलाकारको रूपमा दीपक कोइराला चिनिन थालेका छन् । पद्मराज पोखरेल, जगतमणि पोखरेल, हेमराज ढुङ्गाना आदि जागिरे जीवनबाट विश्राम लिएर बसेका छन् । पञ्चावती मा.वि.मा शिक्षकको रूपमा थोरै दिन सेवा गरेका लक्ष्मण थापा नेपाल सरकारको निजामती सेवामा कार्यरत छन् । माथि उल्लिखित व्यक्तिहरूबाहेक यी पङ्क्तिका लेखकलाई जानकारी नभएका वा भूलले लेख्न छुटेका  सुपात्र व्यक्तित्वहरूप्रति हार्दिक श्रद्धा औ प्रेमभाव अर्पण गर्दछु । 

समग्रमा भन्नु पर्दा उदयपुर जिल्लाका पश्चिमी क्षेत्रका व्यक्तित्व (हाल विराटनगरवासी) बालकृष्ण पोखरेल ‘रूपावासी’ले जिल्लाकै बौद्धिक नेतृत्व गर्नुभएको हो । उहाँ उदयपुरका मात्र नभएर राष्ट्रकै गर्विला स्रष्टा मानिनुहुन्छ । उहाँले मदन पुरस्कार (२०२१), त्रिभुवन प्रज्ञा पुरस्कार (२०५१) आदि अनेकाँै पुरस्कारहरू पाउनुभएको छ । उहाँको ‘खस जातिको इतिहास’ एक उच्च कोटीको अनुसन्धानमूलक ग्रन्थ हो । मध्यक्षेत्रका राधारमण उपाध्याय (हाल काठमाडौँवासी) जागिरे शैलीको जीवनपद्धतिका अगुवामा दरिनुहुन्छ । पूर्वीक्षेत्रका अम्बेबरसिंह बस्नेत, हरिबहादुर बस्नेत, चक्रबहादुर बस्नेत आदिले अघिल्लो पुस्ताको एकछत्र राजनीतिक अगुवाइ गरेका हुन् भने भौतिक समृद्धिमा पनि त्यो परिवारले अरूलाई उछिनेकै हो । 

पुराना जागिरेहरूमा रूपाटारवासी सुब्बा शारदाप्रसाद पोखरेल र बडाहाकिम नारायणप्रसाद पोखरेलको नाउँ सगर्व लिइन्छ । पूर्वीक्षेत्रबाट निजामति सेवाका उच्च तहमा पुग्नेहरूमा खगेन्द्र बस्नेत र दीप बस्नेत प्रमुख मानिन्छन् । पिएच्. डी. गर्नेहरूमा पूर्वघर लेखानी तथा कटारी हुने रामकुमार दाहाल (राजनीतिशास्त्र), पूर्वघर इनामे तथा रिस्कु हुने सुरज ढुङ्गाना (रसायन–विज्ञान) र भोजपुरमा जन्मी उदयपुरलाई कर्मक्षेत्र बनाउने नारायण खड्का (अर्थशास्त्र)का नाउँ गन्तीमा छन् । त्रि.वि.वि.का प्राध्यापक डा. रामकुमार दाहालले राजनीतिक शास्त्रसँग सम्बन्धित मनग्य किताबहरू लेखेका छन् भने राजनीतिकर्मी एवम् समाजसेवी डा. नारायण खड्काका समसामयिक विषयका लेखहरू देशभित्र र बाहिर पनि पत्रपत्रिकामा प्रकाशित भइरहन्छन् । पीएच्.डी. उपाधिधारी अन्य व्यक्तिहरूमा सुन्दरपुरवासी डा. कुलप्रसाद कोइराला (नेपाली) र चौदण्डीवासी डा. उपेन्द्र कोइराला (अर्थशास्त्र) को कर्मक्षेत्र जिल्लाभित्र नभए पनि उनीहरूलाई उदयपुरे न भन्ने गरिन्छ । अलगअलग राजनीतिक धार लिई बाँचेका यी प्राध्यापकहरू आ–आफ्ना क्षेत्रमा सम्मानित छन् । चौदण्डीवासी वासुदेव मुनाल उदयपुरका कलारत्न मानिन्छन् भने गाईघाट असारीका मनोहरि थापा जिल्लाकै स्वर–शिरोमणि हुन् । अनिता परियार सङ्गीत–संसारकी उदाउँदी नक्षत्र हुन् । लेकगाउँ, चाराङमा जन्मी जनकपुरमा हुर्केका डा. दामोदरप्रसाद पोखरेल मानवको मुटुका उत्कृष्ट रक्षकमा गन्ती हुन्छन्् । नागरिक समाजका अगुवाहरूमा शम्भुकुमार थापा (अध्यक्ष, नेपाल बार एसोसिएसन) र प्रकाश राउत (अध्यक्ष, सर्वोच्च बार)को नाउँ उल्लेखनीय छ । नेपालमा लोकतान्त्रिक आन्दोलनको अभियानमा शम्भुकुमार थापाको योगदान प्रशंसनीय रहेको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्थामा सेवारत संंजीव थापा (अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी) को भूमिका सराहनीय छ । प्रजातन्त्रोत्तर कालका जिल्ला विकास समितिका सभापति हरिशंकर परियार र वेदप्रसाद पोखरेल जनअनुमोदित हुन् भने शाही ‘कू’पछिको पुरस्कार कोटामा परी सभापति पदको दायित्व वहन गर्न पाउने भाग्यमानी पात्रमा बोधराज बस्नेत र हीराकुमार श्रेष्ठको नाउँ दर्ता छ ।   

साहित्यिक फाँटमा तावाश्री, फलाँटेमा १९३३ सालमा जन्मेका स्व. कवि लोकनाथ पोखरेलले जनताका आवाजलाई काव्यमा रूपान्तरण गरेको रचना ‘लोकमञ्जरी’ एकपटक पढ्नै पर्ने काव्य ग्रन्थ हो । लेकगाउँ, ताप्लीवासी पुष्पलाल गिरीले २०२० सालतिर प्रवासमा रहँदा कवितामा लेखेर छपाएको ‘भूगोल दर्पण’ अप्राप्य बनिसकेको छ । हाल जिल्लाभित्र रहेर राममणि पोखरेल, कुमारसिंह कार्की, पुण्य कार्की आदि लेखन क्षेत्रमा चिनिएका नाम हुन् । साहित्य सृजना र रङ्गमञ्चमा युवा कलाकार कृष्ण शाह ‘यात्री’ एउटा स्थापित नाउँ बनेको छ । उदयपुरगढीमै जन्मेका स्व. होमबहादुर गुरुङका थुप्रै काव्यात्मक रचनाहरू उनी मर्दा सँगै जलाइएछन् । दुर्भाग्य ! उनको एउटा गीत “यो केटी कहाँको ? उदैपुरैको.......” अझै पनि लोक गीतजस्तो बनेर अस्तित्वमा छ । उदयपुर जिल्लाको शान बढाउने सम्पुर्ण गौरवशाली व्यक्तिहरूलाई श्रद्धासुमन !

हाल उदयपुर जिल्लाका चार वरिष्ठ राजनीतिक दलहरू नेपाली कांग्रेस, एमाले, माओवादी र जनमोर्चाका सांगठनिक नियन्त्रण एवम् कार्यक्रम संचालनको जिम्मेवारी क्रमशः सभापति नारायणबहादुर कार्की, सचिव मणि पौडेल, इन्चार्ज विप्लव (बलराम तिमल्सिना) र अध्यक्ष के. पी बरालको थाप्लामा छ । हेरौँ, यो नेतृत्वमण्डली जिल्लाभित्र लोकतन्त्र संस्थागत गर्न  कतिको सक्छ ! सबै अगुवाहरूलाई रचनात्मक कार्यको लागि शुभकामना !